आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
सर्वोच्चमा नयाँ नेतृत्व

हरिकृष्ण कार्की ५० दिनका लागि प्रधानन्यायाधीश, इजलासमा १७ दिनमात्रै रहने

शुक्रबार, ०१ असार २०८०, ११ : ०९
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेपालको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् । असार १ गते (आज) संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा नियुक्तिका लागि उनको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४० औं दिनमा कार्की प्रधानन्यायाधीश बन्न सफल भए ।

कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बन्दैछन् । कार्कीले प्रधानन्यायाधीशका रुपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ । शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।

कार्कीले असार १ गते (आज) प्रधानन्यायाधीशका रुपमा शपथ लिएमा उनको कार्यकाल जम्मा ५० दिन रहनेछ । प्रधानन्यायाधीशका रुपमा ५० दिन पदमा रहने भए पनि कार्कीले इजलासमा भने २० दिनमात्र बिताउन पाउनेछन् । २० दिनमा पनि ३ दिन शनिबारको बिदा परेको कारण इजलासमा बस्न उनीसँग १७ दिनको मात्र समय रहनेछ ।

अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेका कारण कार्कीले असार २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्ने छैनन् ।

कार्कीले गत वर्ष असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि उनको स्थानमा तत्कालीन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीशका रुपमा रहेका थिए । तर कार्कीको पनि ६५ वर्षे उमेर हदका कारण गत वर्ष असोज १५ गतेबाट अनिवार्य अवकाश भएपछि न्यायपालिकाको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्दै आएका हुन् । साढे ६ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि कार्की पूर्ण प्रधानन्यायाधीश बनेका हुन् ।

हालसम्मकै छोटो अवधिका लागि प्रधानन्यायाधीश बन्दै कार्की

कार्की हालसम्मका प्रधानन्यायाधीशमध्ये सबैभन्दा छोटो अवधि न्यायालयको नेतृत्वमा रहने भएका छन् । हालसम्म प्रधानन्यायाधीश बनेकाहरुमा सबैभन्दा लामो कार्यकाल नयनबहादुर खत्रीको थियो । खत्री ९ वर्ष ४ महिना १ दिन प्रधानन्यायाधीश बनेका थिए ।

२०३३ साल साउन २४ गतेदेखि प्रधानन्यायाधीश बनेका खत्री २०४२ मंसिर २५ गतेसम्म प्रधानन्यायाधीश रहेका हुन् । उनी मुलुकको छैटौं प्रधानन्यायाधीशका रुपमा आएका थिए ।

खत्रीपछि बढी समय प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेमा भगवतीप्रसाद सिंह छन् । उनले लगातार ६ वर्ष २ महिना २७ दिन प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । खत्री चौथो प्रधानन्यायाधीशका रुपमा २०२० साल चैत २७ गतेदेखि २०२७ असार २६ गतेसम्म न्यायालयको नेतृत्वमा रहे ।

तर दुई पटक प्रधानन्यायाधीश बनेका हरिप्रसाद प्रधानको सेवा अवधि जोड्ने हो भनेचाहिँ भगवतीप्रसाद सिंहको भन्दा पनि बढी हुन्छ । प्रधान २००८ साल साउन ७ गतेदेखि २०१३ जेठ ७ गतेसम्म ४ वर्ष १० महिना र २०१८ मंसिर २९ गतेदेखि २०२० मंसिर २० गतेसम्म २ वर्ष गरी कुल ६ वर्ष १० महिना प्रधानन्यायाधीशको जिम्मेवारीमा रहे । दिनमा गणना गर्ने हो भने प्रधानले २ हजार ४ सय ९८ दिन प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

हालसम्म बनेका प्रधानन्यायाधीशमध्ये सबैभन्दा छोटो समय भने अनुपराज शर्मा प्रधानन्यायाधीश बनेका छन् । शर्मा २०६६ मंसिर २८ गतेदेखि २०६६ चैत १३ गतेसम्म ३ महिना १५ दिन प्रधानन्यायाधीश बनेका थिए । दिनमा गणना गर्दा शर्माले १०७ दिन प्रधानन्यायाधीशका रुपमा सेवा गरेका थिए ।

त्यसैगरी अर्का न्यायाधीश ओम प्रकाश मिश्रले पनि ३ महिना २३ दिनमात्रै प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । शर्माले २०७५ भदौ २५ गतेदेखि २०७५ पुस १७ गतेसम्म ११५ दिनका लागि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।

इन्फोग्राफिक्समा हेर्नुहोस्, हालसम्मका कुन कुन प्रधानन्यायाधीशले कति दिन जिम्मेवारी सम्हाले–

sc1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप