सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन : अध्यक्ष लिङ्देन

आइतबार, ०३ वैशाख २०८०, २१ : २७
आइतबार, ०३ वैशाख २०८०

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।

ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ । 

आइतबार राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य कुरा नरहेको र यो अवस्था सहजै समाधान गर्न कठिन हुने बताए । 

राप्रपा अरुलाई गाली गरेर नभई स्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागि परेको बताउँदै उनले आफ्नो दलसँग रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रूपमा दिने दृष्टिकोण रहेको दाबी गरे । 

सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गर्नुका साथै कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत साबित गरेको उनको भनाइ छ । 

राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले मुलुकमा राजनीतिक सङ्कट आएपछि जनता जाग्ने गरेको इतिहास रहेको बताउँदै मुलुकलाई समस्यामा जानबाट रोक्न जनता जागरुक हुनुपर्ने बताए । 

राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, राप्रपाका नेता मानदेव केरुङ, राजकुमार जोशी लगायतले आफ्ना धारणा राखेका थिए । 

राप्रपाबाट वडाध्यक्ष निर्वाचित फिदिम नगरपालिका–४ र १० का वडाध्यक्षद्वय उपेन्द्र लावती र ओमराज थाम्सुहाङ तथा अन्य वडा सदस्यलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप