सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ

सोमबार, ११ साउन २०८३, १८ : ५८
सोमबार, ११ साउन २०८३

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बजारमा ग्यासको आयातमा कुनै कमी नभएको बताएका छन् । पछिल्लो समय ग्यासको अभाव हुन थालेको चर्चा चलिरहँदा अध्यक्ष चन्दले आयात नियमित रहेको र प्राविधिक कारणले मात्र केही चाप देखिएको जानकारी दिएका हुन् । 

रातोपाटीसँग कुराकानीमा अध्यक्ष चन्दले अहिले दैनिक १०० बुलेटभन्दा बढी ग्यास नेपाल भित्रिरहेको बताए । उनले आयातमा कुनै अवरोध नभए पनि उपभोक्ताले पहिले लिएका आधा सिलिन्डर साट्न र थुप्रिएका खाली सिलिन्डर एकैपटक भर्न खोज्दा बजारमा केही दबाब परेको स्पष्ट पारे । 

केही समयअघि ग्यासको आपूर्तिमा समस्या हुँदा सरकार र उद्योगीले आधा सिलिन्डर ग्यास बिक्री गरेका थिए । अहिले भरि ग्यास आउन थालेपछि उपभोक्ताहरू आफूसँग खाली भएका सबै सिलिन्डर लिएर बजार पुगेका छन् । 

अध्यक्ष चन्दले भने, ‘धेरैजसो उपभोक्ताका घरमा १० देखि १५ वटासम्म पनि सिलिन्डर होल्ड भएर बसेका छन्। ती सबै सिलिन्डर अहिले एकैपटक भर्न ल्याउँदा बजारमा ग्यास अभाव भएजस्तो देखिएको हो। यो हाम्रो पहिलेकै अनुमान थियो ।’ 

अध्यक्ष चन्दले सुदूरपश्चिम, कर्णालीका पहाडी जिल्लालगायत दुर्गम क्षेत्रमा भने ढुवानीका कारण केही समस्या हुन सक्ने बताए । वर्षायाममा बाटो बिग्रने, पहिरो जाने र ढुवानीका साधन सीमित हुनाले दुर्गममा ग्यास पुरÞ्याउन समय लाग्ने उनको भनाइ छ ।

‘ग्यासको आयात त भइरहेको छ, तर स्थानीय रूपमा ढुवानी गर्न कहिलेकाहीँ गाह्रो हुन्छ । दार्चुला पुगेर फर्किन एउटा गाडीलाई ७ दिन लाग्छ । यस्ता कारणले कतै अलिअलि ढिलो भएको होला, तर ग्यास नै नभएको अवस्था भने होइन,’ चन्दले भने । 

अहिलेको अवस्था असामान्य नभएको र उपभोक्ताले आत्तिनुपर्ने स्थिति नरहेको र ग्यास भर्ने प्रक्रिया जारी रहेकाले बिस्तारै आपूर्ति थप सहज हुने चन्दले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप