शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य

बुधबार, १७ जेठ २०८०, १७ : ५०
बुधबार, १७ जेठ २०८०

हेटौँडा । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्ने बताएका छन् । उनले प्रदेशसभाको बुधवार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिँदै सरकारले घरेलु उद्योगहरूलाई प्रोत्साहन गरेर घरेलु मदिरा र जातीय तथा सांस्कृतिक खाद्यान्नलाई ब्राण्डिङ गरेर बाहिरी देशमा निर्यात गर्नुपर्ने बताए ।

‘हामीले घरेलु उद्योगलाई प्रोत्साहन गरेर घरेलु मदिरालाई ब्राण्डिङ गरी निर्यात गर्नुपर्छ । सांस्कृतिक र जातीय खाद्य पदार्थलाई बाहिरी देशहरूमा निर्यात गरेर आर्थिक उपार्जनमा नागरिकहरूलाई जोड्नुपर्छ ।’ उनले भने, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई आर्थिक सुदृढीकरण र जनतामुखी बनाउनुपर्छ ।’ नेता बज्राचार्यले राजनीतिमा इमानदारिता आवश्यक रहेको बताए । छल र ढाँटले राजनीति टिक्न नसक्ने भन्दै उनले सबैलाई इमानदार भएर जनताको काममा लाग्न बताए । उनले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूमा सरकारको ध्यान नपुगेको बताए ।

‘प्रदेशका १३ जिल्लाका विभिन्न क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी भइरहेको छ । तर, पहिले देखिएका सम्पदा सूचीमा रहेका क्षेत्र अपहेलित भएका छन् । त्यसलाई व्यवस्थापन गरेर बढी मात्रामा पर्यटक ल्याउन सकिन्छ ।’ उनले विभिन्न जिल्लालाई समेटेर विशेष क्षेत्रका आधारमा कृषि उत्पादनका योजनाहरू कार्यान्वयन गर्न सकिने बताए । सरकारका कामहरूका विषयमा समीक्षा गर्न जनतासमक्ष पुग्नुपर्ने उनको भनाई छ । सरकारले जनताका सुझावहरूलाई समेटेर आफ्ना कामहरू अघि बढाउनुपर्ने उनले बताए ।

योजनाहरू पारदर्शी बनाएर अघि बढे मात्र नागरिकहरू उत्साहित भएर कार्यान्वयनमा अग्रसर हुने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । प्रदेशलाई सक्षम र सबल बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप