सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

रायमाझी–खाणसहित १६ जनालाई थुनामा पठाउने अदालतको आदेश

शुक्रबार, ०१ असार २०८०, १८ : २०
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । 

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो । 

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने  आदेश भएको अदालतले जनाएको छ । यस्तै  टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो ।  कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् । 

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आएको हो । अदालतमा सरकारी वकिल तथा पीडित तर्फका कानुन व्यवसायीले कुल ३ दिन र प्रतिवादी तर्फका कानुन व्यवसायीले ८ दिन बहस गरेका थिए । 

मुद्दामा प्रतिवादीहरूका तर्फबाट १८ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरे । जाहेरवालाको तर्फबाट निजी कानुन व्यवसायी अधिवक्ता भद्र प्रसाद नेपाल, हरि प्रसाद कँडेल, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र राधिका चौलागाईंले बहस गरे । 

यसैगरी पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, जिल्ला न्यायाधिवक्ताहरु जनकप्रसाद घिमिरे, सिताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी र हिरालाल भोलनले बहस गरे ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, सुशील पन्त, शिवप्रसाद रिजाल, रमेश बडाल र बालकृष्ण न्यौपाने सहित १८ जनाले प्रतिरक्षा गरे । शरणार्थीको नाममा सङ्गठित रूपमा ठगी धन्दा चलाउनेहरूको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुमा प्राडा नृसिंहकुमार खत्री, रमनकुमार श्रेष्ठ, विनोद कार्की, बालकृष्ण ढकाल र प्रकाश केसी छन् ।

यस्तै वरिष्ठ अधिवक्ता देवेन्द्रबहादुर थापाले पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीको तर्फबाट प्रतिरक्षा गरे । रामशरण केसीको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, महादेव यादव, प्रेम बहादुर खड्का, हरिहर दाहाल, प्राडा नृसिंहकुमार खत्री, रमन श्रेष्ठ, सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे र खम्मबहादुर खातीले बहस गरे । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट वरिष्ठ अधिवक्ता शरद कोइरालाले प्रतिरक्षा गरे । 

यी हुन् थुनामा पठाउने आदेश भएका प्रतिवादी

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन

जो फरार छन् 

केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा ।

जो धरौटीमा रिहा भए

टंक गुरुङ, लक्ष्मी महर्जनविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी र एकीकृत  कसूरमा मुद्दा चलाइएको थियो । प्रतिवादीसँग २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ मागदाबी लिएर मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप