शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
चर्च ब्वाइजको सफलता

चर्च ब्वाइजका अध्यक्ष भन्छन् : ‘हामी त छैटौँ स्थानसम्म रहेर लिग टुङ्ग्याउन चाहन्थ्यौँ’

आइतबार, २८ जेठ २०८०, १७ : २७
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । एकातिर पुराना र स्थापित क्लबहरू थिए । आठ पटक उपाधि जितेको मनाङ मर्स्याङ्दी क्लब, पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लब अनि, चार पटक उपाधि चुमिसकेका न्यु रोड टिम (एनआरटी) र थ्रिस्टार क्लब ।

अर्कोतिर, भर्खरैमात्र ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिएको क्लब । प्रसङ्ग हो, चर्च ब्वाइज युनाइटेड क्लबको । १४ वर्षअघि स्थापना भएको ललितपुरको यो क्लबले सुरुमा स्थानीय प्रतियोगिताहरू खेल्थ्यो । स्थानीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि सन् २०१९ मा चर्च ब्वाइज क्लब ‘सी’ डिभिजन लिगमा प्रमोसन भएको थियो ।

 त्यसपछि चर्च ब्वाइज सन् २०२१ को ‘सी’ डिभिजन लिगमा पहिलो हुँदै ‘बी’ डिभिजनमा उक्लिएको थियो । त्यसलगत्तै सन् २०२२ मा भएको ‘बी’ डिभिजन लिगमा पनि च्याम्पियन बन्दै चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगको यात्रा तय गरेको थियो ।

 यसरी एकपछि अर्को सफलता हात पार्दै गएको चर्च ब्वाइजले पहिलो पटक देशकै सबैभन्दा ठुलो ‘ए’ डिभिजन लिग खेल्ने अवसर पाएको थियो । त्यसैले पनि थुप्रै प्रभावशाली क्लबहरूको बाहुल्य रहेको ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइजले चमत्कार गर्ला भनेर कसैले सोचेको थिएन ।

 विश्व खेलकुद भनेकै पटकपटक चमत्कार भइरहने थलो हो । आखिर यो सिजनको ‘ए’ डिभिजन लिगमा पनि त्यस्तै चमत्कार भयो । धेरैको अनुमान विपरीत नेपाली फुटबलका स्थापित क्लबहरूलाई पछि पार्दै चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगको उपाधि उचालेरै छाड्यो ।

‘हाम्रो लागि यो निकै ठुलो सफलता हो । पहिलो सहभागितामै सी डिभिजन हुँदै ए डिभिजनसम्मको यात्रा तय गरेर देशकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि उचाल्नु सानो उपलब्धि होइन,’ चर्च ब्वाइज क्लबका अध्यक्ष रुवेन राई भन्छन् ।

Church Boys (1)

 सुरुमा त चर्च ब्वाइजका पदाधिकारीलाई नै उपाधि जितिन्छ भन्ने लागेको थिएन रे ! ‘सुरुमा प्रमुख प्रशिक्षकका कारणले पनि केही समस्या भयो । मैदानमा हाम्रो प्रदर्शन पनि खासै गतिलो रहेन,’ राई भन्छन्, ‘त्यसैले हामीले यो सिजनको लिग तालिकाको छैटौँ स्थानसम्म रहेर टुङ्ग्याउने योजना बनाएका थियौँ ।’
 
यो सिजनको लिग सुरु हुँदा चर्च ब्वाइजका प्रमुख प्रशिक्षक थिए, प्रदीप हुमागाईं । उनले सुरुको छैटौँ चरणको खेलसम्म चर्च ब्वाइजको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरे । त्यसपछि एकाएक उनको ‘वर्क परमिट’ (श्रम स्वीकृति) को विषय उठ्यो ।
 
हुमागाईं नेपाली मूलका अमेरिकी नागारिक भएकाले चर्च ब्वाइजको प्रशिक्षक बन्न उनले श्रम स्वीकृति लिनुपर्ने परिस्थिति सृजना भयो । तर, उनले श्रम स्वीकृति पाउन सकेनन् । त्यसपछि उनले चर्च ब्वाइजको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडे । उनले सामाजिक सञ्जालमार्फत आफूले चर्च ब्वाइज क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका थिए ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने समयमा क्लबको सम्पूर्ण ध्यान भने दक्ष प्रशिक्षकको खोजीमा केन्द्रित भएको थियो । अन्ततः क्लबको त्यो खोजी टुंगियो, बालगोपाल महर्जनमा पुगेर ।

त्यतिबेला उनले भनेका थिए, ‘नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च ब्वाइज क्लब छोडेको जानकारी गराउन चाहन्छु । क्लब, खेलाडी र फुटबलसँग नेपाली खेल मैदानमासँगै जोडिन नपाउँदा खल्लो अनुभूति भए पनि मेरो मन,मस्तिष्क र हृदयभरि नेपाली फुटबलको उज्ज्वल भविष्य र सफलता सधैँ रहिरहेको र रहिरहने छ ।’
 
हुमागाईंले छाडेपछि चर्च ब्वाइज झनै अप्ठ्यारोमा परेको थियो । त्यसको प्रभाव मैदानमा पनि देखिन थालेको थियो । ‘श्रम स्वीकृति सम्बन्धी विवादका कारण प्रदीप हुमागाईंले क्लब छाडेपछि हामी अप्ठ्यारोमा पर्‍यौँ । हाम्रो प्रदर्शन पनि खस्किएको थियो,’ अध्यक्ष राई भन्छन्, ‘हामी नयाँ प्रशिक्षकको खोजीमा लाग्यौँ । हाम्रा लागि त्यो सहज पनि थिएन । हाम्रो क्लबमा चार÷पाँचजना राष्ट्रिय टोलीका खेलाडी पनि भएकाले उनीहरूलाई समेत कन्ट्रोल गर्न सक्ने प्रशिक्षक आवश्यक थियो ।’
 
लिगमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने समयमा क्लबको सम्पूर्ण ध्यान भने दक्ष प्रशिक्षकको खोजीमा केन्द्रित भएको थियो । अन्ततः क्लबको त्यो खोजी टुंगियो, बालगोपाल महर्जनमा पुगेर । महर्जन नेपाली फुटबलमा स्थापित नाम पनि थियो । एकातिर, उनी राष्ट्रिय टोलीका पूर्वखेलाडी थिए भने अर्कोतिर उनले खेलाडीका रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिसमेत चुमिसकेका थिए ।
 
महर्जनले खेलाडीका रूपमा थ्रिस्टार क्लबबाट ‘ए’ डिभिजन लिग जितेका थिए । त्यसैले चर्च ब्वाइजले महर्जनलाई नै प्रमुख प्रशिक्षक बनाउने निर्णय लियो । चर्च ब्वाइजका लागि त्यो निर्णय सही पनि साबित भयो । महर्जनको आगमनसँगै खेलाडीहरूमा पनि नयाँ उत्साह थपियो । क्लबको प्रदर्शनमा पनि क्रमशः सुधार आउँदै गयो ।
 
त्यसपछि सुरु भयो, चर्च ब्वाइजको नयाँ अध्याय लेखनको यात्रा । ‘बालगोपाल महर्जन प्रमुख प्रशिक्षक बनेपछि बिस्तारै हाम्रो प्रदर्शनमा सुधार आउँदै गयो । त्यै पनि हामीले लिग नै जित्छौँ भन्ने लागेको थिएन । अझै पनि हाम्रो लक्ष्य भनेको छैटौँ स्थानमा रहेर लिग टुङ्ग्याउनु नै थियो,’ क्लबका अध्यक्ष राई भन्छन्, ‘जब हामीले जाउलाखेल युथ क्लबलाई हरायौँ त्यसपछि मात्र हाम्रो मनोबल उच्च भयो र लिग जित्ने सपना देख्न थाल्यौँ ।’

अध्यक्ष राईले ‘ए’ डिभिजन लिगको उपाधि जित्न क्लबले दुई करोड २० लाख रुपैयाँ खर्च गरेको जानकारी दिए ।

 
दोस्रो चरणको लिगमा चर्च ब्वाइजले जाउलाखेल युथ क्लबलाई ३—० गोलले हराएको थियो । त्यसअघि पहिलो चरणको लिगमा जाउलाखेलले चर्च ब्वाइजलाई १—० गोलले हराएको थियो । चर्च ब्वाइजका अध्यक्ष राई अन्य टोलीको प्रदर्शनले पनि आफूहरूलाई लिग जित्न सहज भएको दाबी गर्छन् । ‘हामीले त राम्रो खेल्यौँ नै, सँगसँगै हामीलाई भाग्यले पनि साथ दियो । अन्य टोलीको प्रदर्शनले पनि हामीलाई उपाधि जित्न सजिलो बनायो । हामीले बराबरी खेल्दा वा हार्दा हाम्रा प्रतिद्वन्द्वी क्लबहरूको प्रदर्शन पनि त्यस्तै रह्यो । हामी हार्दा अन्य टोलीले जितेको भए हाम्रा लागि उपाधि यात्रा यति सहज हुने थिएन,’ उनको कथन छ ।
 
अध्यक्ष राईले ‘ए’ डिभिजन लिगको उपाधि जित्न क्लबले दुई करोड २० लाख रुपैयाँ खर्च गरेको जानकारी दिए । ‘हामीले यो लिगका लागि दुई करोड २० लाख रुपैयाँ लगानी गर्‍यौँ । अझै केही रकम भने उठ्न बाँकी नै छ,’ उनले भने । उनी विदेशी खेलाडी भित्राउँदा पनि क्लबले गहिरो अध्ययन गरेको दाबी गरे । ‘हामीले युट्युबमा विदेशी खेलाडीहरूको खेल हेर्‍यौँ । उनीहरूको प्रदर्शनको विश्लेषण गर्‍यौँ । त्यसपछि मात्र विदेशी खेलाडीलाई भित्राएका हौँ,’ उनले भने ।
 
यस पटक एन्फाले ‘ए’ डिभिजन लिगमा सहभागी क्लबहरूलाई पाँचजना विदेशी खेलाडी दर्ता गर्न सक्ने अनुमति दिएको थियो । तीनजना विदेशी खेलाडी विश्वका जुनसुकै देशको भए पनि हुन्थ्यो । बाँकी दुई विदेशी खेलाडीमा भने एकजना एसियाली क्षेत्रको र अर्को एकजना दक्षिण एसियाली राष्ट्रको हुनुपर्ने प्रावधान राखिएको थियो ।


 
चर्च ब्वाइजले पनि यसपटक पाँचजना विदेशी खेलाडी दर्ता गरेको थियो । चर्च ब्वाइजले गोलरक्षकमा क्यामरुनका यभेस प्रिसोलाई आबद्ध गरेको थियो । उनी ‘ए’ डिभिजन लिगकै सर्वोत्कृष्ट गोलरक्षक पनि घोषित भए । मिडफिल्डरमा घानाका जोसेफ बेम्पाहलाई आबद्ध गरेको चर्च ब्वाइजले क्यामरुनका फ्राँकलिन कुएट टालालाई पनि भित्राएको थियो । बाँकी दुई विदेशी खेलाडीमा चर्च ब्वाइजले भारतका रञ्जित पान्ड्रे र गगनदिप सिंहको नाम दर्ता गराएको थियो ।
 
चर्च ब्वाइजको टिम अनन्त तामाङको कप्तानीमा ‘ए’ डिभिजन लिग यात्रामा होमिएको थियो । क्लबलाई लिगको उपाधिसम्म डोर्‍याउन कप्तान तामाङको प्रदर्शन र भूमिका पनि महत्त्वपूर्ण रह्यो । त्यसैले तामाङ ‘ए’ डिभिजन लिगकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले ‘प्लेयर अफ दि सिजन’ पुरस्कार पाए ।
 
उपाधिसम्मको यात्रा तय गर्दा चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोड्यो । चर्च ब्वाइजले १३ खेलमा जित, नौ खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकाल्यो । चर्च ब्वाइजले विपक्षीको पोष्टमा ३४ गोल गर्‍यो भने १५ गोल खायो ।
 
चर्च ब्वाइजले तालिकाको दोस्रो स्थानमा आसिन मच्छिन्द्र क्लबलाई तीन अंकले पछि पारेको थियो । मच्छिन्द्रले भने २६ खेलबाट ४५ अंक जोड्यो । मच्छिन्द्रले १२ खेलमा जित, नौ खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकाल्यो । मच्छिन्द्रले विपक्षीको पोष्टमा ४१ गोल गर्‍यो भने २६ गोल खायो ।
 
‘बी’ डिभिजनबाट माथिल्लो डिभिजनमा उक्लिएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि चुमेर चर्च ब्वाइजले आफूलाई कीर्तिमानी क्लबका रूपमा पनि उभ्यायो । चर्च ब्वाइजले नेपालको स्थापित क्लब मनाङ मर्स्याङ्दीको कीर्तिमानसँग बराबरी गरेको हो ।
 
यसअघि मनाङ मर्स्याङ्दीले मात्र ‘बी’बाट माथिल्लो सिजनमा उक्लिएकै वर्ष ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सकेको थियो । मनाङ मर्स्याङ्दीले यस्तो सफलता २०४३ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेर बनाएको थियो ।
 
‘सी डिभिजन हुँदै ए डिभिजन उपाधिसम्मको यात्राका लागि हामीले निकै ठुलो सङ्घर्ष गर्नु पर्‍यो । त्यसैले हाम्रा लागि यो निकै ठुलो उपलब्धि हो । यसका लागि खेलाडी, प्रशिक्षक, क्लबका पदाधिकारी र हामीलाई हृदयदेखि माया गर्ने समर्थकहरू सबै यो सफलताको हकदार हुनुहुन्छ । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ क्लबका अध्यक्ष राई भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप