मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
भारत भ्रमणबारे छलफल

प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह

एमालेले भन्यो– राष्ट्रहितलाई ध्यानमा राख्नु
आइतबार, १४ जेठ २०८०, १६ : १६
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्रीसहित पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरु बीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे सुझावका लागि भएको छलफलमा छिमेकीसँगको सम्बन्ध सुधार गरेर विश्वासको वातावरण बनाउन नेताहरुले सुझाव दिएका छन् ।पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई बुझ्न आग्रह गर्न सुझाव दिएको बताए ।  उनले सीमा, व्यापार र पारवहन लगायतका समस्या सम्बोधन गर्न इपीजी प्रतिवेदनले सहयोग पुग्ने भन्दै एकमुष्ट समस्या सम्बोधन हुनेगरी भारतीय पक्षसँग छलफल गर्न सुझाव दिएको बताए । 

‘छिमेकीसँग राम्रो सम्बन्ध बढाउन विश्वासको वातावरण बनाउनु हो । सीमा समस्या, व्यापार, पारवहन, खुला सीमाना लगायतको समस्या समाधान गर्न इपीजीको प्रतिवेदन ग्रहण गर्दा सबै समस्या समाधान हुन्छन् यसमा ध्यान दिन सुझाव दिएको छु’, नेता भट्टराईले भने, ‘एउटा एउटा गर्दा समस्या समाधान हुँदैनन ।’  उनले पञ्चेश्वर लगायतका योजना अघि बढाइए पानी बाटफाँटमा आधा आधा हुनुपर्छ भन्ने मान्यताअनुसार सहमति गर्न र हवाई रुटका सन्दर्भमा नेपालगञ्ज नभए पनि भैरहवाका लागि पहल गर्न सुझाव दिएको बताए ।

pradeep

त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रहितलाई मध्यनजर गरेर सहमति सम्झौता गर्न सुझाव दिएको बताए । ‘यसबाहेक १९५० को सन्धिका कुरा पनि छन् । नेपाल भारत व्यापारमा ठुलो घाटा भएकाले वाणिज्य सन्धिको पुनरावलोकन । नेपालका चिया, अलैँची अदुवा निर्बाध भारत निर्यातका लागि यो सन्धि पुनरावलोकन हुन जरुरी छ’, ज्ञवालीले प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै भने, ‘पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो ।’ महाकाली सीमा नदी भएकाले त्यसमा नेपालको आधा हक लाग्ने कुरालाई सुनिश्चित गरेर मात्रै यो परियोजना अघि बढाउन एमालेले सुझाव दिएको छ । 

त्यसका साथै अरू केही ऊर्जाका सवालमा भारतले होल्ड गरेका नदीबारे पनि छलफल भएको बताए । उनले परियोजना होल्ड हुने मात्रै हुँदा नेपाललाई घाटा हुने भएकाले त्यस्ता परियोजना अघि बढ्ने सुनिश्चितता गर्न आग्रह गरिएको बताए ।  ‘एयर इन्ट्री रुट नदिएर समस्या भइरहेको छ । त्यसमा पूर्व समझदारी अनुसार रुट दिलाउन गम्भीरतापूर्वक कुराकानी राख्न भनिएको छ । सम्झौता हुदैन भने त्यसले खास फरक पार्दैन त्यसैले खुलस्त कुरा गर्न भनिएको छ’, ज्ञवालीको भनाइ छ ।

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्डले आइतबार, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरुसँग सुझाव मागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप