मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अदालत

प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर

मङ्गलबार, ०५ साउन २०८३, १७ : ४७
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • आयोगले अधिकारीले पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको आरोप लगाएको छ।
  • घुस लिने अधिकारी र घुस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल दुवैलाई अख्तियारले प्रतिवादी बनाएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरेको छ । 

यसअघि नै केही मुद्दा दायर भइसकेका उनीविरुद्ध अख्तियारले मङ्गलबार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले अधिकारीले पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको जिकिर गरेको छ  ।

अख्तियारको आरोपपत्र अनुसार, महानिर्देशक पदमा रहँदा अधिकारीले प्राधिकरणबाट सञ्चालित विभिन्न ठेक्कापट्टाको स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिए बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए। उक्त घुसको रकम लुकाउन अधिकारीले गैरकानुनी स्रोतलाई वैध देखाउने नियतले श्रीमतीको नाममा ललितपुर महानगरपालिका-५ (हाल वडा नं १५) मा १३ आना जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

अधिकारीले उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्रै थैली रकम कायम गरी वास्तविक कारोबारको रकम लुकाएको अख्तियारको दाबी छ। बाँकी रहेको १ करोड ७१ लाख रुपैयाँ भने ठेकेदार कम्पनी र त्यसका सञ्चालकबाट घुसबापत प्राप्त गरी श्रीमतीको बैंक खातामार्फत कारोबार देखाएर सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको आयोगको जिकिर छ । 

अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत दुई वटा छुट्टाछुट्टै कसुरमा सजायको मागदाबी गरेको छ। 

भ्रष्टाचारतर्फ १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरिएको छ। साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुरको १३ आना जग्गा र त्यसको बढे-बढाएको सम्पत्ति समेत जफत गर्न मागदाबी गरिएको छ।

यसैगरी, घुस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उनलाई घुस दिएको र सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको अभियोगमा अधिकारीलाई सरह नै बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ। 

आयोगले अधिकारी राष्ट्रसेवक कर्मचारी भएको र उनले गम्भीर प्रकृतिको कसुर गरेको भन्दै थप सजायको समेत माग गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप