शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राप्रपा केन्द्रीय समिति बैठक

राप्रपा अब ‘प्राइमरी निर्वाचन प्रणाली’ मा जाने, केन्द्रीय समिति बैठकका १७ निर्णय सार्वजनिक

बुधबार, ०३ जेठ २०८०, २३ : ०१
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘प्राइमरी निर्वाचन प्रणाली’ मा जाने भएको छ । काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गरिने निर्णय भएको जानकारी दिए । 

बैठकले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई संगठनलाई गैरराजनीतिक बनाउने लगायतका १७ बुँदे निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।  बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरू परिमार्जनसहित पारित भएको उल्लेख गरिएको छ । 
यस्तै सबै केन्द्रीय नेताहरूलाई शिघ्र भूगोलकेन्द्रीत जिम्मेवारी तोकिने छ भने राप्रपाका हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गरिने विज्ञप्तिमा उल्लेख छ । 

यस्तै राप्रपाले संसदीय दलको विधान पारित गर्ने, कार्यसम्पादन वैठकका निर्णयहरू अनुमोदन गर्नेलगायतको निर्णय पनि गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ध्यानाकर्षण 
राप्रपाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन राज्यशक्तिको दुरुपयोग भएको जनाएको छ । यो अंकको भ्रष्टाचार मात्र नभएको राप्रपाको ठहर छ । ‘त्यसैले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारवाही चलाउन राप्रपा जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

यस्तै राप्रपाले भ्रष्टाचार निर्मूल पार्नका लागि क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा छानबिन गरेर दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।  यस्तै २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानवीन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

344951042_1609065856281819_2326234569363270088_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप