शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

जनकपुरधाममा भानुभक्तको सालिक निर्माण गर्ने विषयमा विवाद

शनिबार, १६ वैशाख २०८०, १८ : २०
शनिबार, १६ वैशाख २०८०

 जनकपुरधाम । जनकपुरधामको भानुचोकमा भानुभक्तको सालिक निर्माण गर्न लागिएको विरोधमा दुई पक्षबीच विवाद देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा भानुचोकमा सालिक निर्माण गर्न लाग्दा मधेस केन्द्रित दलका युवाहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् । 

लोसपा, जसपा र जनमत पार्टीका युवाहरूले मधेस आन्दोलनको मर्मविपरित भानुभक्तको सालिक निर्माण गर्न लागिएको आरोप लगाएका छन् । उनीहरूले सालिक निर्माणको विरोधमा शुक्रबार साँझ जनकपुरधाममा चक्का जामसहित सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यस्तै आज पनि साँझ विरोध प्रदर्शन गर्नुको साथै जनकपुरधाम उपमहानगरपालिकाको मेयरको पुत्ला दहन गर्ने उनीहरूको कार्यक्रम रहेको थियो ।

gyapan

रमेश महतो चोकलाई विस्थापित गरेर पुनः भानुचोक निर्माण गरिनु मधेस आन्दोलनको अपमान गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् । युवाहरूले मेयरलाई शुक्रबार नै भानुचोकमा निर्माण गर्न लागिएको भानुभक्तको सालिकको निर्माण कार्य रोकेर रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।

Bhanu chowk2

युवाहरूले विरोध गरिरहँदा पनि मेयरले निर्धारित समय बिहान भानु चोकमा भानुभक्तको सालिक निर्माणको लागि शिलान्यास गरेका छन् । निर्माण कार्य अगाडी बढाउन मेयरले भोलि सर्वदलीय बैठकको आव्हान गरेका छन् ।

 साबिकमा उक्त चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक राखी भानु चोक नामकरण गरिएको थियो । तर मधेस आन्दोलनको बेला आक्रोशित आन्दोलनकारीहरूले उक्त सालिक भत्काएका थिए । आन्दोलनकारीहरूले उक्त सालिक भत्काएर मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको सालिक राखी रमेश महतो चोक नामकरण राख्ने उद्घोष गरेका थिए । 

bhanu chowk1

यता मेयर मनोज कुमार साहले उपमहानगरपालिका र बृहत्तर जनकपुर विकास परिषद् जनकपुरधाममको सर्वदलीय बैठकबाट पारित भई निर्माण हुन लागेको भानुभक्तको सालिक निर्माणमा राजनीतिकरण गरिएको आरोप लगाएका छन् । मेयर साह भन्छन्, ‘पालिकाको बैठकबाट सबै दलको सहमतिबाट बजेट छुट्याएर बन्न लागेको सालिकमा राजनीतिकरण गरिएको छ । उनले सर्वदलीय बैठकमा जसपाका नगर अध्यक्ष विष्णुदेव साह, लोसपाका मनोज चौधरी, काँग्रेसका प्रफुल्लराज घिमिरे, उद्योग वाणिज्य संघको प्रतिनिधि लगायतका व्यक्तिहरूको उपस्थितिमा यो निर्णय सर्वसम्मतबाट भएको थियो । 

मेयर साहले त्यतिबेला कसैले विरोध नगरेको तर अहिले सालिक निर्माणको लागि शिलान्यासको कार्यक्रम तय भइसकेपछि मात्रै विरोध गर्नु उचित नभएको बताए । करिब चार महिना पहिले नै बैठकबाट यो निर्णय पास भएको उनले जानकारी दिए । ‘मैले स्रष्टाको सम्मान मात्रै गरेको छु,’ मेयर साहले भने, ’जसले जनकपुरधामसँग जोडिएको रामायण नेपालीमा लेखेका छन् । के वहाँको जनकपुरधामका लागि केही योगदान भएन ?’ मधेस आन्दोलनको सहिदलाई पनि आफूले सधेँ सम्मान नै गरेको उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप