सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
याक क्लोनिङ

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक

सोमबार, ११ साउन २०८३, १९ : ००
सोमबार, ११ साउन २०८३

सारांश

  • वैज्ञानिकहरूले तिब्बतको उच्च पठारमा क्लोनिङ प्रविधि प्रयोग गरी 'सुपर याक' तयार गरिरहेका छन् जसको उद्देश्य बाक्लो रौँ, स्वस्थ र बढी प्रजनन क्षमता भएका याकहरूको बथान विकास गर्नु हो।
  • यो परियोजनाले लोप हुने जोखिममा रहेका जंगली याक प्रजातिलाई पुनर्जीवित गर्ने सम्भावना पनि बोकेको छ, जसको संख्या पछिल्लो ३० वर्षमा एकतिहाइभन्दा बढीले घटेको छ।
  • क्लोनिङ प्रविधिले याक उद्योगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ, तर यसले अन्तर्राष्ट्रिय समुदायमा नैतिक प्रश्नहरू पनि उठाएको छ।

हङकङ । तिब्बतका उच्च हिमाली मैदानहरूमा, जहाँ चारैतिर हिउँले ढाकिएका हिमाल छन् र कठोर हावाले निरन्तर प्रहार गरिरहन्छ, त्यहाँ वैज्ञानिकहरू सिङ भएका, बाक्लो रौँ भएका याकका क्लोन तयार गर्न व्यस्त छन् । 

यी तिब्बती याकहरू समुद्री सतहबाट ४,००० मिटरभन्दा बढी उचाइमा रहेका गोप्य प्रयोगशालाहरूमा क्लोन गरिएका हुन् । अनुसन्धानकर्ताहरूको लक्ष्य पहिलेका याकभन्दा अझ स्वस्थ, बढी प्रजनन क्षमता भएका र उत्कृष्ट गुण भएका ‘सुपर याक’ को एउटा विशेष बथान तयार गर्नु हो । 

वैज्ञानिकहरूको विश्वास छ, यो परियोजनाले तिब्बती समुदायले भूमिदेवताको प्रिय जनावरका रूपमा सम्मान गर्ने दुर्लभ जंगली याकको एउटा प्रजातिलाई पुनर्जीवित गर्ने सम्भावना पनि खोल्न सक्छ । 

लामा रौँ भएका यी हिमाली गाई वर्गका जनावर तिब्बतको अर्थतन्त्र र संस्कृतिको अभिन्न हिस्सा हुन् । तर घरेलु याक र तिनका जंगली नातेदार दुवै वर्षौंदेखि विभिन्न किसिमका खतरासँग जुधिरहेका छन् । केही दुर्लभ उपप्रजाति त लोप हुने जोखिममा समेत पुगेका छन् ।

दक्षिणपश्चिमी चीनको तिब्बती क्षेत्रमा याक उद्योगलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले पछिल्ला वर्षहरूमा करोडौँ डलर लगानी गरेको छ । अब उनीहरूको आशा छ कि क्लोनिङ प्रविधिले यस उद्योगलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

पहिलो याकको सफल क्लोन जुलाई २०२५ मा जन्मिएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले यसलाई क्लोनिङ र जीन छनोट प्रविधिको ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए । त्यसपछि यो वर्षको वसन्तमा थप क्लोन याकहरू जन्मिएका छन्, र अनुसन्धानकर्ताहरूले सन् २०२८ सम्ममा छिटो बढ्ने, ठुलो आकारका र उत्कृष्ट आनुवंशिक गुण भएका १०० भन्दा बढी ‘भव्य’ क्लोन याक तयार गर्ने लक्ष्य राखेका छन् ।
यस परियोजनाका प्रमुख वैज्ञानिक तथा लोपोन्मुख वन्यजन्तुको जीन स्रोत संरक्षण केन्द्रका निर्देशक फाङ शेङगुओका अनुसार, ‘यसले यो प्रविधि एकपटकको सफलताबाट अघि बढेर स्थायी र ठुलो स्तरमा प्रयोग गर्न सकिने अवस्थामा पुगेको देखाउँछ ।’ 

यद्यपि तिब्बती सरकारको सहयोगमा सञ्चालित यस परियोजनाले अन्तर्राष्ट्रिय समुदायमा नैतिक प्रश्न पनि उठाएको छ । विशेषगरी लोप भइसकेका प्रजातिलाई पुनर्जीवित गर्ने प्रयाससँग सम्बन्धित क्लोनिङ परियोजनाहरू पछिल्ला वर्षहरूमा विश्वभर विवादको विषय बनेका छन् । 

भविष्यका लागि याक

सबैभन्दा पहिले, तिब्बतमा पाइने याकका दुई प्रमुख प्रकार छन्, र क्लोनिङ परियोजनाको उद्देश्य पनि दुवैका लागि फरक–फरक छ । पहिलो हुन् जंगली याक, जो लोप हुने जोखिममा छन् र चिनियाँ कानुनअनुसार संरक्षित प्रजाति हुन् । पछिल्लो ३० वर्षमा तिनीहरूको संख्या एकतिहाइभन्दा बढीले घटेको छ । अहिले जंगली याकको संख्या करिब १० हजारदेखि २० हजार मात्र बाँकी रहेको अनुमान गरिएको छ । 

yak1

दोस्रो हुन् घरेलु याक । यी लोपोन्मुख होइनन् र विश्वभर करिब १ करोड ४० लाख घरेलु याक छन्, जसमध्ये अधिकांश तिब्बती पठारको उच्च भूभागमा पाइन्छन् । याक तिब्बतको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । घुमन्ते किसानहरूले यिनलाई ऊन, दूध, मासु तथा खेत जोत्नेजस्ता कृषि कार्यमा प्रयोग गर्छन् ।

तर दुवै प्रजाति अहिले जलवायु परिवर्तन र वासस्थानको विनाशबाट प्रभावित छन् । बढ्दो तापक्रमका कारण नयाँ वनस्पति फैलिँदै गएका छन्, जसले चरन क्षेत्र र प्राकृतिक स्रोतसाधनमा प्रतिस्पर्धा बढाएको छ । संसारकै कठोर प्राकृतिक वातावरणमध्ये एक मानिने तिब्बती पठारमा यो ठुलो चुनौती बनेको छ ।

‘शोके’ नामक याकको ऊनबाट कपडा उत्पादन गर्ने संस्थाकी संस्थापक क्यारोल च्याउ भन्छिन्, ‘तिब्बती पठारको पारिस्थितिक प्रणाली अत्यन्तै नाजुक छ । जलवायु परिवर्तनसँगै चरम मौसमका घटना बढेका छन् । यदि कडा हिमआँधी आयो भने कुनै क्षेत्रमा रहेका सम्पूर्ण याकका बथान नै नष्ट हुन सक्छन् ।’ 

याकहरूको अर्को ठुलो समस्या आनुवंशिक मिश्रण (क्रसब्रिडिङ) र निकट सम्बन्धबीचको प्रजनन (इनब्रिडिङ) हो । जंगली याकले घरेलु याकसँग प्रजनन गर्दा तिनको मौलिक आनुवंशिक विशेषता कमजोर हुँदै गएको छ । त्यस्तै, घरेलु याकले गाईसँग प्रजनन गर्दा पनि उनीहरूको आनुवंशिक शुद्धता प्रभावित भएको छ । एउटै प्रजातिभित्र हुने अत्यधिक इनब्रिडिङले समेत आनुवंशिक विविधता र समग्र स्वास्थ्यमा नकारात्मक असर पारेको वैज्ञानिकहरू बताउँछन् । 

परियोजनाका प्रमुख वैज्ञानिक फाङ शेङगुओका अनुसार पछिल्लो एक दशकमा याकको शरीरको आकार, तौल र प्रजनन क्षमता घट्दै गएको छ । प्राकृतिक रूपमा याकको सफल प्रजनन दर अहिले केवल २० प्रतिशत मा सीमित छ । उनका अनुसार, ‘मानव गतिविधि र वातावरणीय परिवर्तनका कारण याकको अस्तित्व नै गम्भीर संकटमा परेको छ ।’

यही समस्याको समाधानका रूपमा उनी क्लोनिङ प्रविधिलाई आशाको किरण मान्छन् ।

yak3

याकको क्लोन कसरी गरिन्छ ?

याकको क्लोन बनाउन वैज्ञानिकहरूले सबैभन्दा पहिले सबैभन्दा बलिया, स्वस्थ र उत्कृष्ट गुण भएका याक छनोट गर्छन् । त्यसपछि उनीहरूले ती याकका शारीरिक कोशिका (सोमाटिक सेल) बाट न्यूक्लियस निकाल्छन् । यही न्यूक्लियसमा याकको सम्पूर्ण आनुवंशिक जानकारी हुन्छ । त्यसपछि आफ्नै न्यूक्लियस हटाइएको अण्डाकोषमा यो न्यूक्लियस प्रत्यारोपण गरिन्छ । 

यसरी तयार भएको भ्रुणलाई पछि अर्को पोथी याकको गर्भमा प्रत्यारोपण गरिन्छ, जसले निश्चित समयपछि क्लोन बाछालाई जन्म दिन्छ । 

पहिलो सफल क्लोन घरेलु याकको डीएनएबाट तयार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएको त्यो सानो कालो र भुत्ले बाछोको भिडियो चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको थियो । त्यसपछि जन्मिएका थप १० वटा क्लोन याक भने सामान्य प्रसूति प्रक्रियाबाट जन्मिएको झेजियाङ विश्वविद्यालयले जनाएको छ । यसले भविष्यमा ठुलो परिमाणमा क्लोन उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ । जुन महिनासम्म ती सबै क्लोन बाछा स्वस्थ रूपमा हुर्किरहेका छन् ।

चिनियाँ अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधिले घरेलु याक उद्योगमा ठुलो आर्थिक फाइदा पुर्‍याउन सक्छ । प्राकृतिक रूपमा याकको प्रजनन निकै सुस्त हुन्छ । एउटा पोथी याकले आफ्नो सम्पूर्ण जीवनमा सामान्यतया चार वा पाँचवटा मात्र बाछा जन्माउने भएकाले यसको दीर्घकालीन संरक्षण चुनौतीपूर्ण बनेको छ । क्लोनिङले भने यो प्रक्रिया धेरै छिटो बनाउन सक्छ । 

याकहरू पहिलेदेखि नै कठोर हिमाली वातावरणमा बाँच्न अनुकूलित जनावर हुन् । तिनीहरूको बाक्लो रौँले अत्यधिक चिसो सहन मद्दत गर्छ भने ठुला फोक्सोले कम अक्सिजन भएको उच्च हिमाली क्षेत्रमा सहज रूपमा बाँच्न सक्षम बनाउँछ । अब वैज्ञानिकहरूले उत्कृष्ट आनुवंशिक गुण भएका याक छनोट गरेर बढी प्रजनन क्षमता, रोगसँग लड्ने शक्ति र प्रतिकूल वातावरण सहन सक्ने क्षमता भएका क्लोन तयार गर्न सकिने बताएका छन् । यसले याकको आनुवंशिक गुणस्तर सुधार्नुका साथै किसानहरूको आयआर्जन पनि बढाउने अपेक्षा गरिएको छ । 

घरेलु याकको उत्पादन वृद्धि मात्र होइन, यही प्रविधि जंगली याक संरक्षणमा पनि प्रयोग गर्ने योजना छ । विशेषगरी तिब्बतमा करिब ३०० वटा मात्र बाँकी रहेको ‘सुनौलो जंगली याक’ उपप्रजातिको संरक्षण यस परियोजनाको अर्को प्रमुख उद्देश्य हो । दुर्लभ भएकाले यसलाई स्थानीय रूपमा ‘अलौकिक जनावर’ समेत भन्ने गरिन्छ । 

अनुसन्धानकर्ताहरूले सन् २०२५ देखि मृत सुनौला जंगली याकबाट कोशिका सङ्कलन गरी क्लोन भ्रूण तयार गरेर अन्य पोथी याकको गर्भमा प्रत्यारोपण गर्न थालेका छन् । यस वर्षको अप्रिलमा चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जंगली याक र तिनका वर्णसंकर प्रजातिका २०० भन्दा बढी क्लोन भ्रुण तयार गरिएको जनाएको थियो । 

तर परियोजनाको यो पक्ष अझै रहस्यमय छ । अहिलेसम्म कुनै पनि जंगली याकको सफल क्लोन जन्मिएको घोषणा गरिएको छैन । प्रत्यारोपण गरिएका भ्रूण र तिनलाई गर्भमा राख्ने पोथी याकहरूको अवस्था पनि सार्वजनिक गरिएको छैन ।

नैतिक प्रश्नको केन्द्रमा क्लोनिङ

याक क्लोनिङ परियोजना कसैलाई भविष्यको आशा जस्तो लाग्न सक्छ भने कसैलाई डर लाग्दो र प्रकृतिविपरीत प्रयोग पनि । यसको नैतिकता केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तरमा निर्भर रहने विज्ञहरूको भनाइ छ ।
हार्वर्ड मेडिकल स्कुलकी पशु चिकित्सक तथा ‘जैव–नैतिकताविद्’ डा. लिसा मोसेसले सन् २०२१ मा प्रकाशित एक अध्ययनमा यस्ता परियोजनाको मूल्याङ्कन गर्ने मापदण्ड प्रस्तुत गरेकी छन् । उनका अनुसार यस्ता परियोजना अघाडी बडाउँदा केही आधारभूत प्रश्न सोधिनुपर्छ—के यसको उद्देश्य व्यावहारिक छ ? के यसले वातावरण संरक्षणमा वास्तविक योगदान पुर्‍याउँछ ? के यो प्रविधि प्रभावकारी र सफल हुने सम्भावना छ ? र, यस प्रक्रियाले जनावरहरूलाई कस्तो असर पार्छ ? 

मोसेसका अनुसार परियोजनाको उद्देश्य अत्यन्त महत्त्वपूर्ण हुन्छ । यदि क्लोनिङ वन्यजन्तु संरक्षणका लागि गरिन्छ भने अधिकांश मानिस त्यसलाई कृषिमा प्रयोग गरिने क्लोनिङभन्दा बढी स्वीकार गर्न तयार हुन्छन् ।
विश्वमा यसअघि पनि यस्ता प्रयास भएका छन् । सन् २०२० मा सान डिएगो चिडियाखानाले लोपोन्मुख ‘प्रजेवाल्स्की घोडा’ सफलतापूर्वक क्लोन गरेको घोषणा गरेको थियो । त्यसको केही महिनापछि अमेरिकाले अत्यन्तै दुर्लभ ‘ब्ल्याक–फुटेड फेर्रेट’को क्लोन ‘एलिजाबेथ एन’ सार्वजनिक गरेको थियो । साथै, ऊनी ‘म्यामोथ’ र ‘डायर वुल्फ’जस्ता लोप भइसकेका जनावरलाई पुनर्जीवित गर्ने प्रयास पनि जारी छन् । 

तर यस्ता परियोजना विवादमुक्त छैनन् । सुरुदेखि नै आलोचकहरूले क्लोनिङ र जीन सम्पादन प्रविधिले प्रकृतिको नियममा हस्तक्षेप गर्ने, अर्थात् ‘स्वभाविक प्राकृतिक प्रकृया’ खतरा पुर्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार यस्तो प्रविधि भविष्यमा मानवमा समेत दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ । 

केही वैज्ञानिकहरू अर्को चिन्ता पनि व्यक्त गर्छन् । उनीहरूका अनुसार यदि सबै ध्यान क्लोनिङतर्फ केन्द्रित भयो भने वासस्थानको संरक्षण, कार्बन उत्सर्जन घटाउने, चोरी–सिकार नियन्त्रण गर्ने जस्ता वातावरण संरक्षणका मूल समस्याका कामहरू ओझेलमा पर्न सक्छन् । पृथ्वीको वातावरण बिग्रिरहँदा केवल क्लोन उत्पादन गरेर समस्या समाधान नहुने उनीहरूको तर्क छ । 

यद्यपि मोसेसका अनुसार केही विज्ञहरू परम्परागत संरक्षण प्रयास मात्र पर्याप्त नरहेको निष्कर्षमा पुगेका छन् । ‘पछिल्ला सय वर्षदेखि वातावरणीय विनाश रोक्न हामीले अपनाएका उपायहरूले अपेक्षित सफलता दिन सकेका छैनन्,’ उनी भन्छिन् । ‘यदि वास्तवमै परिवर्तन ल्याउन चाहन्छौं भने जैविक प्रविधि प्रयोग गरेर प्रजातिलाई नयाँ वातावरणअनुकूल बनाउनुको विकल्प नहुन पनि सक्छ ।’

उत्तरभन्दा धेरै प्रश्न

यद्यपि केही विज्ञहरू क्लोनिङ प्रविधिको खुलेर समर्थन गर्छन् । सिङ्गापुर राष्ट्रिय विश्वविद्यालयको बायोमेडिकल एथिक्स केन्द्रका प्रमुख जुलियन साभुलेस्कुका अनुसार यदि क्लोनिङ र जीन छनोटले जनावरलाई अझ स्वस्थ, दीर्घायु र मानवका लागि बढी उपयोगी बनाउन सक्छ भने त्यो स्वीकार्य मात्र होइन, नैतिक दायित्व समेत हो । 

तर उनले पनि यस प्रविधिसँग जोडिएका जटिलता स्विकार्छन् । उनका अनुसार क्लोनिङ अझै पूर्ण रूपमा सफल विज्ञान बनिसकेको छैन । यस प्रक्रियाबाट जन्मिने कतिपय जनावरमा आनुवंशिक विकृति देखिन सक्छ । त्यसैले उनी प्रश्न गर्छन्, ‘के केही उत्कृष्ट याक उत्पादन गर्नका लागि धेरै जनावरलाई अनावश्यक पीडा दिइँदै छ ?’ 

yak

यो प्रश्नको उत्तर अहिले दिन सम्भव छैन । किनभने चिनियाँ र तिब्बती अधिकारीहरूले परियोजनाबारे अत्यन्त सीमित जानकारी मात्र सार्वजनिक गरेका छन् । उदाहरणका लागि, सफलतापूर्वक जन्मिएका ११ वटा क्लोनअघि कति भ्रुण असफल भए, कति गर्भपतन भए वा कति जनावरको मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गरिएको छैन । त्यस्तै, उनीहरूले उल्लेख गरेको ‘प्राकृतिक जन्म’ को वास्तविक अर्थ के हो, क्लोन याकहरूमा आनुवंशिक विविधता कायम राख्न के–कस्ता उपाय अपनाइएका छन्, वा यस परियोजनामाथि कस्तो नैतिक निगरानी छ भन्ने विषय पनि अझै अस्पष्ट छ । 

शोकेकी संस्थापक क्यारोल च्याउका अनुसार परियोजनाको दीर्घकालीन लक्ष्यबारे पनि थप स्पष्टता आवश्यक छ । यदि यी क्लोन याकहरू कृषि उत्पादन बढाउन प्रयोग गरिने हुन् भने के उनीहरूलाई बढी दूध, राम्रो गुणस्तरको मासु वा विशेष प्रकारको ऊन उत्पादनका लागि छनोट गरिँदै छ ? र यस्ता विशेषताले भविष्यमा सम्पूर्ण याक समुदाय र तिनको प्राकृतिक वासस्थानमा कस्तो प्रभाव पार्नेछ ?

हार्वर्डकी जैव–नैतिकताविद् डा. लिसा मोसेस अन्त्यमा चेतावनी दिँदै भन्छिन्, ‘वातावरण संरक्षणको इतिहास राम्रो नियतले सुरु भएर पनि असफल भएका प्रयासहरूले भरिएको छ । यी नयाँ प्रविधिमा त अझ धेरै अज्ञात पक्ष छन् । त्यसैले यस्ता परियोजनालाई अत्यन्त सावधानी, पारदर्शिता र जिम्मेवारीका साथ अघि बढाउनुपर्छ ।’

सीएनएनबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप