शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

बुधबार, ०६ वैशाख २०८०, ११ : ०५
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।  चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए । 

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेन्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।

‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने– ‘जनताले अब जातीय नारा बोकेर आउनेलाई होइन, विकासको एजेन्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताए । 

सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरूलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको बताएका छन् ।  घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलको भनाई थियो । वैशाख १० गते हुने निर्वाचनबाट  यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रूपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप