शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा : नीति कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

बिहीबार, १८ जेठ २०८०, २० : ०४
बिहीबार, १८ जेठ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच जुहारी चलेको छ । 

बुधबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच जुहारी देखिएको हो ।

प्रदेशसभको बिहीबार बसेको बैठकमा कुल ४० जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । जसमा सत्तापक्षका सांसदहरुले सरकारले प्रभावकारी ढंगबाट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी नीति तथा कार्यक्रम ल्याएकाले कार्यान्वयनमा जानुपर्ने जोड दिए ।

उता प्रतिपक्ष दलका सांसदहरुले सरकारले प्रदेशको समग्र क्षेत्रलाई नीति तथा कार्यक्रममा समेट्न नसकेको भन्दै विरोध गरे । उनीहरुले सरकारले नीति तथा कार्यक्रममा प्रतिपक्ष दलले दिएको सुझाव समेट्न समेत दबाब दिए ।

एमाले सांसद रघुनाथ महर्जनले सरकारले कृषि क्षेत्रका लागि अपरिहार्य रहेको सिँचाई सुविधालाई प्राथमिकता दिन नसकेको बताए । पर्यटनको हिसाबले महत्त्वपूर्ण रहेको काठमाडौँका ढुंगेधारा संरक्षणमा पनि कार्यक्रम आउन नसकेको उनको भनाई छ । उनले काठमाडौँमा रहेका राजकुलोहरु संरक्षणमा सरकारले योजना ल्याउनुपर्ने बताए । 

युवालाई कृषिमा आकर्षित गर्ने प्रकृतिका कार्यक्रमहरु नीति तथा कार्यक्रमले समेट्न नसकेकाले त्यसलाई छुटाउन नहुने पनि उनले धारणा राखे ।

प्रतिपक्ष दल नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले भ्रष्टाचार, कमिसन तन्त्रको अन्यका लागि सरकारले तदारुकता नदेखाएको गुनासो गरे । उनले प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न नसके सरकारको नीति तथा कार्यक्रम विगतको जस्तो कागजमा नै सीमित हुने बताए । 

प्रतिपक्ष दल राप्रपाकी सांसद आशा लामाले सरकारको नेतृत्वकर्ताहरु सही ढंगबाट चल्न नसकेको बताइन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा केन्द्रको छायाँ परेको उनको भनाई छ । पछिल्लो समयमा सरकारका गतिविधिले संस्कृति मास्ने काममा थप सघाउ पु¥याएको उनको आरोप थियो ।

राप्रपाकै सांसद राजेन्द्र प्रजापतिले प्रदेश सरकारका नीति कार्यक्रम सही नरहेको बताए । सरकारको नीति कार्यक्रमले प्रदेश संरचनाको औचित्य पुष्टि गर्न नसक्ने भन्दै उनले प्रदेश संरचना खारेजीमा लागि संकल्प प्रस्ताव ल्याउनसमेत माग गरे ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद इन्द्रप्रसाद गोतामेले सरकारले तथ्यपरक नीति कार्यक्रम ल्याएकाले नागरिकको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे । उनले विगतका सरकारले जस्तो विभेदकारी रुपमा कार्यक्रमहरु समावेश नगरेको बताए ।

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मीनकृष्ण महर्जनले कान्ति लोकपथको बाटो वर्षा याममा ठप्प हुँदा नागरिक समस्यामा पर्ने गरेकाले त्यसलाई व्यवस्थापन गर्नतर्फ ध्यान दिनुपर्ने बताए । उनले पहिरो र बाढीले बाटोमा क्षति पुग्ने भएकाले समयमा नै सरकारले त्यसको समाधानमा अग्रसरता देखाउनुपर्ने बताए ।

कांग्रेसकी सांसद हरिप्रभा खड्गीले सांस्कृतिक पर्यटनले रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि सार्नुपर्ने बताइन् । महिला शसक्तिकरण्मा परम्परागत शैलीमा भन्दा फरक ढंगले काम गर्नुपर्ने उनको भनाई छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद वसन्त प्रसाद मानन्धरले सरकारले सीमित स्रोत र साधनलाई सदुपयोग गर्दै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताए । उनले प्रतिपक्ष दलहरुले विरोधका लागि मात्र विरोध गरेको उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप