बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
वेथिति

४० करोडमा  किनिएको टोमोथेरापी साढे ४ वर्षदेखि चौरमै

प्रयोगमै नआई बिग्रिएपछि निर्माण कम्पनीले अर्को मेसिन सटही गरिदिँदै
मङ्गलबार, १६ जेठ २०८०, १२ : १६
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । वीर अस्पतालमा सञ्चालन नहुँदै साढे चार वर्षदेखि बिग्रिएर सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्काइएको टोमोथेरापी मेसिन सटही हुने भएको छ । 

सञ्चालन नहुँदै बिग्रिएपछि निर्माण कम्पनीले अर्को टोमोथेरापी मेसिन पठाएको अस्पताल निर्देशक डा सन्तोष पौडेलले बताए ।

२०७५ फागुनमा क्यान्सर रोग उपचारका लागि सो उपकरण ४० करोडमा  खरिद गरी प्रयोगविहीन बनाएर राखिएको थियो । साढे चार वर्ष अगाडिदेखि अस्पतालले क्यान्सर रोगका बिरामीलाई सहजता बताउन सो उपकरण ल्याएपनि प्रयोगमा ल्याउन नमिल्ने गरी बिग्रिएको थियो । 

अमेरिकी एकुरे कम्पनीले निर्माण गरेको उपकरण प्रयोग गर्न नमिल्ने भएकाले बिग्रिएको मेसिन फिर्ता लगेर नयाँ पठाउन अस्पतालले वर्षौँदेखि दिन आग्रह गर्दै आए पनि सुनुवाइ भएको थिएन । 

तर, हालै प्रस्ताव स्वीकार गरी नयाँ मेसिन पठाइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स निमित्त उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले बताए । उनका अनुसार टोमोथेरापी उपकरण अमेरिकाबाट समुद्री मार्ग हुँदै आइरहेको छ । उपकरण ५ जुनसम्ममा कलकत्ता आइपुग्छ । 

अबको दुई महिनामा टोमोथेरापी उपकरण सञ्चालनमा ल्याइने उनको जिकिर छ । 

किन चौरमा वषौंसम्म राखियो ?

प्रयोग गर्न नमिल्ने टोमोथेरापी मेसिन तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा र अस्पतालका पूर्व निर्देशक प्राडा बस्नेतको पालामा खरिद गरिएको थियो ।  प्रशासनिक र प्राविधिक रुपमा तयार नगरी सो उपकरण ल्याइएको थियो । टोमोथेरापी उपकरण राख्ने बंकर तयार गरिएको थिएन । वीर  अस्पतालमा सो उपकरण राख्ने ठाउँ नभएको भन्दै सशस्त्र अस्पतालको चौरमा राखिएको  थियो । 

त्यसरी चौरमा राखिएको टोमोथेरापी मेसिनबाट पानी चुहिदा प्रयोग गर्न नसकिएको अस्पतालले बताउँदै आएको थियो । यस्तै केही समय अगाडि मेसिन उत्पादन कम्पनीले मेसिनको पार्टपुर्जा खिया लागेको भन्दै जडान नगरी फर्किएको थियो । 

बीस वर्ष पुरानो कोबाल्ट मेसिन रेडियोथेरापी उपकरण विग्रिएपछि बीरले साढे चार वर्ष अघि अत्याधुनिक मेसिन भित्र्याएको थियो । अस्पताल उच्च स्रोतका अनुसार निजी अस्पतालहरूको स्वार्थलाई सम्वोधन गर्न सो मेसिन प्रयोगमा ल्याउने कार्यमा ढिलाइ गरिएको थियो । 

‘वीर अस्पतालमा टोमोथेरापी उपकरण प्रयोगमा आएमा अन्य अस्पतालमा क्यान्सरका बिरामी जान ठप्प हुन्छ । त्यसैले, जानाजान खिया लाग्न दिइयो ।’ वीर अस्पतालका एक कर्मचारीले भने, ‘हाल निजी अस्पतालले  लिनियाक रेडिएसन मेसिनबाट गरिने मँहगो रेडियोथेरापी सेवा लिन बाध्य भए ।’ 

क्यान्सरका बिरामीले डेढदेखि दुई लाखसम्म निजी अस्पतालमा रेडियोथेरापी गर्दै बाध्य छन् । जबकि अत्याधुनिक टोमोथेरापी मेसिनबाट गुणस्तरीय र करिब २० देखि ३० हजारको दरमा रेडियोथेरापी गर्न सकिने उनले बताए । विगतमा टोमोथेरापी मेसिन खरिद प्रक्रियादेखि नै निजी अस्पतालहरूले अवरोध गर्दै आएको समेत उनको जिकिर छ । 

टोमोथेरापीले कस्तो काम गर्छ ?

वीर अस्पतालमा वर्षेनी १७ देखि २१ हजारसम्म क्यान्सरका बिरामी आउने गर्छन् । जसमध्ये आधालाई रेडियोथेरापी गर्नु पर्छ । क्यान्सर भएका बिरामीलाई टोमोथेरापीबाट रेडियोथेरापी गर्दा क्यान्सरका कोषिकालाई मात्रै मार्ने अस्पतालका निर्देशक डा पौडेलले बताए ।  

 ०७२ मा रेडियोथेरापी मेसिन बिग्रिएपछि वीर अस्पतालमा क्यान्सरको उपचार गराएपनि रेडियोथेरापीका लागि बिरामी अन्यत्र जना बाध्य छन् । 

अत्याधुनिक टोमोथेरापी मेसिनबाट दैनिक ७० बढी क्यान्सर बिरामीको रेडियोथेरापी गर्न सकिने उनले बताए । वीरमा  क्यान्सरको उपचार गर्ने  र रेडियोथेरापीका लागि अन्य अस्पतालमा महिनौसम्म लाइन बस्नुपर्ने बाध्यता नयाँ मेशिन आएपछि अन्त्य हुने निर्देशक पौडेलको भनाइ छ ।

सिभिल अस्पतालको एमआरआइ नयाँ   

उता, सिभिल अस्पतालले खरिद गरेको एमआरआई मेसिन नयाँ भएको भएको समाचार छ । अस्पतालका निर्देशक डा विधाननिधि पौडेलका अनुसार अस्पतालले पुरानो मेसिन भएको शङ्का गरेर मेसिन उत्पादक कम्पनी सिमेन्स हेल्थकेयरलाई पत्रले दिएको थियो । २२ करोड ७६ लाखमा टेस्ला एमआरआई मेसिन खरिद गरिएको थियो । 

डा पौडेलका अनुसार अस्पतालले २०२३ अप्रिल २ मा एमआरआई मेसिन विषयमा प्रष्ट पार्न उत्पादक कम्पनीलाई पत्र लेखेको थियो ।  सिमेन्स हेल्थकेयरले २०२३ अप्रिल १७ मा जवाफ पठाएको उनले बताए ।

पत्रमा एमआरआई मेसिनको सिरियल नम्बर र मेसिन नम्बर पठाइएको थियो । सोही अनुसार जाँच गर्दा नम्बर मिलेको उनले बताए । एमआरआई मेसिन नयाँ प्रमाणित भएपछि अस्पतालमा जडान कार्यलाई तीव्रता दिइएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप