मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

वित्तीय संघीयता सुदृढीकरण सुधारको कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

बिहीबार, ३२ जेठ २०८०, १७ : ५२
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । नेपालले वित्तीय संघीयताको सुदृढीकरण सुधार कार्यलाई निरन्तरता दिन विश्व बैंकले सुझाव दिएको छ । आज सार्वजनिक भएको वार्षिक नेपाल वित्तीय संघीयता प्रतिवेदनमार्फत विश्व बैंकले सुधार कार्यलाई निरन्तरता दिन सुझाव दिएको हो । ‘क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमता र सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ ।

‘यस प्रतिवेदनले नेपालमा वित्तीय सङ्घीयताका उपलब्धिहरूमा सुधार ल्याउन गर्नुपर्ने क्रियाकलापहरू, तिनीहरूको अनुक्रम, समय सीमा र कार्यान्वयनका लागि जिम्मेवार निकायहरूसम्बन्धी स्पष्ट विवरण सहितको वित्तीय संघीयता मार्गचित्र तयार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ,’ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले भने ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश तथा स्थानीय सरकारहरूले संघीय रकमको झन्डै ३६.७ प्रतिशत रकम अन्तर सरकारी वित्त हस्तान्तरण मार्फत प्राप्त गरे । उक्त रकम प्रदेश तथा स्थानीय सरकारहरूको कुल आम्दानीको ६४.८ प्रतिशत हुन्छ । पछिल्ला पाँच वर्षमा स्थानीय सरकारहरूलाई गएको अनुदानमध्ये सबैभन्दा बढी र तुलनात्मक रूपमा उच्च वृद्धि सशर्त अनुदानको रहेको छ ।

प्रतिवेदन अनुसार, ठुलो मात्रामा छुट्टाइएको सशर्त अनुदान निर्धारित कामका लागि मात्र खर्च गर्न पाइने भएकाले प्रदेश तथा स्थानीय सरकारको खर्च गर्ने क्षमता वृद्धि भएसँगै क्रमशः सशर्त अनुदान हिस्सा घटाउँदै समपूरक लगायत अन्य अनुदानको हिस्सा बढाउँदै जान आवश्यक देखिएको छ ।

‘विश्व बैङ्कद्वारा तयार यस प्रतिवेदनले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ । संघीय सरकारद्वारा विगतमा सञ्चालित आयोजना पछिल्लो चरणमा प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भई कार्यान्वयन भइरहेको र स्थानीय सरकार मातहत कार्यरत शिक्षक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीहरूको तलब भत्ता हाल सशर्त अनुदान मार्फत भुक्तानी हुने अल्पकालीन व्यवस्थाले शुरुका वर्षहरूमा सशर्त अनुदानको हिस्सा केही बढी देखिएको छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भने ।

‘नेपाल वित्तीय संघीयता अध्ययन’ (नेपाल फिस्कल फेडरलिज्म अपडेट) प्रतिवेदनले नेपालमा वित्तीय संघीयता सुदृढीकरणका लागि विगत ५ वर्षमा गरिएका सुधारका पहलहरूको अवस्था उजागर गर्दै वित्तीय सङ्घीयताका उपलब्धिहरूको अभिवृद्धिमा मद्दत गर्न आवश्यक पर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरेको छ । प्रतिवेदनले यस क्षेत्रमा भएका सुधारको मार्गदर्शन तथा अनुगमनका लागि वित्तीय संघीयताको मार्गचित्र तयार गर्न, अन्तर सरकारी वित्त हस्तान्तरण प्रणालीलाई अझ बढी सुदृढ बनाउन र प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन सम्बन्धी एकीकृत डाटाबेस स्थापना गर्न सुझाव दिएको छ ।

साथै,यसले तीनै तहका सरकारमा रहेका समवर्ती र साझा अधिकारहरूका बारेमा स्पष्टताका लागि कानुनी व्यवस्थामा संशोधन एवं परिमार्जन गर्न, सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी कार्यसम्पादनका लागि प्रदेश तथा स्थानीय सरकारका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न र बजेटको थप विश्वसनीयता र प्रदेश तथा स्थानीय सरकारहरूको सेवा प्रवाहमा सुधार ल्याउन यससम्बन्धी प्रणालीहरूलाई सबल तुल्याउन समेत सुझाव दिएको छ ।

‘वित्तीय संघीयता प्रदेश र स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्त्वपूर्ण आधार हो । यसका निम्ति संघीयताको मर्मअनुरूप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक छ,’ मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जेर्भीसले भने, ‘विश्व बैंक नेपालमा वित्तीय संघीयतालाई थप सुदृढ बनाउन अन्य विकास साझेदारहरूसँगको निकट सहकार्यमा नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप