शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

बुधबार, ०६ वैशाख २०८०, १६ : ४९
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल (सफल)लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सिन्धुली निवासी युवराज पौडेल सफलले दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको समाचार छापिएको र त्यसमा आफ्नो नाम समेत जोडेर सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले भने,‘मेरो सन्दर्भमा यस्तो आरोप पूर्णतया झुटा, आधारहीन र दुराशययुक्त प्रायोजित समाचारप्रति म गहिरो दुःख र खेद व्यक्त गर्दै विरोध जनाउँछु र घोर भर्त्सना गर्दछु । ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न म ठाडो चुनौती दिन चाहन्छु ।’ 

उनले अगाडि भने,‘यसरी सम्प्रेषित समाचारले म जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पु¥याएको छ भने मैले पटक पटक मेरो सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरू समेतलाई यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन समेत सभामुख मार्फत नेपाल सरकार सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप