शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

भूकम्पपछि बन्द भएको तातोपानी नाका खुल्यो

सोमबार, १८ वैशाख २०८०, ११ : १९
सोमबार, १८ वैशाख २०८०

सिन्धुपाल्चोक । २०७२ सालको विनाशकारी भूकम्पदेखि पूर्णरुपमा बन्द भएको तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु भएको छ । भूकम्पले पुर्याएको क्षतिका कारण बन्द भएको ८ वर्षपछि आज मे १ देखि चीनतर्फ निर्यात सुरु भएको हो । २०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो । जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो । यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीकाअनुसार आज ३ वटा कन्टेनरमा २९ लाख २९ हजार ८११ रुपैयाँ बराबरको सामान चीन निर्यात भएको बताए । उनले ३ वटा कन्टेनरमा मेट्रिक्स, मुडा र लुगा चीनतर्फ निर्यात भएको रातोपाटीलाई जानकारी दिए । १५ चैतमा वाणिज्य सचिव र तत्कालीन भन्सार विभागका महानिर्देशकको चीन भ्रमणका क्रममा ल्हासामा भएको बैठकअनुसार आजदेखि नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

‘वाणिज्य सचिव र भन्सार विभागका महानिर्देशकले ल्हासामा पुगेर मे १ देखि नाकाबाट निर्यात सुरु गर्ने सम्झौता गर्नुभएको थियो,’ भन्सार प्रमुख केसीले भने, ‘सोही सम्झौता बमोजिम आजदेखि निर्यात सुरु भएको हो ।’

tatopani11

चीनतर्फको निर्यात सुध्रिने
भूकम्पपछि बन्द भएको निर्यात सुरु भएसँगै चीनतर्फको निर्यात सुध्रिने अपेक्षा गरिएको छ । हाल चीनतर्फको व्यापारमा तातोपानी र रसुवागढी नाका सञ्चालनमा छ । यसमध्ये चालू आर्थिक वर्षको ९ महिनामा तातोपानीबाट शून्य निर्यात छ भने रसुवागढीबाट २१ करोड ५० लाख रुपैयाँको निर्यात भएको छ । यी दुई नाकाबाहेक त्रिभुवन विमानस्थलबाट र समुन्द्र मार्ग हुँदै निर्यात हुँदै आइरहेको छ ।

तातोपानीबाट समेत निर्यात सुरु भएसँगै नेपालको निर्यात सुध्रिने अपेक्षा गरिएको हो । चालू वर्षको ९ महिनाको अवधिमा तातोपानीबाट ८ अर्ब ६२ करोड ८८ लाख रुपैयाँको आयात भएको छ । यस्तै, रुवागढीबाट १९ अर्ब ५१ करोड ५२ लाख रुपैयाँको आयात भएको छ । यस्तै, चालू आर्थिक वर्षको ९ महिनामा चीनबाट १ खर्ब ६२ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ भने नेपालबाट जम्मा ६३ करोड ६८ लाख रुपैयाँको निर्यात भएको छ । यस अवधिमा १ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ व्यापार घाटा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप