मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘ग्रामीण चलचित्र महोत्सव’मा दीया र मुकुन उत्कृष्ट अभिनेता अभिनेत्री

आइतबार, २८ जेठ २०८०, १३ : ३९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुषाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । दीयाले फिल्म ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ फिल्मबाट उत्कृष्ट ठहरिएका हुन् ।   

काभ्रेको भकुण्डेबेसीमा शनिवार सम्पन्न महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्ड समेत ‘झिंगेदाउ’ले जितेको छ । उक्त अवसरमा फिचर फिल्म ‘प्रकाश’ ले जुरी अवार्ड तथा चलचित्रका लेखक विकास सुवेदीले उत्कृष्ट पटकथा र निर्देशक दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । 

उक्त अवसरमा उत्कृष्ट फिचर फिल्म छायाकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्‍यो । छायाकार चक्रबहादुर महर्जनले उक्त अवार्ड हात पारे ।

IMG_6027

उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्‍यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । 

उत्कृष्ट भाषिक फिल्म अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’, उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड अभिनेत्री ‘परिवर्तन’बाट सरिता भारती, उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गर्दा उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो ।

सोही अवसरमा ‘परिवर्तन’बाट प्रवण भुसाल, ‘चरित्र’बाट श्रोता आचार्यले समेत अवार्ड पाएका थिए ।

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरी, निर्देशक लक्ष्मण सुवेदी, अभिनेता उत्तम केसी, निर्माता संघका कोषाध्यक्ष ज्योति राई लगायतले अवार्ड प्रदान गरेका थिए । 

महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात् अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए ।

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मी निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरियो । त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ पनि दिइएको थियो ।

शनिबार नै निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना भयो । अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरूसँग चलचित्रको बारे भलाकुसारी समेत गरेका थिए ।

तीन दर्जन बढी फिल्मकर्मी महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुगेका थिए । ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो । गाउँठाउँमा बनेका फिल्महरु गाउँमै बसेर हेर्न पाउँदा स्थानीयहरू हर्षित देखिन्थे । आयोजक संस्थाका अध्यक्ष सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप