बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
इजलास

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?

बुधबार, २४ जेठ २०८०, २३ : ०६
बुधबार, २४ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी केशव दुलालमाथि लगाइएको आरोप पुष्टि हुन नसक्ने दाबी उनका कानुन व्यवसायीहरुले गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार थुनछेक बहसमा भाग लिँदै कानुन व्यवसायीहरुले यो मुद्दामा प्रतिवादी बनाइएका दुलाल आफैँ पीडित रहेको तर्क गरेका हुन् ।

अधिवक्ता विकास भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका केशव दुलाल ठगीमा संलग्न रहेको भन्ने दाबी नै गलत रहेको बताए । ‘दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ लिएको भनेको अवस्था छ, उहाँ आफैँ ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत हो,’ बयानका क्रममा अधिवक्ता भट्टराईले भने ।

अधिवक्ता विकास थापाले शरणार्थीको बायोमेट्रिक गरेको कुरा पुष्टि नहुने दाबी गरे । चितवनमा गएर बायोमेट्रिक गरेर दुई करोड रुपैयाँ लिएको पुष्टि कसरी हुन्छ भन्ने उनको प्रश्न थियो । साथै केशव दुलालले गृह मन्त्रालयमा गएर लिखत परिवर्तन गरे भन्ने आरोपको आधार के हो र दुलाललाई कसरी त्यस्तो हैसियत प्राप्त हुन्छ र भन्ने प्रश्नसमेत गरे ।

अधिवक्ता विश्वास आचार्यले गजेन्द्र बुढाथोकी सहितका जाहेरवालाले केशव दुलालले यति रकम बुझे भनेर आरोप लगाए पनि पुष्टि गर्न नसकेको जिकिर गरे । नगद दिएको आधारमै ठगी भनिहाल्न नमिल्ने, त्यसको ठोस पुष्टि गर्ने कागजात चाहिने उनको तर्क छ ।

अधिवक्ता योगेन्द्र अधिकारीले गृह मन्त्रालयमा भएको डकुमेन्ट थपघट गर्न केशल दुलालको भूमिका कसरी हुन्छ भन्ने प्रश्न गरे । उनले दफा तोकेर आरोप लगाउँदैमा पुष्टि हुन नसक्ने दाबी गरे ।

अधिवक्ता नरबहादुर योगीले २०७० सालदेखि केशव दुलालकी पत्नी क्यान्सर पीडित रहेको भन्दै उनलाई समेत ठगी प्रकरणमा प्रतिवादी बनाइएकोमा प्रश्न गरे– ‘क्यान्सर लागेर उपचाररत मान्छे कसरी ठगी प्रकरणमा सामेल हुन सक्छ ?’

दुलालकै पक्षबाट अधिवक्ता राजन भट्टराईले समेत बहस गरेका थिए ।

इजलासमा अर्का प्रतिवादी सानु भण्डारीको तर्फबाट अधिवक्ता विनोद शर्माले बहस सुरु गरेका छन् । उनले भण्डारी सिमकार्ड बेच्ने मानिस रहेको भन्दै गजेन्द्र बुढाथोकीसहित ६१ जनाले जाहेरी दिएको भए पनि कुनै प्रमाणबिना नै मुद्दा चलाइएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप