शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टंक गुरुङको चार घण्टा बयान, इजलासमा इन्द्रजितको लामो परामर्श

आइतबार, १४ जेठ २०८०, २२ : ५८
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा पक्राउ गरिएका ३ जनाले आइतबार बयान दिए । पाँचथर घर भएका टंककुमार गुरुङ, प्राविधिक प्रनानी लक्ष्मी महर्जन र सन्दीप रायमाझीले आफ्नो बयान पुरा गरेका हुन् ।

प्रहरी अस्पतालमा कार्यरत नर्स लक्ष्मी महर्जन शुक्रवार नै जिल्ला अदालतमा बयान दिन उपस्थित भएकी थिइन् । शुक्रवार बयान नभएपछि प्रहरीले उनलाई पक्राउ गरेर आइतबार उपस्थित गरायो । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् ।

२०७९ चैत १२ मा शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउन खोज्ने गिरोहका योजनाकार सानु भण्डारी र केशव दुलाल सँगै पक्राउ परेका थिए पाँचथरका टंक गुरुङ । केशवप्रसाद दुलाल धापाखेलस्थित टंक गुरुङको घरबाट पक्राउ परेका हुन् ।

टंक गुरुङले काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने सामु ४ घण्टा बयान दिए । सानु भण्डारी र टोपबहादुर रायमाझीले बिरामी भएको बताउँदै बयान दिन ‘असमर्थता’ जनाए । तर, गुरुङ सहज रूपमा बयान दिन राजी भए । अरूले भन्दा चाँडै बयान सिध्याएपछि उनले भने– ‘यसअघि एक दुई पटक डिएसपीलाई भेट्न प्रहरी वृत्त जनसेवामा पुगेको थिएँ, यसपाला त्यहिँ लामो बसाई भयो ।’

गुरुङलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ । शरणार्थी प्रकरणमा आफू जानकार नभएको बयान दिएका गुरुङले केशव दुलालाई आफ्नो होटेलमा बैङ्कबाट ऋण लिएर खाना खुवाएको बयान दिएका छन् । आफ्नो घरमा बस्ने र होटेलमा खाने गरेका दुलालसँग डेराको भाडा र होटेलमा खाएको हिसाव नै लिन बाँकी रहेको गुरुङले जिकिर गरेका छन् । उनले भनेका छन्– ‘होटेल चलाएर बस्ने मान्छे हुँ, शरणार्थीबारे थाहा छैन ।’

चैत १२ मा प्रहरी पुग्दा केशवप्रसाद दुलाल धापाखेलमा घर बनाइरहेका थिए । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का स्थानीय दुलालको अहिले ललितपुर महानगरपालिका–२३ स्थित धापाखेलमा घर बन्दै छ । केशवको निर्माणाधीन घर नजिकै अर्का आरोपी टंककुमार गुरुङको घर छ । उनी गुरुङको घरमा डेरामा बस्दै आएका थिए ।

डा. इन्द्रजितको परामर्श

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले  ‘सन्चो छैन’ भनेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले डा. इन्द्रजित राईलाई सोधे–‘बयान दिन सक्नुहुन्छ ?’ इन्द्रजितले भने–‘सक्छु, श्रीमान् ।’

तर, सुरुमा बयान दिन राजी इन्द्रजित एकैछिन कानुन व्यवसायीसँग परामर्श गर्छु भनेर परामर्श गर्न सुरु गरे । कानुन व्यवसायीसँग उनको परामर्श दिनभर पनि सकिएन । परामर्श सुरु गरेपछि उनले भने–‘टाउको दुख्न थाल्यो, चिया ब्रेकपछि बयान दिन्छु ।’

चिया ब्रेकपछि पनि उनी अधिवक्ता दिलकुमारी राईसँग परामर्श लिइरहे । त्यसपछि न्यायाधीशले लक्ष्मी महर्जनको बयान गर्न आदेश गरे । महर्जनले बयान पुरा गरेपछि फेरि डा. इन्द्रजितको पालो आयो । त्यसपछि डा. इन्द्रजितले इजलासमा उभिएर भने– ‘श्रीमान् मलाई सन्चो भएन ।’

न्यायाधीशले उनलाई अर्को दिन बयानमा आउन आदेश गरेपछि उनी इजलासबाट बाहिरिए । आइतबार दिनभर इजलासमा आफू विरुद्धको अभियोग अध्ययन र कानुन व्यवसायीको परामर्शमा नै उनले समय बिताए ।  

सन्दीपले कुनै बहाना नगरीकन बयान दिएर इजलासबाट बिदा भए । शरणार्थी प्रकरणमा अहिलेसम्म ५ जनाको बयान पुरा भएको छ । जेठ १२ मा केशवप्रसाद दुलाल र सागर राईले बयान दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप