बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कास्कीमा ३५ प्रहरीलाई कारबाही

आइतबार, ०३ वैशाख २०८०, २१ : १५
आइतबार, ०३ वैशाख २०८०

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले एक वर्षमा ३५ जना प्रहरीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३५ जना प्रहरीलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका कास्की प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । कारबाही पर्ने २ जना प्रहरी निरीक्षक हुन् । उनीहरुलाई सचेतमात्र गराइएको डिएसपी विकले बताए । 

एकजना प्रहरी नायव निरीक्षकलाई पनि कारबाही गरिएको छ । उनलाई पनि सचेत मात्र गराइएको हो । यस्तै, प्रहरी सहायक निरीक्षक ४ जनालाई कारबाही गरिएको छ । यसमध्य ३ जनालाई सचेत र एकजनालाई पदोन्नति रोक्का गरिएको डिएसपी विकको भनाइ छ । 

उनका अनुसार ४ जना प्रहरी वरिष्ठ हवल्दारलाई कारबाही गरिएको छ । वरिष्ठसहित ६ जना प्रहरी हबल्दारलाई कारबाही गरिएको हो ।  ३ जनालाई नसिहत, २ जनालाई सचेत, १ जनालाई पदोन्नति रोक्का, एक जनालाई ग्रेस घटुवा गरिएको डिएसपी विकले बताए ।

‘प्रहरी सहायक हबल्दार ६ जनालाई कारबाही गरिएको छ । यसमध्ये २ जनालाई नसिहत, ३ जनालाई सचेत गराइएको हो । एक जनालाई पदोन्नति घटुवा गरिएको छ,’ उनले भने, ‘११ जना प्रहरी जवानलाई पनि कारबाही गरिएको छ । ५ जना नसिहत, २ जनालाई सचेत, एक जनालाई नोकरीबाट हटाइएको, एक जनालाई ग्रेस घटुवा र २ जनालाई निलम्बन गरिएको हो,’ डिएसपी विकले भने ।

जिल्लामा बसेर उत्कृष्ट काम गर्ने ८७ जना प्रहरीलाई पुरस्कृत पनि गरिएको उनले सुनाए । जिल्ला प्रहरी कार्यालयमा ११ सय  २ जना प्रहरी कार्यरत छन् । यसमध्ये १ सय २९ जना महिला प्रहरी छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाशन गरेको तथ्यांकअनुसार आगलागीबाट ५८ वटा, बाढी पहिरोबाट २१, अबिरल वर्षाका कारण ४ र चट्याङबाट ४ वटा दुर्घटना भएका छन् । यो विपतबाट ७२ जनाको मृत्यु र २ जना घाइते भएको डीएसपी विकले बताए ।
‘यो वर्ष ९० वटा दुर्घटना भएको छ । सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु, २ जना गम्भिर घाइते र ३२ जना साधारण घाइते भएका छन्,’ उनले भने, ‘यो वर्ष ५७ हजार २४ ट्राफिक कारबाही परेका छन् । कारबाहीबाट ४ करोड ८४ लाख ४० हजार ५ सय राजश्व उठेको छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप