शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक, ८५ करोड ऋण लिएर पुस्तक छपाइ

सोमबार, ०४ वैशाख २०८०, १५ : ५०
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । 

सोमवार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । 

उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरे । उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिहरेको जानकारी दिए । 

उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याइ विद्यार्थीहरूलाई विवरण गरेको बताए । 

उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए ।  प्रबन्धक झाले कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्री वितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरू ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । 

उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको बताए । उनले अहिले हिमाली जिल्लाहरूका सबै विद्यालयमा पुस्तकहरू पुगिसकेको दाबी गरे । 

 दुर्गम हिमाली जिल्लाहरू हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरूमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए । उनले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पुर्‍याउन सफल भएको बताए । 

उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको बताए । 

उनले भने,‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं । पुस्तक छपाइको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण सुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्री वितरण सम्पन्न गरिसकेका छौं । कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ ।’

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । उनले पुस्तक बिक्री वितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए । 

 केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०, प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगन्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्री वितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरूमा पुस्तक पुग्न बाँकी रहेको छ ।

 जसमा सोलुखुम्बु, धनकुटा,मोरङ, सुनसरी, झापा, सिराहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेका छ । सामग्री केन्द्रका अनुसार बिक्री वितरण हुन बाँकी जिल्लाहरूका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिक सत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुर्‍याउने गरी  काम गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप