बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
थमौतीका लागि हारगुहार

को हुन् राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको ‘पावर’ लगाउने शक्तिशाली कर्मचारी ?

बिहीबार, ०४ जेठ २०८०, २१ : ०२
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । साढे १८ वर्ष एउटै कार्यालयमा करारमा काम गरिरहेका सुब्बा तहका एक कर्मचारीले आफ्नो करार थमौतीका लागि राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म हारगुहार गरेको तथ्य बाहिर आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एउटा अन्तरवार्तामा यो रहस्योद्घाटन गरेका हुन् । मन्त्री किरातीले ती कर्मचारीको नाम नलिइकनै करार थप्नका लागि थुप्रै ठाउँबाट दबाब आएको बताएका थिए ।

मन्त्री किरातीले भनेका करारका कर्मचारी हुन् रोहित कुमार यादव । उनी विगत साढे १८ वर्षदेखि नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभाग अन्तर्गत नेपालगन्ज इन्जिनियरिङ युनिटमा प्राविधिक अधिकृतमा काम गर्दै आएका थिए ।

कार्यालयको दुई वटा कोठामा परिवार ल्याएर राखेको र सरकारी सम्पत्तिलाई व्यक्तिको जसरी उपयोग गरेको भन्दै मन्त्री किरातीले यादवको करार नै नथपिदिएपछि भनसुन गर्न दौडधुप गरेको फेला प¥यो ।

नेपालगञ्जमा दुई जना इन्जिनियरको दरवन्दी भएपनि यादव एक्लैले २०६७ चैत १७ गतेदेखि हालसम्म कार्यालय सम्हाल्दै आएका थिए । बीचबीचमा उनको करार पनि थपिँदै गयो । एकै पटक केही दिन अघि मन्त्री किरातीले जिल्लाका कार्यालय अनुगमनका क्रममा यादवबारे गुनासो सुनेपछि ‘अब करार थपिँदैन’ भन्दै अड्डी लिएका थिए ।

यादवले कार्यालयलाई घरकै जसरी उपयोग गरेको देखेपछि मन्त्री किरातीले तत्कालै ताला फोडेर कोठामा अर्को ताला लगाएर फर्किएका थिए ।

यादवको करार नवीकरण नगर्ने निर्णयमा पुगेका मन्त्री किरातीले उनीप्रति नकारात्मक दृष्टिकोण राख्नुको कारण भनेको उनका लागि धेरैतिरबाट दबाब आउनु नै मुख्य देखियो । इन्जिनियरिङ मेन्टिनेन्स विभागले समेत २०७९ फागुन १८ गते मानव संसाधन विभागलाई पत्र लेखेर यादवको करार नवीकरण गर्न सिफारिस गरेको देखिन्छ ।

तर, यादवको करार नवीकरण गर्न मन्त्री किराती सकारात्मक छैनन् । त्यसो त यादवले आफू पुरस्कृत भएको प्रमाणपत्र समेत मन्त्रालयमा पेस गरेका छन् । उनलाई २०७६ असोज १९ मा नेपालगञ्जस्थित निगमको जग्गाहरुको अद्यावधिक गर्ने क्रममा पु¥याएको योगदानको कदर तथा उच्च मूल्यांकन गरी प्रमाणपत्र दिइएको थियो ।

 २१ पटकसम्म मन्त्रालय धाए यादव

चैत यता यादव २१ पटकसम्म मन्त्रालय धाएको पाइयो । सुरुमा उनी एक्लै आएर मन्त्रीका सचिवालयका कर्मचारीलाई आफ्नो गुनासो राखे । सचिवालयका कर्मचारीले निगममा ध्यानाकर्षण गराए । तर, मन्त्री किरातीले निगमलाई पहिल्यै यादवको करार नवीकरण नगर्न सुझाएका थिए ।

दोस्रोपटक फेरि यादव एक जना महिला सांसद बोकेर मन्त्रालय पुगे । मन्त्रीले नै हुँदैन भनिसकेपछि सचिवालयका कर्मचारीले आश्वस्त पार्न सकेनन् । तेस्रो पटकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरलले सचिवालयका एक कर्मचारीलाई फोन गरेर यादवको गुनासो टिपाए । जवाफ उही थियो– मन्त्री सकारात्मक छैनन् ।

फेरि यादव मन्त्रालय पुगे, करार नवीकरणको पुरानै कुरा दोहो¥याए । गजुरेलबाट पनि पार नलागेपछि यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई समेत आफ्नो गुनासो सुनाए ।

मगरले सचिवालयका कर्मचारीलाई फोन गरेर यादवको गुनासो सम्बोधन गर्न सुझाइन् । तर पनि उपलब्धि भएन ।

यादव त्यतिमै रोकिएनन् । प्रधानमन्त्री प्रचण्डका निजी सचिव नवराज ढुंगानालाई समेत सम्पर्क गरी करार नवीकरणका लागि दबाब दिए । ढुंगानाको सिफारिस पनि यादवका पक्षमा भएन ।

मन्त्रीको सचिवालयले किरातीलाई तत्तत् निकायबाट यादवको करार नवीकरणका लागि फोन आएको जानकारी गराएको थियो । तर, किरातीले आफूलाई राष्ट्रपति कार्यालयबाट र पूर्व प्रधानमन्त्रीहरुबाट समेत फोन आएको जानकारी गराए । उनले जहाँबाट फोन आए पनि यादवको करार नवीकरण नहुने ठोकुवा गर्दै अब अरुको कुरा नसुन्ने सचिवालयलाई निर्देशन दिए ।

यादवले अन्तिम धक्का दिन प्रधानमन्त्री कार्यालयबाट पत्रसमेत लेखेर पर्यटन मन्त्रालयमा पु¥याए । तर, पनि किराती टसमस भएनन् ।

यादवले मन्त्रालयमा चढाएको निवेदनमा २०७८ साउनदेखि पुससम्मको र २०७९ मंसिरदेखि माघसम्मको तलब समेत नपाएको उल्लेख गरेका छन् ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव राजेन्द्र कुमार केसीले यादवको करार नवीकरणबारे निगमकै कार्यालयमा बुझ्न आग्रह गरे । उनले भने, ‘यो निगमबाटै गर्ने कार्य भएकाले उतै बुझ्नुहोला ।’

निगमका प्रवक्ता रमेश पौडेलले यादवलाई सुरुमा करारमा राखिएपछि पछिल्लो ६ महिना ज्यालादारीमा राखिएको बताए । यादव अहिले निगमलाई आवश्यक नदेखिएपछि ज्यालादारीबाट पनि हटाइएको पौडेलले जानकारी दिए ।

उनले भने, ‘उहाँको आवश्यकता हेरेरै लामो समय करारमा राखिएको थियो । पछि ज्यालादारीमा राखियो । अहिले आवश्यक ठानिएन र राखिएन ।’

निगमको ज्यालादारी नियमानुसार यादवलाई तलब दिइएको दाबी पौडेलले गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप