महिला उद्यमशीलता लागि कर्जा प्रवाह बढाउन माग
बुटवल । रुपन्देहीमा महिला उद्यमीहरुले उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन माग गरेका छन् । बैंकहरुले विपन्न कर्जा र महिला उद्यमशीलता शीर्षकको ऋणमा लक्षित वर्ग छुट्याउने गरेपनि आफुहरुले सहज रुपमा नपाएको गुनासो गरे ।
शनिबार साइन रेसुंगा डेभलपमेन्ट बैंक र सञ्चारिका समूह लुम्बिनीले एकल तथा द्धन्द्धपीडित उद्यमी महिलाहरुसँग बुटवलमा गरेको कार्यक्रममा उनीहरुले बैंक तथा वित्तिय संस्थालाई महिला उद्यमशीलता, साना तथा मझौला उद्योगमा १५, विपन्न वर्गमा ५, कृषिमा १५ र उर्जामा १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधानअनुसारको काम नभएको बताए । धेरै बैंकहरुले लक्ष्यअनुसार खर्च नगर्दा समस्यामा परेको महिला उद्यमीहरुले लुम्बिनी महिला उद्यमी संघकी अध्यक्ष रचना पन्थले बताइन्।
उद्यमी रिता सेनले महिलाभित्र पनि एकल, द्धन्द्धपीडित र सिमान्तकृत समूदायकालाई प्राथमिकतामा राखेर महिला उद्यमशीलता र विपन्न कर्जा दिन आग्रह गरिन् । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यमीहरु सेवाप्रवाहबाट वन्चित भएको बताए ।
चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ठूला र घरानिया उद्योगी व्यवसायीलाई मात्र कर्जा दिने परिपाटी रोक्न सके महिला उद्यमीहरु बैंकको पहुंचमा पुग्ने बताए । अर्थ विश्लेषक मनिकर कार्कीले सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउनु पर्ने बताए ।
साइन रेसुंगा बैंकका डेपुटी सिइयो लोकराज पनेरुले बैंक उद्यमीका सहयोगी भएकाले परियोजना जोखिममा पर्ने अवस्था नभए कर्जा प्रवाह नरोक्ने बताउँदै कोही उद्यमी हतोत्साही हुन नपर्ने बताए । राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्रराज सुवेदीले कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य गरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण