आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत

१७ उम्मेदवारले १० मत कटाउन सकेनन्
बुधबार, १३ वैशाख २०८०, २३ : २०
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार  उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को  दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् । यसै गरी चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

यसै गरी बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका रमेश पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन् । दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्दा बारा २ मा भने रास्वपाले जमानत समेत जोगाउन सकेन । रास्वपाका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २८२९ मत पाउँदै जमानत जोगाउन नसकेका हुन् ।

बारा २ मा जनमतका कुशवाहा उपविजेता हुँदा चितवन २ मा कांग्रेसका श्रेष्ठ र तनहुँमा कांग्रेसका गोविन्द भट्टराई निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित बने । यस्तै तीन वटै क्षेत्रमा एमालेका उम्मेदवार तेस्रो भए । उपनिर्वाचन कांग्रेस र एमालेका उम्मेदवारले मङ्सिर ४ को निर्वाचनको तुलनामा कम मत पाउँदा बाराबाहेक बाँकी दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्‍यो । उसो त संसद्को पाँचौँ शक्ति राप्रपाले समेत तीन वटै क्षेत्रमा लज्जास्पद नतिजा ल्यायो । राप्रपाले तीन क्षेत्रमा गरेर मात्र ७१२ मत पाएको हो ।

कांग्रेस र एमालेलाई झड्का

उपनिर्वाचनको नतिजाले कांग्रेस र एमालेलाई नराम्रो झड्का दिएको छ । यस्तै संसद्को पाँचौँ शक्ति राप्रपाप्रति पनि जनताले पत्याएको पाइएन । कांग्रेसको हकमा त उपनिर्वाचनबाट एक सिट खोसिनुका साथै मत पनि घट्न पुग्यो । कांग्रेसले तनहुँ–१ मा गत मङ्सिर ४ को निर्वाचनमा विजयी हासिल गरेको थियो । नेता रामचन्द्र पौडेल विजयी बनेको तनहुँ १ मा उनी राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको थियो । तर, तनहुँ १ मा रास्वपाले सिट खोस्दा मत पनि ५ हजार भन्दा बढी घाटा खाएको छ । पौडेलले २५ हजार ३६१ मत पाएर विजयी हासिल गरेकामा उपनिर्वाचनसम्म आइपुग्दा कांग्रेसकै उम्मेदवार भट्टराईले २० हजार १२२ मत मात्रै पाए । यो भनेको कांग्रेसले पाँच महिनाको अवधिमा ५ हजार २३९ मत गुमाएको छ ।

यस्तै सोही क्षेत्रमा एमालेले भने थप धक्का खान पुगेको छ । एमालेले मङ्सिर ४ मा १९ हजार ९८१ मत पाएकामा वैशाखको उपनिर्वाचनमा ८ हजार ४८८ मतमात्रै पाएको छ । यो भनेको एमालेलाई ५० महिनामै ११ हजार ५९३ मत क्षति भएको छ । यस्तै मङ्सिर ४ मै पनि कमजोर राप्रपा वैशाखसम्ममा थप कमजोर देखियो । मङ्सिर ४ मा राप्रपाले २४८४ मत पाएकामा उपनिर्वाचनमा २१८ मत मात्र पाएको हो ।

यस्तै चितवन २ मा कांग्रेसका श्रेष्ठले उपनिर्वाचनमा पाउँदा एमालेका न्यौपानेले १० हजार ९३६ मत पाए । जबकि ती पार्टीका उम्मेदवारले मङ्सिर ४ को निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका उम्मेदवार रविन अधिकारीले पनि ९५५ मत पाएका थिए । यसआधारमा तीन वटै पार्टीको नतिजा खस्किएको देखिएको छ ।

मधेस प्रदेशमा भने तालमेलका कारण मङ्सिर ४ को निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार थिएनन् । त्यतिबेला एमालेले जसपा र कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । जहाँ एमालेले समर्थन गरेको उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव १३ हजार ८२२ मतका साथ विजयी भए । यस्तै माओवादीका तत्कालीन उम्मेदवार शिवचन्द्र कुशवहा १३ हजार ४६८ मत ल्याएर पराजित बने । त्यतिबेला स्वतन्त्र उम्मेदवारसमेत रहेकाले मतको ट्रेन्ड फरक थियो ।

तर, वैशाख १० को उपनिर्वाचनमा परिस्थिति फरक देखियो । कांग्रेस र माओवादीका साथै एकीकृत समाजवादीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए भने माओवादी छाडेर जनमतको उम्मेदवार बनेका शिवचन्द्र पुनः पराजित भए । यस्तै एमालेका पुरुषोतम पौडेल १० हजार २१६ मत पाएर तेस्रो बने ।  अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।

माओवादी र एकीकृत समाजवादी परीक्षणविहीन

संसद्को तेस्रो शक्ति हो माओवादी केन्द्र । प्रतिनिधिसभामा ३२ सिट रहेको यो पार्टी उपनिर्वाचनमा भने परीक्षणविहीन बनेको छ । सो पार्टीले तनहुँ र चितवनमा कांग्रेसलाई समर्थन गर्दा बारामा जसपालाई सघायो । यस्तै राष्ट्रिय पार्टी नभएपनि संसदमा सातौँ शक्तिका रूपमा रहेका मूलधारको पार्टी एकीकृत समाजवादीले पनि परीक्षणको मौका पाएन । सो पार्टीले पनि माओवादीले जस्तै गठबन्धनको साझा उम्मेदवार मानेर कांग्रेस र जसपालाई सघाएको थियो ।

जसका कारण उनीहरूको उम्मेदवार नहुँदा जनमतको मूल्याङ्कन हुन सकेन । फलस्वरूप ती पार्टीलाई नतिजाले छोएन । यस्तै लोसपाले आफ्नो प्रभाव रहेको बारामा जसपालाई नै सघाउँदा जनमत पार्टीले भने आफ्नै ढंगले लडेर आफूलाई प्रमाणित गरेको छ।  जनमतले पराजित भए पनि बाराबाट उपेन्द्र यादवलाई राम्रो टक्कर दिन सक्यो । लोसपा र जनमतको मधेसबाहेक बाहिर खासै जनमत छैन । जसपाको पनि सोही अवस्था छ ।

जे भए पनि जनताले परम्परागत दलहरूलाई निर्वाचनको नतिजाबाट धक्का त दिए नै उनीहरूलाई नसच्चिए आगामी दिनमा थप क्षति भोग्नुपर्ने सन्देश पनि उपनिर्वाचनबाट प्रवाहित गरेका छन् ।

जसले उपनिर्वाचनमा १० मत कटाउन सकेनन्

उपनिर्वाचनमा कतिपयको उम्मेदवारी लज्जास्पद छ । कतिपय उम्मेदवारले जमानत जफत मात्रै होइन १० मत पनि कटाउन सकेनन् ।

बारा २ बाट स्वतन्त्र उम्मेदवारहरू उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले क्रमशः ९, ८, ७, ७, ७, ६, ६, ६ र ५ मत पाए । यसै गरी स्वतन्त्र उम्मेदवार नै रहेका छोटेलाल महतो कोइरी, सिगारी देवी, विनोद कुमार कर्ण र राधिका न्यौपाने साहले पनि क्रमशः ४, ३, ३ र २ मत ल्याए ।

चितवन २ मा पनि तीन उम्मेदवारले १० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू रामकृष्ण ओझा, सन्तोष थापा र तारा प्रसाद पौडेलले क्रमशः ९, ३ र २ मत पाएका हुन् । यस्तै तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले जम्मा ५ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप