आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसमा रूपान्तरणको बहस : राजधानीमा एक समूहको भेला

आइतबार, ०७ जेठ २०८०, २० : २८
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसभित्र रूपान्तरणका लागि बहस सुरु हुन थालेको छ । विशेषगरी रास्वपाको पक्षमा जनआकर्षण देखिन थालेसँगै पार्टीभित्र गतिशीलताको खाँचो औँल्याउँदै रूपान्तरणको बहस सुरु हुन थालेको हो । 

सोही क्रममा आइतबार राजधानीको अनुपम फुडल्याण्डमा एक समूहको भेला सम्पन्न भएको छ । ‘नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेश’ को नाममा भेला भएको हो । 

सो समूहले आगामी जेठ १६ गते हुने रूपान्तरणको पक्षमा माहौल बनाउन वृहत् अन्तरक्रिया गर्न लागेको र त्यसैको तयारीस्वरुप आइतबार भेला गरिएको नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए । 

उनका अनुसार जेठ १६ गते हुने अन्तरक्रिया कार्यक्रममा कांग्रेसलाई कसरी रूपान्तरण गर्ने भन्नेबारे विस्तृत छलफल गरिने छ । ‘मतदाताले कांग्रेसलाई सूक्ष्म रूपमा हेरिरहेको हुनाले अब यही स्थितिमा २०८४ सालमा चुनावमा जान नसकिने भएकाले अब नेपाली कांग्रेस पार्टी रूपान्तरित हुन जरुरी छ । नेतृत्व र कार्यकर्ता सबै रूपान्तरित हुनुपर्छ’, उनले भने । 

कांग्रेसको १५ औँ  महाधिवेशन र २०८४ सालको चुनावलाई ध्यानमा राखी रूपान्तरण र शुद्धीकरण अभियान सुरु गरेको बताउँदै उनले आफूहरूको कार्यक्रम गुटको नभई सम्पूर्ण नेपाली कांग्रेसको साझा  भएको जिकिर गरे । 

आजको भेलामा अजयबाबु सिवाकोटी, रमेश धमला विकास लामा, जीवन डंगोल, विनोद कायस्थ, मधु आचार्य, ऋषि राम घिमिरे ,राजु श्रेष्ठलगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप