बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
एमालेको अवरोध

प्रतिनिधिसभाकाे बैठक शनिबारसम्मका लागि स्थगित

शुक्रबार, १२ जेठ २०८०, १९ : ५६
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना टाँसेर प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको जनाएको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेल घेराउ गरेपछि शुक्रबार सुरुमा २० मिनेट स्थगित बैठक निर्धारित समयमा बस्न नसकेपछि पुनः ३ बजेका लागि तय गरिएको थियो ।उक्त समयमा पनि बैठक बस्न नसकेपछि बैठक ६ बजेसम्म स्थगित भयो । तर सो समयसम्म पनि सत्तापक्ष र बिपक्षीबीच सहमति जुट्न नसेकेपछि शनिबार दिउँसो ४ बजे बैठक बोलाइएको छ । 

सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर, एमालेले गरेको संसद् अवरोधका कारण प्रधानमन्त्रीले जवाफ दिन पाएनन् । 

पशुपति मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीका सन्दर्भमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गते संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध पारेको हो । एमालेले यसबारेमा सरकारको धारणा माग गरेको छ ।

यसैबीच संसद खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री प्रचण्डले शनिबार एमालेसँग छलफल गर्ने भएका छन् । शुक्रबार दिनभरको छलफलमा सहमति नछुटेपछि शनिबार प्रचण्ड आफैँले एमालेका नेताहरुसँग छलफल गर्न लागेका हुन् । 
छलफल गर्दा पनि सहमति हुन नसकेमा सत्ता पक्ष पेलेरै अघि बढ्ने रणनीतिमा रहेको छ । नीति तथा कार्यक्रम जसरी पनि पारित गर्नुपर्ने बाध्यता रहेकाले सरकार सके एमालेलाई मनाउने र नसके पेलेरै भएपनि अघि बढ्ने रणनीतिमा देखिएको नेताहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप