सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कांग्रेसको सहमतिमै समाजवादी मोर्चा बनेको हो, एमालेलाई पनि ढोका खुला छ’

पुरानो नेकपा ब्युँताउन म तयार छु, एमाले, माओवादी आउनोस् छलफल गरौँ : माधव नेपालसँगको अन्तरवार्ता
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको सहमतिमै चार पार्टीबीच समाजवादी मोर्चा बनेको दाबी गरेका छन् । समाजवादी मोर्चाका कारण कांग्रेस–एमाले मिल्ने आँकलन भइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने कांग्रेसको मूल नेतृत्व समाजवादी मोर्चाबारे प्रस्ट रहेको दाबी समेत गरे ।

‘नेपाली कांग्रेससँग हाम्रो सहमति भएको छ । मोर्चा बनाउने कुरामा कांग्रेसको कुनै विमति छैन, समझदारी कायम छ’, अध्यक्ष नेपालको भनाइ छ । प्रस्तुत छ सोमबार घोषणा भएको समाजवादी मोर्चाको उद्देश्य, लक्ष्य, मोर्चाको भविष्य र गठबन्धन सरकारबारे गरिएको कुराकानी 

समाजवादी मोर्चा किन आवश्यक पर्‍यो अहिले ?

जति धेरै शक्तिहरू एकताबद्ध भए त्यति राम्रो हुन्छ । जति धेरै विखण्डन भयो, अलगअलग पसल थापियो त्यति नराम्रो हुन्छ । सके पार्टी एकता नै गर्नु राम्रो । होइन भने साझा उद्देश्यका निम्ति साझा मान्यतामा उभिएकाहरू एकताबद्ध हुने कुरा सकारात्मक कुरा होइन र ?

एकीकृत समाजवादीले माओवाद नमान्ला, माओवादीले माओवाद नछाड्ला अनि मोर्चाभित्र सैद्धान्तिक, कार्यक्रमिक साझा विषय के कुरालाई मान्ने ?

पार्टीको सिद्धान्तमा हामी गइरहेका छैनौँ । हामी संविधानको रक्षा गर्ने कुरामा, आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्ने कुरामा । चाहे त्यो गणतन्त्र होस्, संघीयता होस्, संविधान,समावेशिता होस् या समाजवादी अर्थतन्त्र निर्माण गर्ने कुरा नै किन नहोस् । देशभक्त अडानको सन्दर्भमा नेपाल एउटा स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न र स्वाभिमानी राष्ट्र भन्ने मान्यतामा एक भएकाहरू मोर्चामा छौँ ।

यसको अर्थ संविधान, धर्मनिरपेक्षतामाथि खतरा देख्नुभएको हो ?

खतरा देखिनु परेन । किनभने अहिले हामीलाई पोजेटिभ एंगलबाट हेर्ने हो भने विकासको आवश्यकता छ । विकासको एजेन्डामा छलफल गर्न एउटा ठाउँमा उभियो भने सजिलो हुन्छ । सुशासनको आवश्यकता छ, सुशासनको मान्यतामा मिलेकाहरू एक ठाउँमा उभिनु राम्रो हुन्छ । त्यसैगरी समृद्धिको आवश्यकता छ, समाजमा भएका विकृति र विसङ्गतिको विरुद्धमा जुध्नुपर्ने आवश्यकता छ । शोषण उत्पीडन भेदभाव र सबै खालका बेथितिका विरुद्ध जुध्नुपर्ने आवश्यकता छ । सामाजिक, सांस्कृतिक, प्रशासनिक यी सबै बेथितिको विरुद्धमा जुध्नुपर्ने आवश्यकता छ । जुध्नुपर्छ भन्ने मान्यता बोक्नेहरू एकै ठाउँमा आउँदा त खुसी हुनुपर्ने हो ।

नेकपा एमालेका अध्यक्षको भनाइ सापटी लिने हो भने लिभिङ टुगेदरमै हुनुहुन्थ्यो किन मोर्चा बनाइरहनुपर्‍यो , सरकारमा त हुँदै हुनुहुन्छ एकजना विप्लवजीमात्र न बाहिरबाट आउनुभयो ?

उहाँ (केपी ओली) त कसैसँग नमिल्ने मान्छे । उहाँ आफ्नो पाराले चल्ने, अत्यन्तै एकलौटीकरण भएको मान्छे । उहाँमा सामूहिकता, साझापन र मिलेर जाने प्रवृत्ति र संस्कार छैन । त्यसकारण उहाँलाई यो नराम्रो लाग्नु स्वाभाविक हो । फेरि उहाँलाई यी मिले भने चुनौती दिन्छन् कि ! त्यसकारण मुकाबिला गर्न ल्याएको हो भनेर भनेका हुन् ।

डरको कुरा गरिहाल्नुभयो, कांग्रेसलाई धम्क्याउन र एमालेलाई तर्साउन मोर्चा बनाएको भनेर बाहिर टिप्पणी छ नि यसमा कति सत्यता छ ?

यसमा कुनै सत्यता छैन, नेपाली कांग्रेससँग हाम्रो सहमति भएको छ । मोर्चा बनाउने कुरामा कांग्रेसको कुनै विमति छैन, समझदारी कायम छ ।

कांग्रेससँगको सल्लाहमै बनाएको हो समाजवादी मोर्चा ?

सल्लाह त नभनौँ । तर उहाँहरूको पनि जानकारीमा र उहाँहरूले पोजेटिभ नै लिने सन्दर्भमा गठन भएको हो । किनभने गठबन्धन दलभित्र अविश्वास र आशंका खडा हुनु राम्रो कुरा हुँदैन । यो गठबन्धन पाँचै वर्ष जान्छ । कसैले टाउको फोरे पनि, कसैले धारे हात लगाए पनि, कसैले रिस पोख्न खोजेर टाउकै फोर्न खोजे पनि यो गठबन्धन टुट्नेवाला छैन ।

एमालेले त आफूले चाहेका बेला यो सरकार ढाल्न सक्छु भनिरहेको छ त ?

गठबन्धन नै नबन्न पनि सक्थ्यो । ‘के भइस् मङ्गले आफ्नै ढङ्गले’ भनेजस्तै आफ्नै कारणले यो स्थिति सिर्जना हुन पुगेको हो । किनभने प्रचण्डजी र माओवादी वाक्कदिक्क भएर एक महिना बस्दा पनि उकुसमुकुस भएर निस्केकै हो नि । एक महिना पनि मिलाउन र साथमा लिएर जान नसक्ने, मान सम्मान मर्यादा पनि गर्न नसक्नेसँग को मिलेर जान्छ ?

एमालेसँग तर्सेर मोर्चा बनाउनुभयो भनेर भन्यो भने ...?

हामी एमालेसँग किन तर्सनुपर्‍यो ? हामी त आफ्नो ढङ्गले चलिरहेका छौँ । हामी संविधानको रक्षा गर्ने कुरामा प्रस्ट दृष्टिकोण लिएर हिँडिरहेका छौ । संविधान मिच्ने कुराप्रति आलोचनात्मक दृष्टिकोण राखेका छौँ । प्रधानमन्त्रीले जथाभाबी आफूखुसी संविधान मिच्न पाउँदैन,संसद् भङ्ग गर्न पाउँदैन भन्ने मान्यता बोकेका छौँ । एउटा प्रधानमन्त्रीले वा पार्टीको नेताले काम गर्दा पारदर्शी ढङ्गले छलफल गरेर नीति निर्माण गर्नेदेखि लिएर कतिपय कामहरूमा सहमति बनाएर जाँदा राम्रो हुन्छ भन्ने कुरालाई त बुझ्नुपर्ने थियो । तर हिजो गरिएका कामहरू एकपटक हेर्नुस् त ! ती कामको आत्मसमीक्षा गर्नुपर्‍यो । अरूलाई धारे हात लगाउनुभन्दा पनि म बाट के कमजोरी भयो ? किन मसँग सबै चिढिन्छन् ? किन सँगै बस्नेहरूलाई मिलाउन सक्दिनँ ? भनेर सोच्न जरुरी छ । हो, एमालेको चाहिँ ओरालो लागेको शक्ति, प्रतिगामी र यथास्थितिवादी शक्तिसँग सुमधुर सम्बन्ध छ । यो बडो विडम्बना र विचित्रको कुरा हो । एउटा वामपन्थीले अर्को वामपन्थीको कुरा र कामलाई सकारात्मक नहेर्ने भनेपछि कहीं न कहीँ ठुलो विचलन र भड्काऊ आएको रूपमा बुझ्नुपर्दछ ।

तर धेरैले समाजवादी मोर्चा बनेपछि कांग्रेसको एउटा मोर्चा झस्केको छ र सरकार झन् अस्थिरतातर्फ जान्छ भनिरहेका छन् नि ?

छैन, छैन । कांग्रेसको कुन कुन पक्षमा के परेको छ, त्यो उहाँहरूले भन्नुहोला । तर कांग्रेसको मूल नेतृत्व यसबारेमा प्रस्ट छ । बरु किन ढिला भएको भन्ने कुरामा उहाँहरू चिन्तित भएको मैले पाएको छु ।

ए ! समाजवादी मोर्चा गठनमा भएको ढिलाइमा कांग्रेस बढी चिन्तित भयो ?

ढिलो किन गर्दै हुनुहुन्छ, गर्नुस् न मिल्नुपर्‍यो । मिलुन् भन्ने कांग्रेस रहेको मैले पाएँ । यसले गर्दा बरु उनीहरू (कांग्रेस) मा सकारात्मक प्रवृत्ति मैले देखेँ । संविधानको चिन्ता उनीहरूलाई छ । गणतन्त्रको चिन्ता उनीहरूमा रहेको पाइन्छ । संविधान, गणतन्त्र, संघीयता जोगियोस्, मुलुक अगाडि बढोस् भन्ने सोच राखेको हुनाले नै अरू शक्तिहरू पनि छिन्नभिन्न नभइदिउन्, एक ठाउँमा उभिइदिउन् भन्ने चाहना राखेको होला ।

यो सरकार बन्दा नै तपाईंहरूले प्रधानमन्त्रीमा जुन खालको भागबन्डा गर्नुभएको छ, त्यसले त साढे २ वर्षपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री छोड्नुपर्ला । कतै तपाईंहरूले शक्ति एकीकृत गरेर बार्गेनिङ गर्नुहुन्छ र मलाई सत्ता हस्तान्तरण हुँदैन कि भन्ने देउवालाई चिन्ता हुँदैन र ?

कहिले छाड्नुपर्ला, के छोड्नुपर्ला तपाईंले प्राप्त सूचना गलत हो । जे भए पनि पार्टीहरू मिलेर अघि बढ्छन् यो क्रममा प्रचण्डजी अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले आफ्नो कार्यकाललाई राम्रो ढङ्गले सफल प्रधानमन्त्रीका रूपमा पुरा गर्न सक्नुहोस् भन्ने हामीले कामना,चाहना र प्रयास गर्नुपर्छ ।

प्रधानमन्त्रीमा प्रचण्ड पाँचै वर्ष जानुहुन्छ ?

जे सहमति हुन्छ त्यसैको आधारमा चल्ने हो ।

सहमति के भएको छ भन्नेचाहिँ भन्न मिल्दैन ?

सहमतिहरू त भइरहेका छन् । सहमति विश्वासको जगमा हुन्छ । संसारका विभिन्न देशहरुमा देख्न सक्नुहुन्छ । पार्टीहरू चुनाव प्रणाली एक ढङ्गले अवलम्बन गरेका छन् भने र शक्ति सन्तुलनलाई ध्यानमा राखेर चल्छन्, यो कुनै अनौठो कुरो भएन ।

समाजवादी मोर्चा आगामी निर्वाचनसम्म सँगै जान्छ र मिलेरै चुनाव लड्छ ?

आगामी दिनमा सँगै जान्छ, तर चुनावसम्म जान्छ जाँदैन हामीले हिसाब गरेका छैनौँ । हाम्रा प्रत्येक पार्टी स्वायत्त छन् । स्वतन्त्रताका साथ अघि बढ्छन् । उनीहरू एक्लै चुनाव लड्छु भन्दा लड्न पनि पाउँछन् । चुनावको बेलामा नयाँ समीकरण पनि बन्न सक्छ । चुनावका बेलामा यो सहमति कायम रहन पनि सक्छ । आआफ्नो पाराले हिँड्न पनि सक्छन् । तर हाम्रो पार्टीको फोकस के छ भने आफ्नो खुट्टामा उभिने । आफ्नो शक्ति र संगठन निर्माण गर्ने । त्यसले बल्ल राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका प्रभावकारी हुनसक्छ ।

नेकपा एकीकृत समाजवादीकै अस्तित्व सङ्कटमा परेकाले तपाईंकै अग्रसरतामा यो मोर्चा बनेको पनि भन्छन् नि ?

हामीलाई कुनै पनि सङ्कट छैन । चुनावमा हामीले १० सिट प्रत्यक्षमा जितेकै पनि छौ । सातै प्रदेशमा हाम्रो उपस्थिति देखाइदिएका पनि छौ । हाम्रो केही कमजोरीले थ्रेसहोल्ड पुरा गर्न सकेनौँ । अहिले पनि हेर्ने हो भने त्यो सपनाजस्तो लाग्छ । किनभने १० लाख मत ल्याउन कुनै गाह्रो कुरा थिएन, छैन भन्ने अहिले पनि लागिरहेको छ । आत्तिनुपर्ने केही छैन । राजनीतिमा यस्तो भइरहन्छ, भोग्दै आएका पनि छौ, देखेका पनि छौ । पुष्पलालले ५ जनासँग मिलेर पार्टी बनाउनुभयो । पछि पाँच जनामध्ये पुष्पलालमात्र एक्लो सक्रिय भएर जुट्नुभएको पनि थाहा छदैछ । अरू चार जना सक्रिय नभए पनि पुष्पलाल शिथिल हुनुभएन । निराश हुनुभएन । हामीले पनि कोअर्डिनेसन केन्द्र (कोके) बनायौँ । कोके बनाउँदा हामी ८ जना थियौँ, कतिपयले राजनीति छाडेर हिँडे पनि हामी आत्तिएनौँ । २०४७/४८ मा फेरि नेकपा एमाले बनायौँ, प्रमुख नेताहरू कतिपय शिथिल भए, छोडेर पनि हिँडिदिए ।खोइ हामी आत्तिएनाैँ ।

नेकपा एमालेलाई यो मोर्चामा ल्याउन कुरा हुन्छ कि हुँदैन ?

ढोका खुल्ला छ । आउनुस् कुराकानी गरौँ ।

एमालेलाई पनि मोर्चामा ढोका खुलै छ ?

किन बन्द गर्नु ? किन हामीले आग्रह पाल्नु ? व्यक्तिप्रतिको रिसिइवी केही छैन । नीति र विचारमा आउनुपर्‍योच नि ! संविधानमा जे गरेँ, गरेँ, संसद् विघटन गरेर ठिक गरेँ भनेपछि कुरा मिल्यो ? प्रतिगामीको खतरै छैन भनेर विचार मिल्यो ? यथास्थितिवादी प्रवृत्तिका विरुद्ध जुध्नुपर्छ भन्ने मान्यता मिलेन भने कुरा मिल्छ ? देशभक्तिपूर्ण अडानमा उभिनुपर्छ भन्ने सहमति भएन भने मिल्यो ? विदेशीहरूको चाकडी गर्नुपर्छ भनेर कसैले धारणा राख्यो भने कुरा मिल्यो ? या समाजमा परिवर्तनका लागि अघि बढ्नुपर्छ भन्नेमा सहमति भइएन भने कुरा मिल्यो ?

मोर्चामा एमालेलाई ल्याउने कुरामा तपाईंहरूका सर्तहरू के हुन्छन् त ?

अहिले कोही कसैसँग सर्तहरू राख्दैनौँ । हामी अगाडि बढ्छौँ । अगाडि बढ्ने क्रममा ढोका खुला राख्छौँ । कसैले हात बढाउनुहुन्छ हामी पनि बढाउँछौ । बसेर छलफल गर्छौँ । कुराकानी गर्छौँ र साझा विषयमा मिलेर जान सक्छौँ ।

यो मोर्चालाई नेपालमा भएका कम्युनिस्ट पार्टीहरूको बृहत् मोर्चा बनाउने वा एकीकरण गर्ने भन्ने अर्थमा बुझ्न सकिन्छ ?

अहिले हामीले त्यो ढङ्गले सोचेका छैनौँ । कतिपय मोर्चा बनाउँदा कस्तो हुन्छ भने पार्टीहरू मिल्छन् पनि । २०४६,०४७ सालको वाममोर्चा बनाउँदा तपाईंलाई थाहा नै होला । त्यो पार्टी मिलान गरेको होइन, आन्दोलन सफल बनाउन गरेको हो । आन्दोलनको मोर्चामा काम गर्दागर्दै मन मिल्यो, विचार मिल्यो, नेकपा मार्क्सवादीसँग एकता भयो । तुलसीलालजीसँग पनि एकता भयो । हुँदो रहेछ त एकता । तर सबैसँग भएन ।

 अन्तिम समयमा दुई जना व्यक्तिहरू छुटाउनुभयो, एउटा डा. बाबुराम भट्टराई, अर्को बामदेव गौतमसँग किन कुरा मिलेन ?

फेरि पनि हामी कुराकानी गर्न सक्छौँ । बाबुरामजीको मोर्चाप्रतिको धारण सकारात्मक छ । उहाँ इच्छुक पनि हुनुहुन्छ । तर समय अलि कम भयो । हाम्रो बीचमा मन पनि मिल्नुपर्‍यो । वामदेव कमरेडको पनि धारण नकारात्मक छैन । यस सिलसिलामा अघि बढ्दै जाँदा फेरि हामी सँगै जान नसक्ने कुरा भएन ।

अरू साना कम्युनिस्टहरू पनि छन् नि ?

सुरु त गर्नपर्‍यो नि कसैले । कति बाटो पर्खने ?

यसलाई मोर्चा निर्माणको सुरुवातीको प्रक्रिया भन्ने ?

सुरुवाती प्रक्रियाका रूपमा लिन सकिन्छ । यसपछि अरूलाई पनि ल्याउन सकिन्छ, मिलाउँदै जान सकिन्छ ।

समग्रमा पार्टीहरूको अस्तित्व रक्षाका लागि भए पनि मोर्चाका पार्टीहरू एकीकरणमा जान सक्छन् भन्न सकिँदैन ?

के २०४६ सालको एकीकरण अस्तित्व रक्षाका लागि थियो ?

त्यो त व्यवस्था परिवर्तनका लागि थियो नि ?

अहिले पनि देश बनाउन हो नि । देशलाई रूपान्तरण गर्न हो । भ्रष्टाचारका विरुद्ध अभियान चलाउन हो । जनतामाथि भएका अनेक शोषण उत्पीडनका विरुद्धमा माहौल सिर्जना र प्रशासन संयन्त्रमा देखा परेका अनेक विकृतिका विरुद्ध जुध्न हो । दलाल पुँजीको हालीमुहाली चलिरहेको छ, बिचौलियाहरूको हालीमुहाली चलिरहेको छ । दलाल नोकरशाहीतन्त्र हाबी भइरहेको छ यसका विरुद्ध जानका लागि हो । अनि किन आत्तिनुपर्‍यो ? पर्दैन ।   

समाजवादी मोर्चा बनाउने एउटा कुरा भयो तर माधव नेपाल प्रचण्डको पुच्छर बन्नुभयो भन्ने छ ?

माधव कुमार नेपालले नै प्रचण्डजीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको हो । यो त सबैलाई थाहै होला । २०४० सालमा काठमाडौँका सडक आन्दोलन गर्दा म र प्रचण्डजीसँगै थियौँ । पछि प्रचण्डजी जनयुद्धतिर लाग्नुभयो । आफ्नो विचार मिलेसम्म न नजिक हुने हो । त्यसकारण माधव नेपालले कसैको पुच्छर हुनुपर्ने छैन माधव नेपालको इतिहास त्यस्तो कसैको पुच्छर बन्ने छँदै छैन । बरु अलि स्वाभिमानी खालको छ अलि चुनौती दिने खालको छ अलि नदब्ने खालको छ तर लचिलो पनि छ । सबैलाई मिलाउन समेट्न पनि चाहन्छ । तर निहुँ खोज्यो भने वारपारको लडाइ पनि गर्न सक्दछ ।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकीकरण कहिले हुन्छ ?

अहिले हामी त्यसमा प्रवेश गरेका छैनौँ । किनभने माओवादी सिद्धान्त मानेसम्म एकताको सम्भावना छैन । माओवादलाई छाड्नुपर्छ, माओवादी पार्टीको नाम फेर्नुपर्छ अनि मात्र एकताबारे छलफल गर्न सकिन्छ ।

नेकपा ब्युँताउने कुरा किन गर्नुभएको ?

पुरानो नेकपा ब्युँताउन म तयार छु । एमाले, माओवादी आउनोस् छलफल गरौँ ।

नेकपा ब्युँताउन सम्भव छ अब ?

मैले एमाले र प्रचण्डजीलाई प्रस्तावै राखेको हुँ । त्यसमा प्रचण्डजी तयार हुनुभयो । एमालेकोमा प्रस्ताव पठाएँ, अस्वीकार भयो । त्यसैले सम्भावना भएन ।

नेकपा एमालेमा एकीकृत समाजवादी विलीन हुन्छ पनि भनिँदै छ नि ?

कहीँ विलीन हुने कुरा आउँछ ? माधव नेपाल कहीँ विलीन हुन्छ ?कसैले पत्याउन सक्छ ?

ठिक छ विलय भएन रे एमालेसँग एकताको सम्भावना नि ?

नेकपा ब्युँताउन त भइगयो नि एकीकरण । ब्युँताऊ आउनुस् बसौँ छलफल गरौँ

तपाईंबाहेक चाहिँ एकीकरणको सम्भावना छ भन्ने एमाले अध्यक्षको भनाइ छ नि ।

ठिक छ त मिल्छ भने मिलुन् म त खुसी नै हुन्छु । मिलाउन सक्ने खुबी छ भने मिलाएर देखाए भयो नि त । त्यो त खुट्टी देखेरै पत्याइयो । किनभने प्रचण्डजी त गएकै हो नि बालकोट । किन टिक्न सक्नुभएन । प्रचण्डजीको आफ्नो कारणले कि एमालेका नेताहरूको व्यवहारको कारणले ।

एमालेले ७० वर्षको उमेर हदबन्दी हटाएको छ कतै तपाईंहरूलाई भित्र्याउन हो कि ?

म ७० वर्षको उमेर हदबन्दी हटाउनु हुँदैन भन्ने मान्यतामा छु ।

ए हटाउनु हुँदैन, तर एमालेले त हटाइदियो ?

अब आफ्नो आफ्नो पार्टीको कुरा हो । आफ्नो आफ्नो ढंगले चल्ने कुरा हो । अर्काको पार्टीको बारे म धेरै टिप्पणी गर्न चाहन्न ।

तपाईंकै पार्टीका नेताहरूलाई स्थान दिन हटाएको त एमालेले नै भनिरहेको छ त ?

ठिक छ ७० वर्ष पूरा भएकाहरू जाँदा त्यहाँ मान सम्मान मर्यादा इज्जत बढ्छ भने हामीलाई केको आपत्ति । कुनै पनि व्यक्तिलाई लाग्दछ की यो गर्दा देश जनताका लागि होइन आफ्नो उन्नति हुन्छ भन्ने लाग्छ भने गरोस् म त रोक्दिन । देश र जनतालाई ध्यानमा राख्नुहुन्छ भने आफू त्याग गर्न तयार हुनुस् ।

तपाईंको पार्टी, स्वयं तपाईंकै राजनीतिक भविष्य सङ्कटमा देखिन्छ, अलिकति पनि चिन्ता लाग्दैन ?

लाग्दैन । मैले त यस्ता सब चीज बेहोरेर आएको व्यक्ति हुँ । र चुनौतीका साथ भन्छु कि सबै चुनौतीका सामना सफलताका साथ गरेर आएको मान्छे म । कोर्स बदल्न सक्ने मान्छे म त । कोर्सै चेन्ज गरिदिन सक्छु । एउटा सरकार थियो अर्कै सरकार फेरि अर्को सरकार बन्यो त्यसलाई पनि परिवर्तन गरियो ।

यदि यही चिजको आवश्यकता थियो भने  हाम्रो पनि महत्वलाई बुझ्नुपर्थ्यो नि । हाम्रो खुबीलाई क्षमतालाई ।

एमाले विभाजन गरेकोमा अहिले पश्चात्ताप त लागेको होला हैन ?

विभाजन कसले गर्‍यो ?

तपाईंले ?

पुष ६ गते कसले निर्णय गर्‍यो ? पार्टीबाट हामी केहीलाई हटाएर १५ सय एक जनाको कमिटी कसले बनायो ? विना बैठक घरमै बसीबसी विधान संशोधन गर्ने काम कसले गर्‍यो ? यी सब काम हामीले गरेको हो ? हामीलाई त सिध्याउन खोजेको हो नसकेको मात्रै हो । १४ जनालाई कारबाही गर्छु भनेर लागेको लागेकै लागेको लागेकै मरिहत्ते गर्दा पनि पार नलागेकै होइन ?

केही दिनअघि तपाईं आफैँ सार्वजनिक रूपमा सरकारको विरोध गर्दै हुनुहुन्थ्यो केमा चित्त बुझेन ?

अलिअलि आइहाल्छ नि मनका भडासहरु निस्कन्छन् ।

भनेपछि प्रचण्डलाई तर्साउनु भएको ?

तर्साउनु परेन । किनभने सरकारको काम अलि ठिक छैन, मुख्य कुरा त बजेट ठिक छैन । बजेट निर्माणका विषयमा हाम्रो गम्भीर असहमति छ । तर एउटा एक्स्क्यूज के छ भने समय छोटो भयो राम्रो छलफल गर्न पाइएन, अर्थतन्त्रको अवस्था पनि अलि ठिक छैन, यो सबै भएकाले हामी शङ्काको लाभ पनि दिन्छौँ ।

बजेटकै कुरा गर्दा तपाई कै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेटको पक्षमा अध्यक्ष अर्थात् माधव कुमार नेपाल एक्लैले भोट हाले हाल्नुहोस् समाजवादीका अरू सांसदले बजेट पारित गर्न भोट हाल्दैनन् भन्नुभयो, अब बजेट फेल हुन्छ कि राजेन्द्र पाण्डेलाई कारबाही हुन्छ त ?

होइन, पार्टीको निर्णय त सबैले मान्नुहुन्छ नि त । पार्टीको निर्णय नमानेर हुन्छ ? सबैले मान्नुहुन्छ । त्यस्तै हो उहाँको मनमा मेरो मनमा उस्तैउस्तै भावना त हो नि हाम्रो, पीडा त एउटै त हो नि ।

भनेपछि आफ्नै मुखबाट किन बजेटको विरोध गर्नु भनेर उपाध्यक्षलाई विरोधमा बोल्न लगाउनु भएको ?

बोल्नुभयो मन मिलिगयो नि ।

बजेट पारित हुन्छ कि हुँदैन त ?

बजेट त पारित नगरी त हुँदैहुँदैन नि, पारित गर्नु परिहाल्छ नि । पारित नगर्ने त्यस्तो मूर्खतापूर्ण काम कसैले गर्छ ?

बिना संशोधन ?

संशोधन त हुँदैन हेर्नुस् तर मिलाउने कुरामा मन्त्रीले ध्यान दिनुपर्छ ।

तपाईंको पार्टीबाट सरकारमा गएका मन्त्रीहरू परिवर्तनको सम्भावना कत्ति छ ?

मन्त्रीहरूको कामको बारेमा सबै कुरा सुन्न तयार छौँ । कमी रहेछन् भने पनि भन्छौँ तर अहिले मन्त्रीहरू परिवर्तन गर्ने कुरा दिमागमा, सोचमा कहीँ पनि छैन, मन्त्रीहरू परिवर्तन हुँदैनन् ।

यो सरकार कति समय जान्छ ?

गठबन्धनको वर्तमान सरकार ढुक्कले पाँच वर्ष चल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया