देशभरका विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो ।
वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दीपक शर्माले बताए । यसवर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १–५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाई गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय बिक्रेताहरुमार्फत बिक्री वितरण भइरहेको उनले बताए ।
उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख गरे ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले काठमाडौं महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय महानगरपालिकाको अधिकारको विषय भएको बताए । उनले स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न, विद्यालय गाम्भ, स्थानान्तरण गर्न र आवश्यक परेमा बन्द पनि गराउन सक्ने बताए ।
‘स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्नसक्छ । विद्यालय गाभ्न सक्छ । स्थानान्तरण गर्नसक्छ । भनेको टेरेन भने बन्द गर्न पनि सक्छ । ती विद्यालयहरु कुनै समय खोलिँदाखेरी अनुमति नलिइकन खोलेका विद्यालय होइनन्’ उनले भने, ‘अनुमति लिएर खोलेका तर त्यतिखेर नाम राख्दा विभिन्न किसिमका नामहरु छन् । ती एउटा प्रक्रियासँगले नेपाली परम्परा सुहाउँदो नाम राखौँ । अन्तर्राष्ट्रिय भन्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थी पनि हुनुपर्यो भन्ने मान्यतामा त्यो आएको हो । महानगरले गरेको विषय चाहीँ हामीले डिटेल हेरेका छैनौँ ।’ उनले काठमाडौं महानगरपालिकाको निर्णयको आधिकारिकता भने मन्त्रालयमा आइनसकेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच