शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रमको दिल्ली यात्रा

प्रधानमन्त्रीको भारत भ्रमण : फितलो व्यवस्थापन

नेपालको मुख्य सरोकारको विषय नै मुलतबीमा
बिहीबार, १८ जेठ २०८०, १८ : ३१
बिहीबार, १८ जेठ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्ने अभिव्यक्ति दिए । प्रधानमन्त्रीमा नियुक्त भएको तेश्रो दिन पुस १२ मा एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा उत्साहित हुँदै प्रचण्डले भनेका थिए, ‘जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ । मलाई लाग्छ, मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।’

प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिनाभन्दा बढीको अवधिमा उनलाई अन्य देशबाट भ्रमणको निम्ता नआएको भने होइन । यतिसम्म कि उनले तयारी भइसकेको कतार भ्रमणसमेत स्थगित गरेका थिए । गत फागुन तेस्रो साता प्रधानमन्त्री प्रचण्डलाई अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतारले निमन्त्रणा गरेको थियो । सो सम्मेलनमा अतिकम विकसित राष्ट्रका प्रमुखको सहभागिता भएपनि प्रधानमन्त्रीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाएर आफू गएनन् । त्यतिबेला राष्ट्रपति निर्वाचनको मुखमा ‘विकसित घटनाक्रम’ भन्दै उनले कतार भ्रमण रद्द गरेका थिए । 

यस्तै चीनले बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई गत फागुन ८ गते नै निम्तो दिएको थियो । उनी सो कार्यक्रममा पनि गएनन् । यता प्रचण्डको भारत भ्रमण विविध कारणलेपर धकेलिँदै गयो, कहिले राजनीतिक गठबन्धनका कारण त कहिले भारतीय पक्षको ‘वेट एन्ड सी’ को नीतिले । अन्ततः उनको भ्रमण बल्ल जेठ १७ का लागि तय भएको थियो । 

जबकि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै बधाई दिने क्रममा समेत भारत भ्रमणको निम्तो दिएका थिए, तर भारत उनका लागि नयाँ दिल्लीमा रेड कार्पेट ओछ्याउन भने हतारिएन । प्रधानमन्त्री तत्काल भारत भ्रमणका लागि सकारात्मक देखिएपनि भारतीय पक्षले भने रेस्पोन्स ढिला ग-यो,  जसका कारण भारत भ्रमणको उचित समयका लागि प्रचण्डलाई जेठ १७ सम्म कुर्नुपर्यो । यसअघि फागुन र वैशाखमै प्रचण्डको भारत भ्रमण हुने चर्चा थियो । । फागुनको दोश्रो साता, पुस १० को जगमा बनेको प्रचण्ड सरकारको समीकरण बदलियो, अर्काेतिर वैशाखसम्म उपनिर्वाचन र गठबन्धनभित्रको स्पष्ट चित्र नआउँदा भ्रमण त्यसै अलपत्रजस्तै बनेको थियो ।
स्मरणीय के छ भने सरकारले गत वैशाख ३१ र जेठ १ गतेमध्ये एउटा मितिमा भ्रमणमा आउन सकिने प्रस्ताव दिल्लीलाई पठाएको थियो । प्रधानमन्त्री बनेको पाँच महिना बितिसकेको अवस्था र पहिलो औपचारिक विदेश भ्रमण समेत रहेकाले प्रधानमन्त्री प्रचण्ड र उनको टिमलाई होमवर्कको पर्याप्त समय थियो । 

कस्ता एजेन्डा उठाउने आदिबारे सरोकारवालासँग पर्याप्त छलफल गरेर भारतसँग ‘टेबल टक’को आधार बनाउनुपर्नेमा त्यस्तो देखिएन । यतिसम्म कि बढी अपेक्षा रहेको हवाईरुटका साथै पञ्चेश्वरका बारेमा समेत नेपालको अपेक्षा पूरा हुन सकेन । 

के–के भए दुई पक्षीय समझदारी ?
भारत भ्रमणको दोस्रो दिन अर्थात् बिहीबार प्रधानमन्त्री प्रचण्ड ठीक ११ बजे हैदरावाद हाउस प्रवेश गरे । प्रधानमन्त्री प्रचण्डको कारगेड सिधै प्रधानमन्त्री कार्यालयमा रोकिएको थियो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय भ्रमण भनेर प्रचार गरिरहँदा हैदरावाद हाउसमा भने प्रचण्डलाई सम्मान मिलेन । भारतले राजकीय भ्रमणमा रहेकालाई मात्रै गार्ड अफ अनर दिने गरेको छ । प्रधानमन्त्री प्रचण्डको अफिसियल भ्रमणमात्रै रहेकाले उनलाई राजकीय सम्मानका साथ गार्ड अफ अनर नदिइएको बताइएको छ ।

 हैदरावाद हाउसस्थित प्रधानमन्त्री कार्यालयमा प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरे । त्यसपछि दुईपक्षीय भेटवार्ता र दुई देशकाबीचमा सहमतिपत्र आदानप्रदान भयो । नेपाल र भारतीबीच मुख्यतः सात विषयमा सम्झौता भएका छन् । जस अनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइन विस्तार, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबीच सहकार्य, चाँदनी दोधारामा एकीकृत जाँचचौकी स्थापना गर्ने, भारतीय कम्पनीद्वारा फुकोट कर्णाली आयोजना निर्माण गर्ने, डिजिटल पेमेन्ट सम्झौता गर्ने जस्ता विषय छन् । यस्तै विकास निर्माणसम्बन्धी केही आयोजना पनि भारतले घोषणा गरेको छ ।

नेपालको मुख्य सरोकार रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन नसक्नु नै नेपालका लागि नमिठो भयो । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमत नभएपछि अन्य एजेन्डामा मात्रै सम्झौता भएको हो ।  तत्कालका लागि भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी अनुमति दिन भारत सहमत भएको बताइएको छ ।

मोदीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिए ।यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् ।
नेपालको मुख्य चासो भने हवाई रुट नै हुन् । भारतले रुट नदिँदा नेपालको ठूलो लगानी रहेको भैरहवा विमानस्थल प्रभावित हुँदै आएको छ । 

यस्तैप्रधानमन्त्रीस्तरीय छलफलमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनबारे पनि छलफल भएन । भारतीय विदेशसचिव विनय मोहन क्वात्राले बिहीबार गरेको पत्रकार सम्मेलनमा यसबारे कुरा नभएको बताएका हुन् ।  उनका अनुसार अग्निपथमा गोर्खा भर्तीका साथसाथै ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमापनि छलफल भएन। यसअघि बुधबार मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भारतीय संसदमा राखिएको अखण्ड भारतको नक्साबारे चासो राखेको विषय बाहिरिएको थियो । बिहीबारको छलफलमा दुई प्रधानमन्त्रीहरूबीच यसबारे पनि कुरा नभएको क्वात्राको भनाइ छ । 

प्रचण्ड र मोदीले के भने ?
संयुक्त पत्रकार सम्मेलनपछि प्रचण्डलेनेपाल र भारतबीचको सम्बन्ध पुरानो र बहुआयामिकरहेको बताए । मोदीको नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यको विकास देखेर आफूहरू खुसी भएको उनको भनाइ थियो । उनले भने, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखेर खुसी छौँ ।’

उनले दुई देशबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धको समृद्ध परम्पराद्वारा निर्मित ठोस धरातलमा टिकेको चर्चा गरे । उनले भारतीय समकक्षी मोदीको छिमेकी पहिलेनीतिको प्रशंसासमेत गर्न भ्याए । भारतीय समकक्षीसँगको भेटवार्तामा पारवहन, लगानी, विद्युत् व्यापार, सिँचाइ, कृषि, हवाई प्रवेश मार्ग लगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । 

यस्तै मोदीले भने भारत र नेपालबीचको ‘हिट’ मित्रतालाई ‘सुपरहिट’ बनाउन थुप्रै महत्त्वपूर्ण निर्णय गरेको बताउन भ्याए । आफ्नो सम्बोधनमा मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्धदेखि कनेक्टिभिटीका कुरा उठाए । पछिल्लो नौ वर्षको अवधिमा हामीले अनेकौँ क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरिसकेको जिकिर गर्दै उनले दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । 

भारतीय विदेशमन्त्री नै भारतबाहिर
छिमेकी देशका प्रधानमन्त्री आउन लाग्दा भारतीय विदेशमन्त्री नै भारतमा थिएनन् । उनी यतिबेला दक्षिण अफ्रिकामा छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा विदेश राज्यमन्त्रीबाट स्वागत गरिएको थियो । भारत भ्रमणको मुख्यदिन बिहीबार प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीसहित भारतीय राष्ट्रपति, उपराष्ट्रपतिलगायतसँग भेटवार्ता गरिसकेका छन्, जुन भेटवार्तालाई सरकारी पक्षले फलदायी भनेर दाबी गरेपनि नेपालमा यस भ्रमणबारे टीकाटिप्पणी सुरु भइसकेको छ । 

दूतावासको कमजोर भूमिका
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासको भूमिका कमजोर देखिएको छ । नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदा दूतावासले जति समन्वय गर्नुपर्ने थियो, त्यति हुन नसकेको सरोकारवालाको भनाइ छ । यसैपनि दिल्ली दूतावासको कार्यशैलीमाथि विगतदेखि नै गुनासो आउने गरेकोे छ, अहिले भ्रमणका बेला पनि दूतावासको उस्तै कमजोर भूमिका देखिएको नेपाल समुदायकै भनाइ छ । 


दूतावासको कमजोर व्यवस्थापनका कारण नेपाली सञ्चारकर्मीलाई समाचार संकलनमा समेत अवरोध भएको थियो । दूतावासले समयमा पासको व्यवस्था नगरिदँदा प्रधानमन्त्री बुधबार इन्दिरागान्धी विमानस्थलमा पुग्दा तनावको अवस्था समेत बनेको थियो । 
बुधबार आयोजित रात्रिभोजमा सहभागी हुन आएका एक प्रवासी नेपालीले प्रमको भारत भ्रमणमा दूतावासले आवश्यक सहजीकरण र कूटनीतिक सक्रियता देखाउन नसकेको बताए । प्रवासी नेपालीले प्रधानमन्त्री दूतावासमा आयोजित रात्रिभोजमा सरिक हुन आएको अवसरमा आफ्नो समस्याबारे ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र समेत बुझाएका थिए । 

चारदिने भारत भ्रमणका सिलसिलामा चौथोपटक नै प्रधानमन्त्रीको हैसियतमा आएका प्रचण्डको भ्रमण सद्भावनामै सीमित हुन पुगेको टीकाटिप्पणी सुरु भइसकेको छ । साथसाथै नेपालको विशेष चासो रहेको हवाई रुट, ईजीपी प्रतिवेदन, अग्निपथलगायत विषय योपटकको भ्रमणमा अनिर्णित नै बन्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप