शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीगण्डकी करिडोरको ६० प्रतिशत काम सम्पन्न

आइतबार, १४ जेठ २०८०, १४ : १५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न हुने भएको छ ।

सरकारले २०८१ सम्मको लक्ष्य राखे पनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म  ६० प्रतिशत प्रगति भएको छ । 

आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताए । उनले देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुशी व्यक्त गरे । तिमल्सिनाले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताए । उनले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘कालीगण्डकी नदी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण नदी, यसको उद्गमस्थल दामोदर कुण्डबाट शुरु भएर विभिन्न घाट, धार्मिक स्थलहरु हुँदै त्रिवेणीधामसम्म जाने भएकाले यसलाई त्रिवेणीधाम हुँदै मुस्ताङ दामोदर कुण्डसम्म जानको लागि एउटा कालीगण्डकी धार्मिक पर्यटकीय राजमार्गको रुपमा अघि बढाउँ भनेर प्रश्ताव गरेका थियौँ, यो सर्वसम्मतिले पास भएको थियो, सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएर काम थालेका थियौँ । निर्माणका काम राम्रोसँग पनि भएको छ । केही पार्टका कामहरुलाई गति दिन आवश्यक देखियो । अबको ढिलोमा तीन वर्षमा पूरा हुने देखियो ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताइन् । कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिइन् । 

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताए । 

त्यस्तै गैँडाकोट–राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नै महत्वपूर्ण हुने बताए । उनले सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले ठेक्कापट्टलाई आधार मान्दा गैँडाकोट–राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हाँसिल भएको उल्लेख गरे । 

त्यस्तै पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्नेकुरा गम्भीर विषय भएको बताए । 

हाल रिडोरअन्तरगत गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप