आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आरआर क्याम्पसका विद्यार्थीहरू आन्दोलित, विषय शिक्षकले दिए राजीनामा

शुक्रबार, १५ वैशाख २०८०, १५ : ४३
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बीए प्रथम वर्षको नतिजामा क्याम्पसले गम्भीर लापरबाही गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरू क्याम्पस प्रशासनसँग ८ बुँदे माग राखेका छन् । बीए प्रथम वर्षको आन्तरिक तर्फको परीक्षा दिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखाएको छ ।

विशेषगरी अंग्रेजी विषयमा यस्तो समस्या बढी देखिएको हो । 

आन्तरिक परीक्षामा उपस्थित भएर परीक्षा दिएका विद्यार्थीहरूको नतिजामा भने अनुपस्थित देखाएपछि क्याम्पसको लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

बीए प्रथम वर्षको परीक्षाको नतिजामा गडबडी र प्राध्यापक लोकनाथ कोइरालाको राजीनामाका विषयसहित ८ बुँदे माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।

बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हर्क बोहराले क्याम्पसको लापरबाहीका कारण आफूहरूको नतिजामा अनुपस्थित देखाएको बताए ।

‘बीए प्रथम वर्षको नतिजा दोस्रो वर्षको परीक्षा दिने समयमा प्रकाशित भयो । प्रकाशित भएको नतिजामा पनि गम्भीर त्रुटि देखियो । आन्तरिक मुल्याङकन परीक्षा दिएका थियौं । तर, अहिले रिजल्ट हेर्दा अप्सेन्ट देखाइदियो,’ बोहराले भने ।

नतिजा प्रकाशित भएको भोलिपल्ट नै क्याम्पस प्रमुखसँग कुरा गरेको तर, कुनै जवाफ नदिएको उनले बताए ।

अंग्रेजी विषय पढाउने शिक्षक लोकनाथ कोइरालाले सबै विद्यार्थीलाई आन्तरिक परीक्षाको नम्बर दिएकाे बताएका छन् । तर, नतिजा आउँदा भने अप्सेन्ट देखाएकाले विद्यार्थीहरू आन्दोलनमा उत्रिन बाध्य भएको कोइरालाले बताए । 

उक्त समस्याबारे कुनै चाँसो नदेखाएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई लापरबाही गरेकोमा धन्यवाद दिँदै फुलमाला लगाइदिएका थिए ।

सम्बन्धित विषय शिक्षकले दिए राजीनामा:

विद्यार्थीमाथि अन्याय भएको भन्दै विषय शिक्षकले राजीनामा दिएका छन् । अंग्रेजी विषय पढाउँदै आएका शिक्षक लोकनाथ कोइरालाले क्याम्पस प्रमुखलाई राजीनामा पेश गरेका हुन् । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।

उनले ७ पेज लामो पत्र लेख्दै राजीनामा दिएका हुन् । विद्यार्थीहरूले यो विषयमा गल्ती अन्यले गरेपनि शिक्षक कोइरालालाई राजीनामा गर्न लगाइएको बताएका छन् ।

होनहार विद्यार्थीको उचित मूल्यांकन गर्ने काममा चुक्दा भएको जघन्य भुलले आफूलाई फेरि विद्यार्थी मूल्यांकन गरेर नम्बर लेख्ने साहस नआएको कोइरालाको भनाई छ । कोइरालाले क्याम्पसमा आउन मन नलागेको भन्दै विद्यार्थीको हातमा राजीनामा पत्र पठाएको बताए । २०७७ सालमा बीए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको २०७८ सालमा परीक्षा सम्पन्न भएको थियो । शिक्षक कोइरालाले आन्तरिक परीक्षाको समयमा भएको घटनाबारे समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘...परीक्षा सकिएपछिको क्षण म र मेरा समकक्षी, समय सकिएपछि बटुलिएका कापी मिलाउँदै थियौं । १८ नम्बर कोठामा । कापीको रोलनम्बर मिलाउँदै पोका बनाउँदै गरेका हाम्रो अगाडि निर्देशन दिँदै जाँच चलाउन लगाएका परीक्षा तथा विद्यार्थी कल्याणकारीका देवी घिमिरे ज्यू आइपुग्नुभयो र खाली कापी र प्रश्नपत्र माग्नु भयो । जुन कुरा हामीले नमानेपछि एउटा खाली कापी र प्रश्नपत्र थुतेर त्यहाँबाट जानु भयो,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

कोइरालाले राजीनामा पत्रमा त्यो बेला भएको सबै कुराको बेलिबिस्तार लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप