शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमण कति उपलब्धिमूलक ?

विज्ञ भन्छन्, ‘कूटनीतिक पक्ष कमजोर भयो !
बिहीबार, १८ जेठ २०८०, २० : ३३
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा झन्डै दर्जन सम्झौताहरू भएका छन् । क्रस बोर्डर व्यापारदेखि भुक्तानी प्रणालीको सहजीकरणसम्म नेपाल–भारतबीच सम्झौता भएका छन् । 

समकक्षी प्रधानमन्त्री प्रचण्ड र भारती प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् । सुनौली भैरहवा इंटीग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगन्ज रूपैडिया इंटीग्रेटेड चेकपोस्टको उद्घाटन, अमलेखगन्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाइनको शिलान्याससँगै सिलीगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको समझदारी समेत गरेका छन् । 

दोधारा, चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी बन्नुका साथै फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा सम्झौता गर्दै प्रधानमन्त्री प्रचण्डले क्रस बोर्डर पेमेन्टबारे समझदारीसमेत भ्रमणका क्रममा गरेका छन् । 

यी सम्झौताहरू मुलुकका लागि कति फाइदाजनक छन् त ? यसै मुद्दामा केन्द्रित हुँदै हामीले तीन जना अर्थविद्हरूलाई प्रश्न गरेका छौँ । 

प्रधानमन्त्रीको भारत भ्रमण निकै फलदायी भएको छ : अर्थविद् भट्टराई

काठमाडौँ । अर्थविद् अनलराज भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण निकै उत्साहप्रद र फलदायी भएको बताएका छन् । बुधबारदेखि चार दिने भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भएका ऐतिहासिक सम्झौताले नेपालको आर्थिक, सामाजिक तथा राजनीति सुधारमा निकै महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले अन्तरदेशीय व्यापार तथा क्रस बोर्डर प्रोजेक्टहरूमा निकै राम्रा सम्झौताहरू गर्नु भएको छ । नेपालको हाइड्रोपावरमा लगानी र विद्युत् निर्यातको विषयमा निकै राम्रो सम्झौता भएका छन् । क्रस बोर्डर पेट्रोलियम पाइपलाइन विस्तारसँगै क्रस बोर्डर पेमेन्ट सिस्टमको सम्झौताले निकै उत्साह थपेको छ’ भट्टराईले भने, ‘क्रस बोर्ड भुक्तानीको सुविधाले अहिलेसम्मको जटिलताको अन्त्य हुनेछ ।’

साथै, भ्रमणकै क्रममा भएको उपकरणमा आधारित अवतरण सिस्टम (आईएलएस) सुविधा दिएसँगै गौतमबुद्ध विमानस्थलको अवरोध हटेको छ । यसलाई समेत निकै राम्रो उपलब्धि मान्नुपर्ने उनले बताए । यस्तै, नेपाल–भारत कार्गो रेल सञ्चालन, वीरगन्जसँगै दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारीले अन्तरदेशीय व्यापारमा सकारात्मक नतिजा दिने उनले बताए ।

लागू नभएसम्म विश्वास गर्न सकिन्न : अर्थविद् खनाल

अर्का अर्थविद् रामेश्वर खनाल प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राम्रा सम्झौता भए पनि कार्यान्वयन नभएसम्म विश्वास गर्न नसकिने बताउँछन् । ‘नेपाल र भारतबीच यसअघि पनि यस्ता धेरै सन्धी सम्झौताहरू भएका छन् । तर कार्यान्वयन पक्ष निकै कमजोर हुने गरेको छ । मेरै पालामा हुलाकी राजमार्गको ठेक्का भएको हो । जुन अहिले पनि पूर्णता पाउन सकेको छैन । यस्तै समस्या फेरि पनि नदोहोरिएला भन्न सकिन्न’ अर्थविद् खनालले भने, ‘हाइड्रोपावर र क्रस बोर्डर पेमेन्ट बाहेक अरू प्रोजेक्टहरू कार्यान्वयन हुने कुरामा शङ्का छ’ उनले भने । 

फुकोट कर्णाली ४८० मेगावाट र अरुण तेस्रो ६६९ मेगावाट भारतले नै चाहेको थियो । त्यो उसकै जोड बलमा पाउने गरी सम्झौता भएको खनालको भनाइ छ । ‘१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने जुन सम्झौता भएको यो पनि पुरा हुन सक्ला । तर, क्रस बोर्डर रेल वे निर्माणमा भने शङ्का छ । हाल भारतले बुझाएको रक्सौल–काठमाडौँ रेल वे सम्झौता अध्ययन बुझाए पनि यसको काम नभएसम्म विश्वास गर्ने आधार छैन’ उनले भने । 

तर, क्रस बोर्डर पेमेन्ट सिस्टममा भने भारत आफैले चाहेकाले यसमा सफलता मिल्ने उनले बताए । ‘नेपालमा भारुको प्रयोगमा भारत सरकारको पनि चासो छ, यता हामीले पनि भुक्तानीमा निकै झमेला बेहोरिरहेका छौँ । क्रस बोर्डर भुक्तानीको साधन सञ्चालनमा आएसँगै हामीले पनि भारती वस्तु खरिदको सहजै भुक्तानी गर्न सक्छौँ भने उता घुम्न जाँदा क्यास बोकिराख्नुपदैन । यो चाहिँ सहज होला’ उनले भने ।

यता गौतमबुद्ध विमानस्थलका लागि खुल्ला गरिएको भनिएको आईएलएस सुविधा त्यतिकै दिन भारत तयार नभएको भन्दै यसतर्फ आफूलाई शङ्का भएको उनले बताए ।

अलिकता कूटनीतिक पक्षमा कमजोर देखियो : अर्थविद् डा.खनाल  

अर्थविद् डा. डिल्लीराज खनाल प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक मुद्दामा उपस्थिति कमजोर देखिएको बताउँछन् । नेपाल–भारतबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध सुधारको जुन खालको अपेक्षा गरेको थियो त्यो मिल्न नसकेको उनी बताउँछन् । 

‘प्रधानमन्त्रीको यो भ्रमणबाट सीमानाको समस्या सम्बोधन हुने अपेक्षा थियो । यस मुद्दामा भारतले नकारेको छ । यसअघिको ईपीजीको रिपोर्टलाई भारतले आत्मसात् गरेन । यसले झट्ट हेर्दा कूटनीतिक मुद्दामा कमजोर भयौँ कि भन्ने लागेको छ’ उनले भने । अन्य जलविद्युत उत्पादन र खपतको विषयमा नेपाल–भारत र भारत हुँदै बंगलादेशसम्म नेपालको जलविद्युत बिक्री गर्न सकिने विषय राम्रो नै भएको उनले बताए । भारतसँग नेपालको धेरै विषयहरू जेलिएर रहेको बताउँदै अर्थविद् डा.खनालले अहिले नै खुसी मान्न नसकिने तर कार्यान्वयनपछि देखिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप