बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेश सरकार प्रति सत्तारुढ दलकै सांसदको असन्तुष्टि

बुधबार, १० जेठ २०८०, १२ : ५५
बुधबार, १० जेठ २०८०

हेटौँडा ।  बागमती प्रदेशसभाकी सदस्य सुना परियारले सरकार प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारमा समानुपातिक ढङ्गबाट मन्त्री नियुक्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सांसद परियारले संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागितासमेत सरकारमा हुन नसकेको बताइन् । सरकारले समावेशी रूपमा सरकारमा सहभागिता गराउन नसक्दा दलित समुदायहरू उपेक्षामा परेको धारणा व्यक्त उनले गरिन् । समानुपातिक र समावेशी रूपमा सरकार निर्माण गर्न नसक्दा संविधानको धज्जी उडाउने काम भइरहेको उनले बताइन् ।

‘सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता हुन सकेको छैन । दलित दर पिछडिएको वर्गको सहभागिताको कल्पना पनि गर्न सकिन्न ।’ उनले भनिन्, ‘सरकारमा महिला र दलित समुदायको सहभागिता समानुपातिक समावेशी हुन नसक्दा संविधानको नै धज्जी उडेको छ ।’

उनले कलेजको सामान्य खर्च तिर्न नसक्दा विद्यार्थीहरूले आत्महत्या गर्नुपर्ने परिस्थिति बन्नुमा दोष गरिबी या शिक्षा नि हो ? भन्दै प्रश्न गरिन् । प्रदेश सरकारले गरिब पिछडेको वर्गहरुको शिक्षाको पहुँच पुर्याउन पहल गर्नु पर्ने बताइन् ।

प्रदेश सरकारको बजेटले समानुपातिक ढङ्गबाट वितरण गर्न सक्नु पर्ने उनको भनाइ छ । विगतमा जस्तो असमान बजेट ल्याएर प्रदेशका नागरिकहरूलाई विभेद गर्न नहुने उनले बताइन् ।

सांसद परियार नेपाली काँग्रेसको समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी हुन् । प्रदेश सरकारमा कांग्रेस पनि सहभागी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप