बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

लुम्बिनी प्रदेशबाट ४० अर्ब ४६ करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)

शुक्रबार, ०१ असार २०८०, १८ : ५३
शुक्रबार, ०१ असार २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार प्रस्तुत भएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश सञ्चित कोषबाट खर्च हुनेछ ।

सरकारले सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पुँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप ४ करोड बजेट छुट्याएको छ । 

सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगार दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम सरकारी, निजी, गैरसरकारी संस्था र विकास साझेदारसँगको सहकार्यमा मुख्यमन्त्री आर्थिक विकास कोष स्थापना गरी सञ्चालन गर्ने मन्त्री मास्कीले बताए । 

त्यस्तै, सरकारले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम पनि अघि सारेको छ । रोजगारी सिर्जना गर्न साना र मझौला उद्यमको विकास गर्न सरकारले २ करोड रकम विनियोजन गरेको छ ।

मन्त्री मास्कीले यसअघिको सरकारले ल्याएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिँदै १० करोड बजेट विनियोजन गरेका छन् । 

स्थानीय बाली संरक्षण कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न जिल्लाका लागि ६ करोड १८ लाख, पशुपालनका लागि ५ करोड बजेट विनियोजन गरेका छन् । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै मूल्य श्रृंखलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजना अघि सारेको छ । 

यस्तै, आगामी वर्षदेखि विद्युतको राष्ट्रिय प्रसारण लाइनको तल खाली रहेको जग्गा उपभोग गर्ने नीति अघि सारेको छ । त्यसका लागि सरकारले गैरकाष्ठजन्य उत्पादन गर्न २ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।  

यसैगरी, प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न१२ करोड रकम व्यवस्थापन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप