बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना

बिहीबार, २१ वैशाख २०८०, १५ : ३०
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लालाई जोडेर निर्माण गर्न २० वर्षअघि घोषणा गरेको बाहिरी चक्रपथ आयोजना अलपत्र अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०६१÷२०६२ मा सरकारले जग्गा एकीकरणका माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना अघि सारेको थियो । छ लेनको ७२ किमी प्रस्ताव गरिएको आयोजना सुरु नै नभएको  काठमाडौँ उपत्यका विकास प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

साइकल ट्रयाक, ग्रिन वेल्ट, पैदलमार्गसहित सडक निर्माणको योजना २० वर्षदेखि अलपत्र भए पनि सरोकार भएको सहरी विकास मन्त्रालयको भने ध्यान जान सकेको छैन । गत वर्ष असार १० गते प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले १५ दिनभित्र आयोजनाका बारेमा यथार्थ विवरण पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । 

योजनाअन्तर्गत सडकको दुवैतर्फ २५०–२५० मिटर क्षेत्रमा जग्गा एकीकरण गरी बस्ती विकास गर्ने कार्यक्रम बनाइएको थियो । ७२ किमीमध्ये ५४.४८ किमीको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार भएको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले जानकारी दिए । 

कार्यक्रम राखिएको आर्थिक वर्षदेखि नै बाहिरी चक्रपथलाई बजेट विनियोजन गरिए पनि काम भने हुन सकेको छैन । आयोजना सम्पन्न गर्न रु ४२ अर्ब २८ करोड लाग्ने अनुमान आव २०६१/२०६२ मा गरिएको थियो । 

बाहिरी चक्रपथ निर्माण गर्न सात हजार ७६ रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ । स्थानीय उपभोक्ताबाट करिब ३५।९४ प्रतिशत जग्गाको योगदान गर्नुपर्ने देखिएको उनले बताए । 

चोभार–सतुङ्गल ६.६ किमी खण्डको जग्गा अधिग्रहणका लागि सहरी विकास मन्त्रालयमार्फत २०७४ मै मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको थियो । त्यससम्बन्धी निर्णय अहिलेसम्म पनि हुन सकेको छैन । यो खण्डका लागि रु तीन अर्ब ८८ करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा बाहिरी चक्रपथ आयोजनासम्बन्धी अवधारणा २०५८ मै सुरु भएको उल्लेख छ । आयोजनाको अवधारणा आएको २१ वर्ष पूरा हुँदा पनि सम्भाव्यता अध्ययनबाहेक अरू काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोजनामा बर्सेनि प्रशासनिक खर्च भए पनि भौतिक प्रगति भने भएको छैन । बाहिरी चक्रपथ निर्माणको निश्चित ढाँचा र कार्ययोजना पुनरावलोकन गरी लागत र लाभको विश्लेषण गरेर काम गरिनुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।  प्राधिकरणअन्तर्गतको आयोजनाका लागि हाल १३ कर्मचारीको व्यवस्था गरिएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप