शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पताल सिरहालाई दुई सय बेडको बनाउने मुख्यमन्त्री यादवको घोषणा

१ सय १६ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण
मङ्गलबार, २६ वैशाख २०८०, ०९ : १७
मङ्गलबार, २६ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल सिरहालाई दुई सय बेडको सुविधा सम्पन्न बनाउने घोषणा गरेका छन् । सोमबार विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मुख्यमन्त्री यादवले अगामी आर्थिक वर्षमा प्रादेशिक अस्पताल सिरहालाई दुई सय बेड क्षमतामा सञ्चालन हुने गरी जनशक्ति र पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिने बताएका हुन् । 

प्रादेशिक अस्पताल सिरहालाई एक सय १६ प्रकारको स्वास्थ्य सामग्री (उपकरण) सहयोग गरिएको छ । हेल्पिङ ह्यान्डले ५० हजार अमेरिकी डलर (६६ लाख ४६ हजार) बराबरीको स्वास्थ्य सामग्री प्रदान गरेको हो । इलेक्ट्रिकल बेड दुई, इमर्जेन्सी स्प्लाई कार्ट एक, डेन्टल चेयर एक, डायग्नोस्टिक एक सेट लगायतका एक सय १६ प्रकारका सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ । 

मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल सिरहामा एचए र स्टाफ नर्सको पठनपाठन हुने गरी अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता पनि जनाए । त्यससँगै सिटी स्क्यान मेसिन लगायतका अन्य स्वास्थ्य सामग्री आपूर्तिमा प्रदेश सरकार पहल गर्ने बताएका छन् । ‘एचए, स्टाफ नर्स पढाई हुने गरी भवन निर्माण गर्न बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गर्दछु,’ मुख्यमन्त्री यादवले भने ,‘आउने बजेटमा दुई सय बेडको अस्पताल बनाउने घोषणा गर्दछु ।’  यस्तै मधेस प्रदेश सरकारले घोषणा गरेका अन्य प्रादेशिक अस्पताललाई सय बेडमा स्तरोन्नति गर्ने उनले बताए ।

यादवले मधेस प्रदेश सरकारको आफ्नै विद्यालय स्थापना गर्ने पनि बताएका छन् । ‘शिक्षा मन्त्रालय पनि फरक भएको छ । पहिले सामाजिक मात्र थियो,’ मुख्यमन्त्री यादवले भने,‘अहिले शिक्षा मन्त्रालयको व्यवस्था गरेको छु । प्रदेश सरकारको आफ्नै विद्यालय हुन्छ र काठमाडौँको ए–लेभलको विद्यालय जस्तै हुन्छ ।’ 

सुरुमा प्रत्येक जिल्लामा दुई/दुई वटा सुविधा सम्पन्न विद्यालय सञ्चालन गर्ने गरी बजेट सुनिश्चितता गर्ने भन्दै मुख्यमन्त्री यादवले त्यसलाई विस्तार गर्दै प्रत्येक पालिकामा एक/एक वटा सुविधा सम्पन्न विद्यालय स्थापना गर्ने बताएका छन् । यस्तै मुख्यमन्त्री यादवले प्रदेश सरकारको १० लाख लागतमा स्थापना गरिएको जिम सेन्टरको उद्घाटन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप