शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रिय राजनीतिमा यसरी भयो जसपा निर्णायक

उपेन्द्र यादव भन्छन्– तीन ‘गेम’मध्ये दुई जित्यौँ
मङ्गलबार, ०२ जेठ २०८०, ०८ : २१
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । ‘यो बीचमा तीन वटा गेम भए । एउटा गेम हामी हार्‍यौँ दुई वटा जित्यौँ । उपराष्ट्रपतिमा गोल गर्‍यौँ, उपनिर्वाचनमा गोल गर्‍यौँ र एउटा चुनावमा हार्‍यौँ । त्यहाँ जुन टीमले जितेँ भनेको थियो, उपराष्ट्रपतिमा त्यसको जमानत जफत भयो, उपनिर्वाचनमा पनि नराम्रो गरी पराजित भएर भाग्यो ।’

बारा–२ मा चुनाव जितेपछि आइतबार सप्तरीमा राखेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्ति हो यो । अध्यक्ष यादवले सबै खेल जित्नै पर्छ भन्ने नरहेको र कहिले काहीँ टीममा तालमेल नमिल्दा राम्रो खेलाडी भए पनि हार्ने भन्दै सप्तरीको चुनावमा त्यस्तै भएको सुनाए ।

गत मंसिर ४ गते भएको भएको प्रतिनिधि सभा चुनावमा सप्तरी–२ मा केही नेताको बीचमा तालमेल नमिलेका कारण आफूले चुनाव हारेको बताउँदै उनले एउटा मोर्चामा हारे पनि अरू दुई ठाउँमा जितेको धारणा राखेका थिए ।

सप्तरी–२ मा चुनाव हारेपछि जसपाका अध्यक्ष यादवले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर त्यहाँ भएको उपनिर्वाचनमा बाजी मार्न सफल भएका हुन् । त्यसलाई उनले ठुलो उपलब्धिमात्र मानेका छैनन्, देशकै राजनीतिमा आफ्नो दललाई निर्णायक अवस्थामा पुर्‍याएका छन् ।

सप्तरी–२ मा पार्टीका अध्यक्ष नै चुनाव हारेपछि जसपाको सिङ्गो पार्टीपंक्ति नै निराश भएको थियो । नेता कार्यकर्ताको मनोबल घटेको थियो । तर अध्यक्ष यादवले यस्तो दाउ खेले, जहाँ आफू सांसद पनि भए र पार्टीबाट उपराष्ट्रपति पनि बनाए । त्यतिमात्र होइन, मधेस प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन सफल भए ।

त्यसले गर्दा जसपाको सिङ्गो पार्टी पंक्तिमा एउटा ऊर्जा मात्र थपिएको छैन, नेपालको राजनीतिमा अहिले निर्णायक शक्तिको रूपमा उदाएको छ । जसपा अहिले कोशी प्रदेश र मधेस प्रदेश सरकारमा मात्र निर्णायक होइन, केन्द्र सरकारमा पनि निर्णायक अवस्थामा पुगेको छ । कोशी प्रदेशमा जसपाको एक सिट भए पनि त्यहाँ निर्णायक छ । कोशीमा जसपा सरकारबाट फिर्ता भएको खण्डमा सरकार ढल्न सक्ने अवस्था सिर्जना हुनसक्छ ।

मधेस प्रदेशमा सरकारको नेतृत्व जसपाले नै गरेको छ । मधेसमा तेस्रो ठुलो दल बनेको जसपासँग १९ सांसद छन् । यस्तै, एमालेको २४ र कांग्रेसको २२ सांसद छन् । जनमत पार्टीसँग १३ सांसद छन् भने माओवादी र लोसपासँग ९–९ सांसद छन् ।

प्रतिनिधि सभामा २७५ सांसदमध्ये बहुमतका लागि कम्तीमा १३८ सांसद चाहिन्छ । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस, जसपा, माओवादी, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी सहभागी छन् भने जनमत पार्टी र दुई जना स्वतन्त्र सांसदले बाहिरबाट समर्थन गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई १५८ जना सांसदको साथ छ ।  

अहिलेको सरकारमा जसपाको सङ्ख्या पनि निर्णायक छ । जसपाले सरकारबाट समर्थन फिर्ता लिएमा सरकार तत्काल त ढल्दैन तर कमजोर हुन्छ । जसपा र नेकपा (एस) सरकारबाट बाहिरियो भने प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्छ ।

केन्द्र सरकारमा जसपाले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यसमध्ये जसपाले अशोक राईलाई शिक्षा मन्त्रीमा पठाएको छ । उसले आफ्नो भागमा परेको एक मन्त्रालयमा अझै मन्त्री पठाएको छैन । उपनिर्वाचनबाट निर्वाचित भएर आएका उपेन्द्र यादव आफू संसदीय दलको नेता बनेपछि मात्र सरकारमा मन्त्री पठाउने योजनामा छन् ।

सरकारमा अध्यक्ष यादव आफै पनि जान इच्छुक छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि जसपाका अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । उपेन्द्र यादवले पनि सरकारमा जाने मन बनाएका छन् ।

त्यही भएर संसदीय दलको नेता चयन नभएसम्म पार्टीमा मन्त्री टुङ्गो नलगाउने उनको योजना छ । स्रोतका अनुसार सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री दिएमा अध्यक्ष यादव आफैँ पनि सरकारमा जाने पक्षमा छन् । त्यसका लागि भित्रभित्रै कुराकानी भइरहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप