बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा १३ मा नालीमा जाली र सरसफाइ

आइतबार, १४ जेठ २०८०, ०७ : १२
आइतबार, १४ जेठ २०८०

पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर १३ मिजार ‘समाज घर’ अगाडि नै पूर्ण जिसीको घर छ । घरै अगाडि ठुलो नाला छ । त्यहीँ नाला हो, जहाँ पूर्ण जिसीले पटक पटक दुर्घटना देखेका छन् । तीन हप्ताअघि वैशाख २५ गते मात्र पूर्वबाट आएका एक जोडी त्यो नालामा खसे । दुर्घटनामा श्रीमान्ले ज्यान गुमाए । श्रीमती घाइते भइन् । त्यो दुर्घटनाको साक्षी जिसी आफैँ हुनुपर्यो । भद्रकाली ट्याक्सी इकाइ समितिका सल्लाहकार समेत रहेको जिसी भन्छन्, ‘रातको समय थियो । पूर्वबाट पोखरा आएका त्यो जोडी नालामा खस्दा दुखद घटना भयो ।’ 

दुर्घटनाअघि लगत्तै जिसीले फेसबुकमा स्ट्याटस लेखे । ‘बाटो हिँड्दै गरेका जोडी नालामा खसेर श्रीमान्को ज्यान गयो । श्रीमती गम्भीर घाइते छिन्,’ उनले लेखेका थिए, ‘म वडाध्यक्षज्यूको ध्यानाकर्षण गर्न चाहन्छु । यो नालाबाट हुने सम्भावित दुर्घटनाको ख्याल गरी सुरक्षा तत्काल गरियोस् ।’ भोलिपल्टै वैशाख २६ गते वडाध्यक्ष किरण बरालले घटनास्थलको निरीक्षण गरे । खुला छोडिएका नालामा जाली हाल्ने निर्णय गरे ।

‘वडाध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद । तपाईं जस्तै युवा वडाध्यक्ष हामीले पाएका छौँ । वडावासीको सामान्य ध्यानाकर्षणलाई तपाईंले गर्दै आएको कामको प्रशंसा गर्न लायक छ,’ शनिबार वडाका जनप्रतिनिधिहरूको एक वर्षको कार्यकाल पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै जिसीले भने । 

वडाध्यक्ष निर्वाचित भएको वर्ष दिन पूरा भएको उपलक्ष्यमा पोखरा १३ का वडाध्यक्ष किरण बराल आफ्ना उपलब्धि सुनाउँदै सुझाव सङ्कलनसमेत गर्दै थिए । वडाका अगुवाहरूको भेला गरी जिज्ञासा सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा जिसीले जस्तै केहीले धन्यवाद दिए, केहीले समस्या सुनाए र केहीले सुझाव राखे । 

बरालले वडामा बृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन् । ‘दुई कुलाको मुहानबाट दुर्गन्धबाट हामी आजित थियौँ । तर, अहिले त्यो वडाको सरसफाइ अभियानबाट निकै राम्रो छ,’ कार्यक्रममा बोल्दै वडावासी दिलकुमार गुरुङले भने, ‘वडाध्यक्षज्यू तपाईंको एक वर्षको अवधि साँच्चिकै सन्तोषजनक र प्रशंसा गर्न लायक छ । यसलाई निरन्तरता दिनुहोला ।’

यसअघि दुई कुलाको मुहानमा बिहीबार पानी नआउँदा दुर्गन्ध फैलिने गरेको दिलकुमारको भनाइ थियो । उनी भन्छन्, ‘पक्की सडक निर्माण गर्न तपाईंले खेलेका भूमिका पनि सह्रानीय छ,’ दुई कुलाको मुहान टोल विकास संस्था अध्यक्ष समेत रहेको गुरुङले भने, ‘बिहीबारको दिन हिँड्नै सकिँदैनथ्यो । अहिले त्यो फोहोर उठेको छ । टोलभित्रका सडकमा पनि कालोपत्रे गरिदिनुभएको छ । हाइड्रोपावर र सिँचाइसँग मिलेर गरेको सरसफाइ निकै राम्रो छ । तपाईंलाई धन्यवाद ।’ मिजुरे समाजदेखि दुई कुलाको मुहानसम्मको ५ सय मिटरको सडक पिचले पनि आफूहरूलाई राहत मिलेको उनले सुनाए । 

वडाध्यक्ष बरालले आफूले वडामा रहेको डुबान समस्या समाधानको पहल गरेको सुनाए । ‘कमलपोखरी–काहुँखोला–घट्टेखोला बुडुवा डुबान न्यूनीकरणका लागि ३७ करोड रुपैयाँ बराबरको आयोजनाको डिपिआर बनाएका छाैँ । यसका डिपिआर बनाउन १८ लाख ६६ हजार ४८१ रुपैयाँ लागत लाग्यो । प्रदेश सरकारलाई बुझाएका छौँ । यसलाई बहु वर्षीय आयोजनामा लगेर कार्यान्वयन छिट्टै गर्छौँ ।’ 

वडाध्यक्ष बरालले वडामा हाइमास्ट लाइट जडानदेखि सडक र नहर निर्माणमा गरेको बुँदाहरू सार्वजनिक गरे । ‘वडाका मुख्य सडक चोकहरूमा सिसीटिभी जडान गरेका छौँ । प्राकृतिक विपद्मा पनि दिनरात खटिएर काम गरेका छौँ,’ उनले भने, ‘युवाहरूलाई प्रोत्साहन गर्न, तालिमका आयोजनासँग राम्रो गर्नेलाई सम्मान पनि गरेका छौँ ।’ वडाभित्रका सुकुम्वासीलाई लालपुर्जाका निस्सा वितरण गरेको उनको भनाइ छ । 

राष्ट्रिय टिमका क्रिकेट खेलाडी किरण केसीलाई सम्मान गरेका उनले सुनाए । ‘वडामा निःशुल्क स्वास्थ्य शिविर पनि गर्याै । यो निरन्तरता दिन्छौँ । महिला क्षमता विकास गर्न पनि हामीले विभिन्न कार्यक्रम गरेका छौँ,’ उनले भने । आर्बाका किसानलाई २० लाख रुपैयाँ कृषि अनुदान दिएको उनले जानकारी दिए । ‘वडामा हाम्रो यो पहिलो सुरुआत हो । तपाईंले हामीलाई सुझाव पठाएर हामीलाई सहयोग पनि गरिदिनुहोला,’ वडाध्यक्ष बरालले भने । पोखरा १३ मा वडाध्यक्ष बराल नेतृत्वमा वडासदस्य सूचित तामाङ, रजनी परियार, शरिफ अली मियाँ र बलबहादुर बराल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप