शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ए डिभिजन लिग : चर्च व्वाईज र थ्री स्टारले अंक बाँडे

सोमबार, ०४ वैशाख २०८०, १७ : ५८
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।   

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल यूथ क्लबसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । सुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो । खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईँले गोलको अवसर गुमाए । थ्री  स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध अप्रत्याशित नतिजा निकालेको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक/एक गोल गरे । यस जितपछि फ्रेण्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगगेश क्षेत्रभन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

यससँगै सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् । जावलाखेल यूथ क्लब १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो यूथ क्लव समान अंक भएपनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ । विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप