आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णु क्षेत्रीका सपना र अनुकरणीय पदचाप

सोमबार, २९ जेठ २०८०, १४ : १८
सोमबार, २९ जेठ २०८०

पहिलो पटक सन् २०१० मा वैदेशिक रोजगारीका लागि कोरिया पुग्दा अहिले जस्तो धेरै नेपाली थिएनन् । कम्पनीका साथीहरूको सहयोगमा एक्लै बाहिर घुम्न सक्ने भएपछि मैले समान आस्थाका साथीहरू खोज्न थालेँ । 

साथीहरू खोज्दै गर्दा ‘नेपाली जन अधिकार मञ्च’ नामको सङ्गठनमा थुप्रै सङ्गठित साथीहरू भेटेँ । त्यसपछि त्यो ठाउँमा मलाई एक्लो नभएको आभास भयो । 

विष्णु क्षेत्रीले त्यही जन अधिकार मञ्चको नेतृत्व गरेका थिए । उनको नेतृत्व गर्न सक्ने कला, क्षमता र साथीहरूसँग  प्रस्तुत हुने भद्र व्यवहार देखेर ममा अगाध विश्वास र भरोसा जाग्यो । कोरिया बसाइका अवधिमा उनले सङ्गठनभित्र र बाहिर आफ्नो जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गरेका थिए । 

कोरिया बसाइ अवधि सकिएपछि सहकर्मी साथीहरूलाई जिम्मेवारी छोड्दै विष्णु दाइ स्वदेश फर्किए । स्वदेश फर्किएर पनि उनले जनताको सेवा गर्ने सामाजिक जिम्मेवारी कहिल्यै छोडेनन् । लगत्तै गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय निर्वाचन हुने भएपछि उनले पनि आफूलाई जनता माझ परीक्षणका लागि प्रस्तुत गरे । पार्टीले निर्वाचन लड्न टिकट प्रदान गर्‍यो । जनताले पनि ‘हाम्रोलाई होइन राम्रोलाई’ भनेर पार्टी, समुदाय वा समूहभन्दा माथि उठेर विश्वासका साथ उनलाई मतदान गरे । 

सधैँको इमानदारिता निर्वाचनमा पनि कामयावी देखियो । उनी स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–५ को अध्यक्ष पदमा अत्यधिक मतका साथ निर्वाचित भए । 

त्यसपछि उनी सधैँ जनताका दुःखपीडाको साथी र विकास निर्माणको सारथि बनिरहे । आफूले थालनी गरेका काम पूरा गर्न उनले पदको जरुरी ठानेनन् । पछिल्लो समय पालिका अध्यक्षको पदावधि सकिएपछि पनि उनी निरन्तर जनताका काममा खटिरहेका थिए ।   

जनताको काम गर्दागर्दै २०८० जेठ २६ गते शुक्रबार निर्माण स्थलमा डोजर अनियन्त्रित भएर ठक्कर दिँदा ५५ वर्षको उमेरमा उनको ज्यान गयो । 

परदेशको बसाइ होस् या स्वदेशको खटाइ जहाँ हुँदा पनि सधैँ आफ्नो माटोप्रति आगाध माया बोकेका एक कर्मठ कम्युनिस्ट योद्धाको निधनबाट सम्बन्धित पार्टीले सामान्य कार्यकर्ता मात्र गुमाएन एक अथक, अटल र जनप्रिय नेतृत्वसमेत गुमाएको छ । 

उहाँको निधनले म व्यक्तिगत रूपमा निकै स्तब्ध भएको छु । सिङ्गो नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले गहिरो दुःख व्यक्त गरेको छ । उनको निधनमा रिटर्नी सेन्टर नेपालले शोक प्रस्ताव पारित गरेको छ । उनको भौतिक अभाव अब कहिल्यै पूरा हुने छैन । तर उहाँका असल विचार र कुशल व्यवहारको अनुसरण गरेर उनीप्रति उच्च सम्मान गर्नु हामी सबैको कर्तव्य हुने छ । उनका सपना र पदचाप आगामी पुस्तका लागि मार्गदर्शन बन्ने छन् । 

नेपाल आउनेबित्तिकै मलाई सम्पर्क गर है भाइ, जसरी पनि भेट्नुपर्छ ।  तिम्रो प्रेम र जिम्मेवारीले ओतप्रोत यी वाक्यांश अब मेरा लागि दुःखद स्मृति मात्र बनेर बस्ने भए । यतिबेला भरोसाको एक मात्र आधार गुमाएको विक्षिप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । उनको सम्मानमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ! हार्दिक श्रद्धा सुमन विष्णु दाइ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप