सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रधानमन्त्रीसँग ओलीले गरे टोपबहादुरबारे छलफल, षड्यन्त्र भएको ओलीको आशंका !

बिहीबार, २१ वैशाख २०८०, १५ : १८
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारमा प्रचण्डसँग ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोप लागेका रायमाझीको विषयमा छलफल गरेका हुन् । 

छलफलपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । 

उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढंगले एक्सन लिने काम भएको पनि बताए । ‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

उनले बुधबार बेलुका रायमाझीसँग आफ्नो कुरा भएको खुलाए । ‘मैले बेलुका कुरा गरेको थिएँ । यस्तो सुन्छु नि तपाईँलाई पक्राउ पुर्जी भनेको के  हो ? केही जानकारी छ भन्दा मैले आईजीपीलाई सोधेँ त्यस्तो होइन, यसबारे स्पष्ट पार्दिनुपर्ला भनेर भनेको छ त्यस्तो होइन । भोलि काठमाडौँ आउँछु भन्याथ्यो,’ उनले भने । 

अहिले पक्राउ परेको समेत खबर आफूले सुनेको भन्दै ओलीले यसबारे अस्पष्ट भएको बताए । 

ओलीले नक्कली शरणार्थी  बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको पनि बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, ओलीले भने । 

निर्दोष पर्न नहुनेतर्फ पार्टी सचेत रहेको उल्लेख गर्दै ओलीले दोषी भने उम्कन नमिल्ने बताए । ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ’, ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप