शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानकाे तयारी

नेपालमा चीनको सुरक्षा चासो
मङ्गलबार, ३० जेठ २०८०, ०८ : ३१
मङ्गलबार, ३० जेठ २०८०

चीन । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जन कांग्रेसका स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस)का अध्यक्ष चाउ ल चीले नेपालमा हुने चीन विरोधी गतिविधि र सुरक्षाको विषयमा चासो राखेका छन् ।

चीन नेपालको समृद्धिका लागि कुनै पनि बेला सहयोग गर्न तयार रहेको भन्दै नेपालमा सुरक्षाका विषयमा पनि  चासो राखेका हुन् । ग्रेट हल अफ पिपुल्समा सोमबार साँझ चीन भ्रमणमा आएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा अध्यक्ष चाउ ल चीसँग भेटमा दुई नेताबीच दुई देशका सम्बन्धबारे कुराकानी भएको थियो ।    

भेटका बारेमा चिनियाँ समाचार एजेन्सी सिन्हका अनुसार अध्यक्ष तिमिल्सिना भेटमा नेपाल एक चीन नीतिप्रति दृढताका साथ प्रतिबद्ध रहेकाले नेपाली भूमिमा कुनै पनि शक्तिबाट चीन विरोधी गतिविधि नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन सरकारको विकास योजना विआरआई परियोजनाका बारेमा नेपालमा आगामी दिनका कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे छलफल भएको छ । 

भेटमा चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङको सन् २०१९ मा भएको नेपाल भ्रमणको स्मरण गर्दै जन कंग्रेसका अध्यक्ष चाउ ल चीले चीन नेपालको विकास साझेदारीमा सधैँ सहयोग गर्न तयार गरेको बताएका थिए ।  

राजनीतिक विषयमा खासै कुरा भएन, विकासमा पक्षमा चीनले नेपालसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल बढी छलफल भयो अध्यक्ष तिमिल्सिनाले रातोपाटीसँग भने, चीन र नेपालबीच कसरी व्यापार बढाउन सकिन्छ भन्ने बारेमा अलि बढी  कुरा गर्‍यौँ । 

नेपालबाट कृषिजन्य उत्पादन आयात, निर्यात बढाउने बारेमा वार्ता केन्द्रित भयो अध्यक्ष तिमिल्सिनाले भने, चीन नेपालसँग व्यापार व्यवसाय बृद्धि गर्न अलि बढी चासो दिएको छ । नेपालबाट चिया, जडीबुटी जस्ता उत्पादनहरू चीनमा निर्यात गर्ने विषयमा भन्सार शुल्कका बारेमा छलफल भएको  छ ।  

कोभिड महामारीका बीचमा नेपालबीच बन्द भएको हवाईमार्ग खुल्ला गर्ने, दुई देशबीच राजनीतिक, प्रशासनिक र शैक्षिक भ्रमणलाई समेत प्राथमिकता दिने विषयमा छलफल भएको थियो । 

चीनले अहिले २ वटा क्षेत्रबाट हवाई मार्ग सञ्चालन गरेको छ । क्वाङतोङ प्रान्तको क्वाङ्चौंदेखि गत ९ जुन देखि दैनिक उडान सुरु गरेको छ । त्यस्तै सुछवान प्रान्तको छेन्दुदेखि काठमाडौं सुचवान र एअर चाइनाले सातामा तीन उडान गर्ने गरेको छ । दैनिक उडान सुरु भएपछि नेपाल चीन यात्राका लागि अलि सहज भएको छ ।  

छेन्दुदेखि काठमाडौंसम्मको दैनिक उडान सुरु गर्ने विषयमा पनि चीनका तर्फबाट पहल गर्न अध्यक्ष तिमिल्सिनाले चिनियाँ पक्षलाई अनुरोध गरेका थिए । चिनियाँ पक्षले जुन २१ देखि छेन्दुबाट हालै निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामा सीधा उडान हुने तयारी भएको जानकारी दिएका थिए । 

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा गत शनिबार नेपालबाट चीन आएको टोलीमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जङ्गबहादुर राणा, प्रदीप यादव, तथा राष्ट्रियसभा सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुग र हरिराम चौधरी रहेका छन् । टोलीमा अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी रहेका छन्।

प्रतिनिधिमण्डलले आज चिनियाँ जन राजनीतिक  परामर्शदातृका (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष तिमिल्सिना टोली मंगलबार बेङजिङबाट चीनको औद्योगिक सहर संघाईमा जानेछन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आगामी जुन १६ र १७ मा हुने पाचौं चिनियाँ तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा प्रमुख अतिथिका लागि चीनले अध्यक्ष तिमिल्सनालाई निमन्त्ररणा गरेको थियो । सो कार्यक्रममा सहभागी हुनु अघि अध्यक्ष तिमिल्सिनाको टोली बेइजिङ र संघाईको भ्रमणमा आएको हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप