मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मेस्सी नमानेपछि नेयमार फकाउँदै अल–हिलाल

सोमबार, २९ जेठ २०८०, २१ : ३३
सोमबार, २९ जेठ २०८०

पेरिस । लियोनेल मेस्सीलाई अनुबन्ध गर्न असफल भएपछि साउदी अरबको अल–हिलालले अब पेरिस सेन्ट जर्मेनका अर्का सुपरस्टार नेयमारलाई भित्र्याउने प्रयास सुरु गरेको छ । मेस्सी अल–हिलाल छाडेर एमएलएस क्लब इन्टर मियामीसँग अनुबन्ध भइसकेका छन् । क्लबले उनको विकल्पमा नेयमारलाई भित्र्याउने तयारी सुरु गरेको हो ।

सीबीएस स्पोर्टको रिपोर्टअनुसार यतिबेला अल–हिलालका प्रतिनिधिहरू पेरिसमा नै रहेका छन् । उनीहरू विश्वकै सबैभन्दा महँगो खेलाडीको हस्ताक्षर सुरक्षित गर्ने प्रयासमा छन् । यसका लागि साउदी क्लबले नेयमारका लागि ठुलो रकम अफर गर्ने तयारी गरिरहेको छ । यस्तोमा बल ३१ वर्षीय ब्राजिलियन खेलाडीको कोर्टमा रहेको छ । अब उनले आफ्नो करियर युरोपमा नै अन्त्य गर्ने वा अन्य ठाउँमा जाने निर्णय गर्छन्, त्यो हेर्न बाँकी छ । 

अल हिलालको मालिक पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) ले मेस्सीलाई अल–हिलालमा भित्र्याएर अल–नासरमा रहेका क्रिस्टियानो रोनाल्डोसँगको ‘प्रतिस्पर्धा’ स्थापित गर्न चाहन्थ्यो । मेस्सी नआएपछि क्लबले अर्को हाइप्रोफाइल खेलाडी भित्र्याउन हरसम्भव प्रयास गरिरहेको छ ।

सीबीएसको रिपोर्टमा अल–हिलालका प्रतिनिधिहरू शुक्रबार नै पेरिस पुगेका छन् । समाचारमा क्लबले नेयमारलाई रोनाल्डोले पाएको वार्षिक २० करोड युरो बराबरको रकम दिन तयार रहेको बताइएको छ । १८ पटकको साउदी लिग विजेता टोलीले ट्रान्सफर रकमबापत ४।५ करोड युरोसम्म फ्रेन्च क्लबलाई दिन तयार रहेको बताइएको छ । यद्यपि, यस विषयमा दुई क्लबबीच औपचारिक छलफल भने सुरु भएको छैन ।

पीएसजी र नेयमारबीचको करार २०२५ मा सकिँदैछ । क्लब नेयरमारका लागि आउने कुनै पनि अफरका लागि खुसी हुनेछ । किनभने नेयमार गत वर्षदेखि नै बिक्रीका लागि मार्केटमा छन् । सन् २०१७ मा विश्व कीर्तिमानी २२।२ करोड युरोमा बार्सिलोनाबाट पेरिस आएयता नेयमार चोटका कारण संघर्षरत छन् । पेरिसले नेयमारलाई युरोपका अन्य क्लबलाई अफर गरे पनि उनीहरूले खासै रुचि देखाएका छैनन् ।

यता आगामी सिजनका लागि साउदी प्रो लिगमा युरोपका शीर्ष खेलाडीहरू भित्र्याउने होडबाजी चलेको छ । साबिक विजेता अल–इतिहादले करिम बेन्जेमालाई अनुबन्ध गरिसकेको छ भने एनगोलो कान्टे, विल्फ्रेड जाहा, इल्के गुन्डोगान, रियाद महारेज, एलेक्सिस सान्चेज, इयागो आस्पास र पीएरे एमरिक आउबामियाङलगायत पनि साउदी क्लबहरुमा जाने चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप