बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

किन बजेन मधेसमा घण्टी ?

बुधबार, १३ वैशाख २०८०, ११ : ५४
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । वैशाख १० गते सम्पन्न उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रभाव कायम राख्न सफल भएको छ । गत मङ्सिर ४ को चुनावमा २० सिट ल्याएको रास्वपाले उपचुनावमा एक सिट थपेको छ । तीन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये दुई ठाउँमा रास्वपाले भारी मतान्तरले विजय प्राप्त गर्‍यो ।

तर बारा–२ मा रास्वपाको ‘घण्टी’ बजेन । गत मङ्सिर ४ मा भएको निर्वाचनमा पनि रास्वपाले मधेसमा आफ्नो उपस्थिति देखाउन सकेको थिएन । 

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले आफ्नो जमानत समेत जोगाउन सकेनन् । खरेलले २ हजार ८२९ मत मात्र ल्याउन सके । बारा–२ मा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो । रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो । 

‘आखिर मधेसमा किन बजेन त घण्टी ?’ भन्ने प्रश्नमा रास्वपाका प्रतिनिधि सभा सदस्य मनिष झा भन्छन्, ‘मधेसमा हाम्रो संगठन थिएन, त्यहाँका लागि त्यति मेहनत पनि भएको थिएन । दोस्रो कुरा मधेसका मतदाताले जातपात तथा अन्य स्रोत साधनका आधारमा मतदान गरेको कारण पनि घण्टीलाई मत नआएको हो ।’

रास्वपाले नयाँ शक्ति, नयाँ विचारका आधारमा राजनीतिलाई अगाडि बढाइरहेको कुरा पहाड र हिमालका जनताले बुझे पनि मधेसका जनताले अझै बुझ्न नसकेको बताउँदै उनले अहिले पनि यहाँका जनताले यसपटक परम्परागत ढंगबाटै मतदान गरेको टिप्पणी गरे ।

त्यस्तै चुनावी हारजितलाई उपेन्द्र यादवले जसरी प्रतिष्ठाको विषय बनाए, त्यसरी रमेश खरेलले नबनाएको उनले बताए । ‘उपेन्द्र यादव चुनाव नजिते उनको राजनीतिक क्यारियर नै समाप्त हुन्छ भन्ने नारा दिइएको थियो । तर हाम्रो तनहुँ र चितवन, यहाँसम्म कि बारामा पनि त्यस्तो थिएन,’ सांसद झाले अगाडि भने, ‘उपेन्द्र यादवलाई जिताउनुपर्छ भनेर त्यहाँका मतदाताले प्रतिष्ठाको विषय बनाए ।’

ramesh kharel

बारा जिल्लामा प्रशासन संयन्त्र गठबन्धनको साथमा रहेका कारण पनि चुनावमा असहज भएको उनले आरोप लगाए । आफूहरूलाई सुरक्षा थ्रेट रहेको र बारामा घुम्न पनि रोक लगाइएको झाले दाबी गरे । 

त्यसैगरी बारामा उम्मेदवार धेरै भएका कारण मतदाताको मत पनि बाँडिएको उनको विश्लेषण छ । अगामी चुनावमा रास्वपाले मधेसमा पनि राम्रो गर्नेमा आफूहरूले अपेक्षा लिएको बताए ।

मधेस संघीयताका लागि लडेको ठाउँ हो । त्यसैले, मधेसलाई संघीयताप्रति बढी माया छ । तर रवि लामिछाने नेतृत्वको रास्वपा संघीयताप्रति त्यति इमानदार नदेखिएको कारण मधेसमा प्रभाव देखाउन नसकेको कतिपयको विश्लेषण छ । हाल राजनीतिक सक्रियता घटाएर सामाजिक अभियन्ता बनेका रामरिझन यादवले त रास्वपा संघीयता विरोधी पार्टी भएको ठोकुवा गरे । त्यही कारण पनि मधेसमा पार्टीको प्रभाव नदेखिएको उनको बुझाई छ । 

त्यस्तै, धारणा पर्साका अधिवक्ता वीरेन्द्र यादवको पनि छ । उनले पनि ‘घण्टी’को प्रभाव मधेसमा अगामी दिनमा पनि नआउने विश्लेषण गर्छन् । उनी भन्छन्, ‘मधेसमा घण्टीप्रतिको सोच सकारात्मक छैन । पहाडमा घण्टीको प्रभाव छ भने मधेसमा ‘लाउड स्पीकर’को प्रभाव बढ्दै गएको छ । घण्टीले मधेसमा ठाउँ लिन सक्दैन ।’

जसपा अध्यक्ष उपेन्द्र यादव संघीयता र लोकतन्त्रका लागि लडेर आएका कारण बाराका जनताले उनलाई एक ‘चान्स’ दिएको उनको धारणा छ । संघीयताप्रति मधेसका जनता निकै गम्भीर रहेका कारण यादवलाई जिताएको बताउँदै उनले आगामी दिनमा यादवले आफूलाई नसुधारे घण्टी नबजे पनि तर लाउन स्पीकर बज्ने दाबी गरे ।

मधेसमा अहिले पनि उपेन्द्र यादवमाथि जनताले विश्वास गरेको देखेको कुरा यो उपनिर्वाचनले पुष्टि गरेको बताउँदै उनले रवि लामिछानेले मधेसप्रति आफ्नो धारणा स्पष्ट नगरेको बताए । 

मधेसको समस्याको बारेमा रास्वपा अध्यक्ष लामिछानेले पनि कहिल्यै बोलेको नदेखिएको उनले बताए । ‘उनी आफै नागरिकताको समस्यामा फसेका छन् । उता मधेसका आमजनता पनि नागरिकताबाट वञ्चित छन् । नागरिकताको समस्या हुँदा रवि लामिछानेले एक घण्टामै अर्को नागरिकता पाए तर त्यही मधेसी जनता वर्षौँदेखि नागरिकता समस्याबाट जुधिरहेका छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप