शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले नदीनाला भारतलाई सुम्पने काम गरे : राजेन्द्र लिङ्देन

शनिबार, २७ जेठ २०८०, १७ : २७
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् । अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे । तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो ।

‘यो लडाईँ देश जोगाउने लडाईँ, धर्म जोगाउने लडाईँ, यो लडाईमा उभिनुपर्ने भयो । यसमा एकचोटी तपाईहरुको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु,’ उनले भने,  ‘तपाईहरुले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो । आज हेर्नुस् त, देशको जिम्मा लिएका राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धि ठान्न थालेका छन् ।’ 

उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गरे । 

‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ । तपाईहरुले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरु बढेर गएको छ’ अध्यक्ष लिङ्देनले भने, ‘कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ । यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नु हुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन । अर्को कुनै विकल्प छैन ।’

अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको पनि बताए । उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने पनि पटकपटक दोहोर्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप