सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने
आइतबार, १७ वैशाख २०८०, १४ : ३५
आइतबार, १७ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा आज पत्राचार गरिसकेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मुख्यमन्त्री चौधरीले बिहान १० बजे विश्वासको मत लिने सम्बन्धमा पत्र दर्ता गराएका हुन् । पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिन्छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ मा प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेको ४८ घण्टापछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिन सक्ने व्यवस्था छ ।

यस आधारमा मुख्यमन्त्री चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना छ । चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । अहिले बिना विभागीय मन्त्रीका रुपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् ।

प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यता छ ।

कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले शीर्ष नेताहरूकै उपस्थितिमा मुख्यमन्त्रीमा आधाआधा कार्यकाल लिने सहमति गरेका छन् । सोही आधारमा चौधरीलाई पहिलो चरणमा मुख्यमन्त्री बनाउन माओवादी सहमत भएको हो । यी दुई दलमध्ये कांग्रेसलाई मुख्यमन्त्रीसहित ४ र माओवादीलाई तीन मन्त्रालय दिने गरी गठबन्धन दलमा अनौपचारिक समझदारी बनेको छ ।

अहिलेको गठबन्धनमा कांग्रेस, माओवादीसहित ८ दल र एक स्वतन्त्र सांसद सहभागी छन् तर यसअघि रहेका मन्त्रालय कटौती गरेर एमाले नेतृत्वको सरकारले १० वटामा सीमित बनाइदिएपछि अहिलेको सरकारलाई भागबन्डा मिलाउन पुनः मन्त्रालय थप्नुपर्ने बाध्यता बनेको सत्तारुढ गठबन्धनका नेताहरूले बताएका छन् ।

गठबन्धनका ठुला दुई दल कांग्रेस र माओवादीले मन्त्रालय थप गर्नेबारे सहमति गरिसकेका छन् ।

दलभित्रै आकांक्षीको लस्कर

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र मन्त्री बन्न विभिन्न सांसदले लबिङ गरिरहेका छन् । मुख्यमन्त्रीबाहेक कांग्रेसले ३ मन्त्रालय पाउने भए पनि मन्त्री बन्न आकांक्षा राख्ने लस्कर लामो छ । प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर राना, रुपन्देहीका अब्दुल रज्जाक, प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, रुपन्देहीका बसिउद्दिन खाँ, बर्दियाका भुवनेश्वर चौधरी, पश्चिम नवलपरासीका बैजनाथ कलवारले मन्त्रीका लागि दाबी गरिरहेका छन् । त्यसबाहेक महिलालाई पनि मन्त्रिपरिषदमा सामेल गनुपर्ने भन्दै पार्टी भित्रबाट दबाब बढाइएको छ ।

माओवादीमा यसअघि लिला गिरी नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हालेका जोख बहादुर महरा अहिले सरकारमा सामेल भएका छैनन् । उनी अर्को चरणमा मुख्यमन्त्री बन्ने लाइनमा छन् । माओवादी केन्द्रबाट अहिले धनबहादुर मास्की मन्त्री बनेका छन् । यस अतिरिक्त यसअघि भौतिक पूर्वाधार मन्त्री बनेका दाङकै इन्द्रजित थारु पनि मन्त्रीको बलियो दाबेदार हुन् । यस्तै रोल्पाबाट स्वतन्त्र रुपमा जितेर माओवादीमा प्रवेश गरेका दीपेन्द्र पुन मगर पनि मन्त्री बन्न सशक्त दाबी गरिरहेका छन् ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीले मन्त्री बनाउन मापदण्ड बनाउने तयारी गरिरहेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने भएकाले सत्तारुढ दलबाट सोही अनुसार तयारी भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप