मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम फेरिँदा महोत्तरीमा केही राहत

सोमबार, २९ जेठ २०८०, १५ : २२
सोमबार, २९ जेठ २०८०

महोत्तरी । चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको यहाँका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो । 

महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग वारिपारि क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ । “खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ”, बर्दिबास–२ बारनचौडीका उमेश आचार्यले भने, “पानी परेर चिसो भएपछि हिँडडुल गर्न सहज भएको छ ।” उनका अनुसार मौसममा सामान्य फेरबदल हुँदा पनि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन् ।

जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानीपर्ने आस जागेको यहाँका स्थानीय बताउँछन् । जेठ मध्ययता हिजो अपराह्नसम्म केही घटबढ हुँदै तापमान ४४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । 

आज बिहान महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहामा जडित मौसम सूचना केन्द्र (स्टेसन) ले तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल देखाएका र पानी पर्नसक्ने सङ्केत दिइरहेका दैनिक मौसम सूचना हेरी रहनुभएका बर्दिबास–६ का नीलबहादुर लुम्रेले बताए । “मैले निरन्तर मौसम स्टेसनका सूचना हेर्दै छु, आइतबार साँझयता तापमान घटेको र पानी पर्ने सम्भावना देखाइएको छ” उनले भने, “यसले अब केही त्राण (राहत) पाइन्छ कि भन्ने आस जागेको छ ।” 

जिल्लामा लामो समयदेखि घामको राप बढ्दै गएर पानी नपर्दा पानीका मुहान सुकेर खानेपानीको हाहाकार बढ्दै गएको छ । मौसममा फेरबदल आए पानी पर्ने र मुहान रसाउने सर्वसाधारणले आशा गरेका छन् । मौसम तथा जलवायु विज्ञ विराट पन्तले अझै राम्ररी पानी पर्ने सम्भावना नरहेको बताए । जलवायु परिवर्तनको असरले मौसमको पूर्वानुमान गरिने परम्परागत मान्यता खण्डित भएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यरत संस्था रुपान्तरणमा जलवायु विज्ञ रहेका पन्तले विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका असरभित्र आफूलाई अनुकूल बनाउँदै लैजानुपर्ने बताए । “जलवायु परिवर्तनका विश्वव्यापी असर छन्, हामीले यी असरभित्रै खेतीपाती र अन्य व्यवसाय अनुकूल हुनेगरी ढाल्न सक्नुपर्छ” उनले भने, “यसका लागि विपद् कम गर्न नदी प्रणाली व्यवस्थापन गर्ने, वृक्षारोपण गर्ने र अनुकूलन खेतीपाती अपनाउनुपर्छ ।”

लामो समयसम्म लागेको खडेरीले चरनक्षेत्रका सिमसार, भूल (भूल्के जरुवा पानीका मुहान) र चरन पानीघाटमा पानी सुकेपछि पशुवस्तु पालनमा पनि अप्ठ्यारो थपिएको छ । खडेरीका कारण बालीनाली ओइल्याउने, सुक्ने र मर्ने क्रम बढ्दो छ । खडेरी उखुबाली डढ्न थालेपछि उखु किसान चिन्तित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप