बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

आइतबार, २१ जेठ २०८०, १३ : ३३
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतवार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभार समेत समालेको बताए । उनले  राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए । उनले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि बताए । प्रवक्ता फुयाँलले  ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताए  ।

उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए । फुयाँलले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरुलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरुको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताए । उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत छलफल गरेर अगाडि बढ्ने बताए ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा.श्रेष्ठले पदबहाली गरेका थिए । आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा.आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । आयोगले सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरु डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारीे डा.राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा.बुढाथोकीलाई उर्जा,वन,सार्वजनिक निजी साझेदारी साथै वागमती प्रदेश, डा.बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वागमती प्रदेशको जिम्मेवारी दिइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप