शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ए डिभिजन लिग : एपिएफद्वारा खुमलटार पराजित

सोमबार, ११ वैशाख २०८०, १८ : १८
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार यूथ क्लबलाई हराएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । 

यस जितसँगै एपिएफ सहिद स्मारक ए डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपिएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंक सहित ११ औं स्थानमा छ ।

खुमलटारविरुद्ध शुरुवातबाट नै आक्रमक देखिएको एपिएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो । बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरेपनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपिएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो । ७० औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्स भन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

लिगमा मंगलबार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेण्ड्सले न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल जावलाखेल यूथ क्लब र चर्च ब्वाईज क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप